इटहरीः लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले मोरङको विराटनगरस्थित कोशी अस्पतालमा रहेका बिरामीका कुरुवालाई साँझको खाना वितरण गर्न सुरु गरेको छ ।
क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहका अनुसार क्लबले दसैँको घटस्थापनासम्म दैनिक एक सय जना बिरामी तथा कुरुवालाई खाना वितरण गर्ने कार्यलाई निरन्तरता दिनेछ । निःशुल्क वितरणबाट विपन्न र अप्ठ्यारोमा परेका बिरामी तथा तिनका कुरुवा लाभान्वित हुने उनको भनाइ छ । क्लबका द्वितीय उपाध्यक्ष शम्भु साहले क्लबले विराटनगरकै रोयल बिरियानी हाउसमा तयार गरिएको गुणस्तरीय र स्वस्थकर खाना वितरण गरिरहेको बताए ।