इटहरीः कोरोना महामारीबाट २५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित भएमा नेपालमा पुनः लकडाउन गरिने भएको छ । २५ हजारभन्दा बढी संक्रमितको व्यवस्थापन गर्न देशको स्वास्थ्य सेवा प्रणाली असमर्थ रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको हिजो बुधबार बसेको बठकले सो अवस्थामा लकडाउन गर्न सरकारलाई सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने प्रकृतिका व्यवसाय बन्द गरी मापदण्ड पालनाको अनुगमनको व्यवस्थाका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई मन्त्रालयले अनुरोधसमेत गरेको छ । सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशव्यापी लकडाउन गरी केही खुकुलो पारेपछि पुनः संक्रमणको दर बढ्न गई स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । ।
गत असोज १ गतेदेखि संक्रमणका बावजुद सरकारले सडक तथा हवाइ यातायातका साथै होटलसमेत सञ्चालन गर्न छुट दिएको छ । यद्यपी, विद्यालय,मन्दिरजस्ता जमघटजन्य क्षेत्र र भोजभतेरजस्ता गतिविधि भने सरकारले बन्द गरेको छ । बुधबारसम्म देशभर सक्रिय संक्रमितको कूल संख्या १७ हजार चार सय १४ रहेको मन्त्रालयले जनाएको छ ।