इटहरीः प्रदेश १ को राजधानी बनाउन बृहत्तर विराटनगरको नाममा विराटनगर, इटहरी हुँदै धरान करिडोरसम्म राजधानी बनाउने चर्चा शुरु भएको छ । खासगरी, प्रदेशमा दुइ तिहाइ भएको नेकपा वृत्तमा यो चर्चा चुलिएको छ ।

विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मन्त्रालयहरू, इटहरीमा प्रदेश सभा र धरानमा प्रदेश प्रमुख राख्नेगरी एक खाले होमवर्क भएको सार्वजनिक भएको छ ।

यसरी एउटा प्रदेशको राजधानी भिन्नभिन्न शहरमा राख्न मिल्छ त ? कतिपय भन्छन्, ‘मिल्दैन ।’ कतिपय भन्छन् ‘मिल्छ ।’ हाम्रै छिमेकी राष्ट्र भारतको अनुभवले भने एउटा प्रदेशको राजधानी भिन्नभिन्न शहरमा राख्न मिल्ने नजिर देखिन्छ ।
कुनै पनि राज्यका ३ किसिमका राजधानी हुन्छन् । पहिलो, व्यवस्थापिकाको राजधानी, दोस्रो कार्यपालिकाको राजधानी र तेस्रो न्यायपालिकाको राजधानी ।

प्रदेशसभा भएको स्थानलाई व्यवस्थापिकाको राजधानी भनिन्छ । मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रालय भएको स्थानलाई कार्यपालिकाको राजधानी भनिन्छ । अनि, उच्च अदालत भएको स्थानलाई न्यायपालिकाको राजधानी भनिन्छ ।

यी सबै राजधानी प्याकेजहरू एकै शहर वा भिन्नभिन्न शहरमा राखेर पनि राजधानीको अभ्यास गर्न सकिने भारतीय उदाहरण देखिन्छ ।

यी हुन् केही उदाहरणहरूः
१.गोवाः भारतीय राज्य गोवाको व्यवस्थापिकाको राजधानी पोर्भोरिम शहरमा रहेको छ । कार्यपालिकाको राजधानी कान्जी भन्ने शहरमा रहेको छ भने न्यायपालिकाको राजधानी मुम्बइमा रहेको छ ।
२. मेघालयः भारतीय राज्य मेघालयको व्यवस्थापिका र कार्यपालिकाको राजधानी सिलोङमा रहेको छ । तर, न्यायपालिकाको राजधानी भने गुहाटीमा रहेको छ ।
३. गुजरातः भारतीय राज्य गुजरातको व्यवस्थापिका र कार्यपालिकाको राजधानी गान्धीनगरमा रहेको छ । तर, न्यायपालिकाको राजधानी भने अहमेदावादमा रहेको छ ।
४. उत्तराखण्डः भारतीय राज्य उत्तराखण्डको व्यवस्थापिका र कार्यपालिकाको राजधानी देहरादुनमा रहेको छ भने न्यायापाकिकाको राजधानी नैनीतालमा छ ।
५. मध्यप्रदेशः मध्यप्रदेशको व्यवस्थापिका र कार्यपालिकाको राजधानी भोपाल शहरमा रहेको छ । न्यायपालिकाको राजधानी भने जाबलपुरमा रहेको छ ।
६. ओरिसाः ओरिसा राज्यको व्यवस्थापिका र कार्यपालिकाको राजधानी भुवनेश्वर हो । तर, न्यायपालिकाको राजधानी भने कुटक भन्ने शहरमा रहेको छ ।
७. छत्तिसगढः छत्तिसगढको व्यस्थापिका र कार्यपालिकाको राजधानी रायपुरमा छ । तर, न्यायपालिकाको राजधानी भने विलासपुर शहरमा छ ।

प्रदेश मात्रै होइन देशकै पनि भिन्नभिन्न राजधानी छन्
भारतीय उदाहरण हेर्दा प्रदेशका भिन्नभिन्न शहरमा राजधानी भएको देखिन्छ । तर, विश्व उदाहरण हेर्ने हो भने प्रदेश मात्रै होइन देशका राजधानी पनि भिन्नभिन्न शहरमा भएको देखिन्छ । दक्षिण एसियाली मुलुक श्रीलंकाको राजधानी पनि २ वटा छन् ।


यी हुन् एक भन्दा धेरै राजधानी हुने विश्वका १५ देशका उदाहरणः
१. बेनिन (पश्चिम अफ्रिका): कोटोनोउ र पोर्टोनोभो
२. बोलिभिया (ल्याटिन अमेरिका): लापाज र सुक्रि
३. चिली (ल्याटिन अमेरिका):  सान्टिआगो र भालपराइसो
४. जर्जिया (युरोप): कुटैसी र टिबिलिसि
५. होन्डुरस (उत्तर अमेरिका): कोमायागुइला र टेगुसिगल्पा
६. आइभरी कोस्ट (अफ्रिका): अबिदजान र यामोउसुक्रो
७. मलेसिया (एशिया): क्वालालम्पुर र पुत्रजया
८. मन्टेनेग्रो (युरोप): सेटिन्जे र पोदगोरिका
९. नेदरल्याण्ड (युरोप): हेग र आमसटरडम
१०. दक्षिण अफ्रिका (अफ्रिका): ब्लोएनफोन्टेन, केप टाउन र प्रिटोरिया
११. दक्षिण कोरिया (एशिया): सेजोङ सिटी र सियोल
१२. श्रीलंका (दक्षिण एशिया): कोलम्बो र कोट्टे
१३. स्वाजिल्याण्ड (अफ्रिका): लोबाम्बा र एम्बाबाने
१४. तान्जानिया (अफ्रिका): दारेसलाम र डोडोमा
१५. पश्चिम सहारा (अफ्रिका): लायौने र टिफार्टी