डम्पिङ साइट नहुँदा सेउती किनारको जङ्गलमा फोहोर फालिँदै, दैनिक ३० देखि ४० टन फोहोर व्यवस्थापन गर्न चुनौती
धरानः व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगरपालिकाले सेउती खोला किनारको जङ्गलमा फोहोर फाल्दै आएको छ। त्यसरी थुपारिएको फोहोरमा फेरि आगलागी भएपछि नगरको फोहोर व्यवस्थापनसँगै वातावरणीय प्रदूषणको समस्या थप जटिल बनेको छ।
फोहोरबाट बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले करिब ७ करोड रुपैयाँ खर्चेर स्थापना गरिएको प्रशोधन केन्द्रसमेत बन्द छ। एकातिर जङ्गलमा थुपारिएको फोहोरमा बारम्बार आगलागी भइरहेको छ भने अर्कोतिर फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने योजनासहित निर्माण गरिएको प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेको छैन।
सेउती खोला किनारको जङ्गलमा थुपारिएको फोहोरमा मङ्गलबार रातिदेखि आगलागी भएको हो। सरसफाइ कर्मचारीले बुधबार बिहान मात्रै आगो लागेको थाहा पाएका थिए। उनीहरूका अनुसार मङ्गलबार साँझसम्म फोहोर फाल्न जाँदा उक्त स्थानमा आगो लागेको थिएन। त्यसैले रातिको समयमा अपरिचित व्यक्तिले आगो लगाएको हुन सक्ने उनीहरूको आशङ्का छ। यद्यपि आगलागीको वास्तविक कारण खुलिसकेको छैन।
आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले दुईवटा डोजर र दमकल परिचालन गरेको छ। घटनास्थल पुगेका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले आगलागीमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गरिने बताएका छन्।
फोहोरको थुप्रोभित्र रहेका पुनः प्रयोग गर्न मिल्ने सामग्री निकाल्न आउने व्यक्तिले आगो लगाउने गरेको आशङ्का विगतदेखि गरिँदै आए पनि पछिल्लो घटनामा कसैको संलग्नता पुष्टि भएको छैन।
७ करोड खर्चेर बनाइएको प्रशोधन केन्द्र बन्द
धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्र सञ्चालनमा नआएपछि नगर क्षेत्रबाट सङ्कलित फोहोर पुनः सेउती खोला किनारको जङ्गलमा फाल्नुपर्ने अवस्था आएको छ। फोहोरबाट ऊर्जा र मल उत्पादन गर्ने योजनासहित स्थापना गरिएको केन्द्र बन्द हुँदा सरकारी लगानीको उपयोगितामाथि समेत प्रश्न उठेको छ।
कार्यवाहक प्रमुख बेघाका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विश्व बैङ्कको अनुदानमा करिब ७ करोड रुपैयाँ लागतमा प्रशोधन केन्द्र स्थापना गरिएको थियो। केन्द्रमा नगरबाट सङ्कलित फोहोरलाई जैविक, पुनः प्रयोग गर्न मिल्ने र अन्य फोहोर गरी तीन वर्गमा छुट्याउने व्यवस्था गरिएको थियो।
योजनाअनुसार जैविक फोहोरबाट बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने तथा पुनः प्रयोग गर्न मिल्ने सामग्री बिक्री गर्ने लक्ष्य राखिएको थियो। यसबाट फोहोरको मात्रा घटाउनुका साथै ऊर्जा उत्पादन र आम्दानीसमेत गर्न सकिने अपेक्षा गरिएको थियो।
तर, परियोजना सञ्चालन गर्ने कम्पनी बेस्ट भेञ्चर सम्पर्कमा नआएपछि केन्द्र पुनः सञ्चालनमा ल्याउन समस्या भएको कार्यवाहक प्रमुख बेघाले बताए। आफू कार्यवाहक प्रमुख बनेपछि कम्पनीलाई पत्राचार गरिए पनि सञ्चालक सम्पर्कमा नआएको उनको भनाइ छ।
“सरकारको ठूलो रकम खर्च भएको परियोजनामा सञ्चालक सम्पर्कमा आएका छैनन्। उनीहरू सम्पर्कमा नआई भाग्न खोजिरहेको देखिन्छ। सञ्चालकलाई सम्पर्कमा ल्याउने वातावरण तयार गर्छौं। सम्पर्कमा नआए कारबाहीका लागि सिफारिस गर्छौं,” बेघाले भने।
उपमहानगरपालिका र कम्पनीबीच परियोजना सञ्चालनका लागि २० वर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार व्यावसायिक रूपमा ग्यास उत्पादन सुरु भएपछि कम्पनीले आम्दानीको एक प्रतिशत रकम उपमहानगरपालिकालाई बुझाउनुपर्ने व्यवस्था छ। सम्झौताको अवधि पूरा भएपछि जग्गासहित परियोजनाको सम्पत्ति उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रावधानसमेत रहेको छ।
सम्झौताअनुसार सञ्चालन हुनुपर्ने परियोजना बन्द हुँदा नगरको फोहोर व्यवस्थापनमा अपेक्षित योगदान पुग्न सकेको छैन। कम्पनीसँगको सम्झौता, सञ्चालकको अनुपस्थिति र परियोजना पुनः सञ्चालनको प्रक्रियाले कहिले गति लिन्छ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।
फोहोरमा आगलागी हुँदा धुवाँले राजमार्गसम्म असर
सेउती खोला किनारमा थुपारिएको फोहोर बेलाबेला माटोले पुर्ने गरिए पनि आगलागीको समस्या दोहोरिने गरेको छ। फोहोरमा लागेको आगो जङ्गलमा फैलिने जोखिमसमेत छ।
फोहोरमा आगलागी हुँदा निस्कने धुवाँ कोसी राजमार्गसम्म फैलिने गरेको छ। यसबाट सडकमा यात्रा गर्ने यात्रु तथा आसपासका सर्वसाधारण प्रभावित हुने गरेका छन्। आगो निभाइसकेपछि पनि फोहोरको भित्री भागमा रहेको आगो लामो समयसम्म बलिरहने र धुवाँ निस्किरहने समस्या छ।
स्थानीय बासिन्दाले फोहोर जलाउँदा वातावरण प्रदूषित भएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्। खुला ठाउँमा फोहोर थुपार्ने र त्यसमा आगलागी हुने क्रम दोहोरिँदा वायु प्रदूषण तथा आसपासको वातावरणमा पर्ने असरबारे चिन्ता बढेको छ।
समस्या आगलागीमा मात्र सीमित छैन। वर्षायाममा सेउती खोलामा आउने बाढीले फोहोर बगाएर रामधुनी नगरपालिका–६ र ७ का खेतबारीसम्म पुर्याउने गरेको बताइएको छ। प्लास्टिक तथा प्रयोग गरिएका सिरिन्जसमेत खेतबारीमा पुग्दा किसानले समस्या भोग्नुपरेको छ।
यसरी फोहोरको उचित व्यवस्थापन नहुँदा एकातिर धरानमा प्रदूषणको जोखिम बढिरहेको छ भने अर्कोतिर खोलाले बगाएर लैजाने फोहोरले तल्लो तटीय क्षेत्रका बासिन्दा र कृषि क्षेत्रमा समेत असर पारिरहेको छ।
दैनिक ३० देखि ४० टन फोहोर, प्लास्टिकको मात्रा बढ्दो
२०८१ सालमा गरिएको सर्वेक्षणअनुसार धरानमा दैनिक ३० देखि ४० टन फोहोर सङ्कलन हुने गरेको छ। उपमहानगरपालिकाले वडा नम्बर २० र ४ का माथिल्लो पहाडी क्षेत्र तथा वडा नम्बर १७ मा सर्दु खोलाको पश्चिमपट्टिको बस्तीबाहेक अन्य क्षेत्रबाट फोहोर सङ्कलन गर्दै आएको छ।
धरान उपमहानगरपालिकाका वरिष्ठ वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार व्यवस्थित डम्पिङ साइट नहुँदा उपमहानगरपालिका बाध्य भएर जङ्गल क्षेत्रमा फोहोर फाल्नुपर्ने अवस्थामा छ।
उनका अनुसार विगतमा नगर क्षेत्रबाट सङ्कलित फोहोरमा प्लास्टिकको मात्रा करिब १० प्रतिशत हुने गरेकामा पछिल्लो समय बढेर २५ प्रतिशत पुगेको छ। प्लास्टिक पुनः प्रयोग गर्न नसक्दा यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको उनले बताए।
फोहोरमा मिसिने सामग्रीको प्रकृति परिवर्तन हुँदै जाँदा व्यवस्थापनको समस्या पनि बढिरहेको छ। पहिले कवाडीले खरिद गर्ने सिसाका बोतलसमेत पछिल्लो समय बिक्री हुन छाडेपछि फोहोरमै फालिने गरेका छन्। यसले फोहोर सङ्कलन तथा व्यवस्थापनमा संलग्न कर्मचारीलाई सिसाले काटेर चोटपटक लाग्ने जोखिम बढाएको घिमिरेको भनाइ छ।
फोहोरको वर्गीकरण र पुनः प्रयोग गर्न मिल्ने सामग्रीको व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा सामान्य रूपमा पुनः प्रयोग गर्न सकिने वस्तुसमेत अन्ततः फोहोरको थुप्रोमा पुग्ने गरेका छन्। यसले फोहोरको कुल मात्रा घटाउने प्रयासलाई समेत कठिन बनाएको छ।
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन पनि चुनौतीपूर्ण
धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत रहेकाले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन अर्को चुनौती बनेको छ। कतिपयले प्रयोग गरिएका सिरिन्ज सामान्य फोहोरमा मिसाएर फाल्ने गरेको वरिष्ठ वातावरण अधिकृत घिमिरेले बताए।
स्वास्थ्यजन्य फोहोरलाई सामान्य फोहोरसँग मिसाउँदा सरसफाइ कर्मचारी तथा फोहोर सङ्कलन र व्यवस्थापनमा संलग्न व्यक्तिको स्वास्थ्य सुरक्षामा जोखिम बढ्छ। प्रयोग गरिएका सिरिन्ज र धारिला सामग्रीले चोट पुर्याउन सक्ने भएकाले तिनको छुट्टै सङ्कलन र सुरक्षित व्यवस्थापन आवश्यक हुन्छ।
घिमिरेका अनुसार नगर क्षेत्रमा फोहोर वर्गीकरण गर्न पर्याप्त खाली जग्गासमेत छैन। सड्ने र नसड्ने फोहोर छुट्याउन उपयुक्त स्थान उपलब्ध भए व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सकिने उनको भनाइ छ।
फोहोरलाई घरबाटै वर्गीकरण गर्ने व्यवस्था, पुनः प्रयोग गर्न मिल्ने सामग्रीको सङ्कलन र जैविक फोहोरको प्रशोधन प्रभावकारी बनाउन नसक्दा अन्तिम व्यवस्थापनस्थलमा पुग्ने फोहोरको मात्रा बढिरहेको छ। त्यसैले व्यवस्थित डम्पिङ साइटसँगै फोहोरको स्रोतदेखि नै वर्गीकरण गर्ने पूर्वाधार र प्रणाली आवश्यक देखिएको छ।
‘वेस्ट टु इनर्जी’ सञ्चालन गर्ने तयारी, ल्याण्डफिल साइट अन्योलमा
कार्यवाहक प्रमुख बेघाले बन्द रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको बताएका छन्। स्पष्ट नीति र कार्यविधि निर्माण गरी कम्पनीसँग समन्वय गरेर परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
परियोजना सञ्चालनमा आए नगर क्षेत्रको करिब ८० प्रतिशत फोहोर व्यवस्थापन गर्न सकिने उपमहानगरपालिकाको अपेक्षा छ। बाँकी फोहोर व्यवस्थापनका लागि छुट्टै ल्याण्डफिल साइट निर्माण गर्ने योजना रहेको बेघाले बताए।
तर, प्रस्तावित ल्याण्डफिल साइट निर्माणको प्रक्रिया पनि अघि बढ्न सकेको छैन। त्यसको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० अध्ययन पूरा नभएकाले कार्यान्वयन प्रक्रिया रोकिएको छ। ईआईए प्रतिवेदनले उपयुक्त ठहर गरेपछि मात्रै योजना अघि बढाइने बेघाले बताए।
यसले धरानको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान अझै प्रक्रियागत चरणमै रहेको देखाउँछ। प्रशोधन केन्द्र पुनः सञ्चालनमा ल्याउने योजना र ल्याण्डफिल साइट निर्माणको तयारी भए पनि दुवै योजनाको कार्यान्वयन कहिले सुरु हुन्छ भन्ने निश्चित भइसकेको छैन।
लगानी, वातावरण र जनस्वास्थ्यसँग जोडिएको समस्या
धरानको फोहोर व्यवस्थापनमा देखिएको समस्या अब नगरको सरसफाइमा मात्र सीमित छैन। जङ्गलमा फोहोर थुपार्दा आगलागी र धुवाँको जोखिम बढेको छ। खोलाले फोहोर बगाएर खेतबारीसम्म पुर्याउँदा तल्लो तटीय क्षेत्र प्रभावित भइरहेको छ। स्वास्थ्यजन्य फोहोर सामान्य फोहोरमा मिसिँदा सरसफाइ कर्मचारीको सुरक्षामाथि पनि चुनौती थपिएको छ।
अर्कोतिर, फोहोरबाट ऊर्जा र मल उत्पादन गर्ने उद्देश्यले करिब ७ करोड रुपैयाँ खर्चेर स्थापना गरिएको प्रशोधन केन्द्र बन्द छ। व्यवस्थित ल्याण्डफिल साइट निर्माणका लागि डीपीआर तयार भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन पूरा नहुँदा त्यसको कार्यान्वयन अघि बढ्न सकेको छैन।
दैनिक ३० देखि ४० टन फोहोर सङ्कलन हुने धरानमा फोहोरको मात्रा, प्लास्टिकको बढ्दो प्रयोग र स्वास्थ्यजन्य फोहोरको जोखिमलाई ध्यानमा राख्दै दीर्घकालीन व्यवस्थापन प्रणाली आवश्यक देखिएको छ। त्यसका लागि बन्द प्रशोधन केन्द्र सञ्चालन, फोहोरको स्रोतमा वर्गीकरण, पुनः प्रयोग गर्न मिल्ने सामग्रीको व्यवस्थापन र वातावरणीय मापदण्ड पूरा गरेको ल्याण्डफिल साइट निर्माणलाई सँगसँगै अघि बढाउनुपर्ने चुनौती छ।
अहिलेको अवस्थामा सेउती खोला किनारमा फोहोर थुपार्ने र आगलागी भएपछि नियन्त्रण गर्ने कामले मात्र समस्याको स्थायी समाधान दिने देखिँदैन। करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको प्रशोधन केन्द्र कहिले सञ्चालनमा आउँछ र प्रस्तावित ल्याण्डफिल साइट निर्माणको प्रक्रिया कहिले पूरा हुन्छ भन्ने प्रश्नको जवाफसँगै धरानको फोहोर व्यवस्थापनको भविष्य जोडिएको छ।




















