इटहरीःकेरुङ–काठमांडौ रेलवे आयोजनाले चीनतर्फ भौगर्भिक सर्वेक्षण सम्पन्न गरेको छ । चीनतर्फको प्रारम्भिक भौगर्भिक सर्वेक्षण सम्पन्न भएको सरकारी संयन्त्रबाट जानकारी आएपनि रेलवे निर्माणको थप सम्भाव्यता अध्ययन आवश्यक रहेको चिनियाँ पक्षको जिकिर छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी जिन पीङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तरदेशीय रेलमार्ग विस्तारको समझदारीपत्रमा हस्ताक्षर भई नक्साङ्कन, सर्वेक्षण भौगर्भिक अध्ययन तथा विस्तृत सम्भाव्यता अध्ययन चीनले र वातावरणीय प्रभाव मूल्याङ्कन तथा चिनियाँ टोलीको सुरक्षा लगायतका काम नेपालले गर्नेगरी जिम्मेवारी बाँडफाँडसमेत भएको थियो ।
चिनियाँ पक्षले दूई खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरेको रेलमार्ग निर्माणमा लगानीको मोडालिटि भने टुङ्गो लागेको छैन । ७३ किलोमिटरको रेलमार्ग नौ वर्षमा निर्माण सम्पन्न गर्ने प्रारम्भिक अनुमान रहेको छ । रेलमार्ग दुई टेक्टोनिक प्लेटको बीचमा पर्ने भन्दै प्राकृतिक प्रकोपको जोखिमजस्ता विभिन्न विषयमा थप अध्ययन गर्नुपर्नेमा चिनियाँ पक्षले जोड दिएको छ ।