इटहरीः मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बुधबार बिहान ५ः५० बजे झापाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्ध पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरका अनुसार कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरी सोही दिन स्वाब परिक्षण गराइएकोमा सोमबार उनको नतिजा पोजेटिभ देखिएको थियो । अस्पतालका आइसोलेसन प्रमुख डा.पुरु सुवेदीका अनुसार ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेका कारण आईसीयूमा भर्ना गरिएका उनको निमोनियाका कारण ज्यान गएको हो । यसका साथै उनी लामो समयदेखि मधुमेहबाट पीडित रहेका थिए ।