प्रदेश नं १ को राजधानीको टुङ्गो नलगाएको भन्दै प्रदेश सरकारको आलोचना शुरु हुन थालेको छ । राजधानी सार्वजनिक चासोको विषय भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएका छन् ।
राजधानीको विषयमा नेकपाको धारणा के हुन सक्छ ? प्रदेश सरकारको कार्यशैलीको समीक्षा कसरी गर्न सकिन्छ ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता प्रक्रिया लगायतका विषय कहाँ पुगे भन्ने विषयमा नेकपाका प्रदेश नं १ का इञ्चार्ज तथा प्रदेश सांसद भीम आचार्यसँग प्रदेश पोर्टल डटकमका राजनीतिक÷सामाजिक ब्युरो प्रमुख विनय बाह्रकोटीले गरेको कुराकानीः

राजधानीको विषय यति लामो समयसम्म टुङ्गो लाग्न नसक्नुको कारण के हो ?
हामी यसकै विषयमा छलफलमा छाँै । केही दिनमै निर्णय गर्ने गरी काम शुरु भएको छ । सरकारले पनि यस विषयमा तदारुकता देखाएका कारण चाँडै यो विषय टुङ्गो लाग्ने देखिन्छ ।

खुर्शीद हत्याकाण्डले राजधानीलाई कुनै प्रभाव पार्न सक्ला ?
पक्कै पनि एक निहत्था नेपाली जनताको हत्याले मुलुकको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाएको छ । हाम्रो सीमावर्ती क्षेत्र सुरक्षाको हिसाबमा अति नै कमजोर बन्दै गएको यसले पुष्टि गर्छ । तपाईले भनेजस्तै खुर्शीद आलमको हत्याले राजधानीको बारेमा सोच्न बाध्य बनाएको छ । त्यसले नयाँ कोर्स लिन सक्छ ।

यसको मतलब राजधानीको लागि नयाँ शहरको परिकल्पना गर्नुभएको हो ?
मेरो आफ्नो व्यक्तिगत धारणाले मात्र राजधानीको विषय टुङ्गो लाग्न सक्दैन । विराटनगर, इटहरी, धनकुटा, धरानलगायत शहरले राजधानीको दाबी गरिरहेका छन् । तर तपाईँले भनेजस्तै नयाँ स्थानको खोजी पनि हुन सक्ने सम्भावना छ । मोरङको गोठगाउँ वा सुनसरीको चतराको पनि सम्भावना छ ।

प्रदेश सरकार बनेको लामो समय बितिसक्दा पनि खासै काम हुन सकेन भन्ने गुनासो छ । तपाईँ के भन्नुहुन्छ ?
वास्तवमै जनताका अपेक्षाअनुसार काम भएका छैनन् । ढिला भएकै छ । नाम र राजधानी धेरै पेचिला विषय भएकाले सरकारको कसरत अलि अपुग भएको हो कि भन्ने लाग्छ । तथापि अहिल्यै नै सरकारको समीक्षा गरिहाल्ने समय भएको छैन । केही समय पर्खिएर हेरौँ । कतै प्रदेश सरकारले नयाँ रचनात्मक काम गरेर देखाउला भन्ने आशमा म पनि छु र जनता पनि त्यही आशमा छन् भन्ने बुझेको छु ।

प्रदेशको मुख्यमन्त्रीमा पराजित भएपछि प्रदेशलाई उपेक्षा गरेजस्तो गरी काठमाडौँ केन्द्रित बन्नुभयो नि ?
होइन । म पार्टीको राजनीतिमा बढी सक्रिय भएको हुँ । पार्टी एकीकरण लगायत पार्टीभित्रको जिम्मेवारी बाँडफाँडमा काम गर्नुपर्ने भएकाले काठमाडौंमै व्यस्त भइयो । म भर्खरै पार्टीको प्रदेश कमिटीको इन्चार्ज भएको छु । अब जिल्ला तथा स्थानीय तहको पार्टी संरचना निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था छ । म त्यतैतिर व्यस्त छु ।

स्थानीय तहमा पार्टी एकीकरण कहिलेसम्म टुङ्गो लाग्छ ?
यो ढिला भएको अनुभूति हामीलाई पनि भइरहेको छ । पार्टीका २ अध्यक्षको विदेश भ्रमण लगायतका कारण केही प्राविधिक विषय मिलाउनुपर्ने हुन्छ जुन भइरहेको छैन । तर यो दशैँ र तिहारको बीचसम्ममा औपचारिक रूपमा पार्टी एक हुन्छ ।

यसको मतलब भागबण्डाको कारण समस्या आएको हो ?
भागबण्डाकै कारण भन्दा अनर्थ नहोला । दुई पार्टी मिलेर एक भएका छन् । पुराना नेताको व्यवस्थापनदेखि नयाँ ऊर्जाशील युवाहरूलाई स्थान दिने कुरा जुन छ त्यसले समय खाइरहेको छ । कुन जिल्लामा कसको नेतृत्व रहने भन्ने विषयको टुङ्गो लगाउन समय लागेको हो । यो चाँडै हुन्छ ।

सुनसरीको पार्टी राजनीतिमा तपाईँको हस्तक्षेप अलिक धेरै भएको हो ?
कहाँ छ र मेरो हस्तक्षेप ? म केन्द्रीय स्तरको राजनीति गर्छु । मेरो विषयमा आलोचना गर्नेहरूले के भन्छन् के गर्छन् त्यो उनीहरूको कुरा हो । अहिले मुख्य कुरा अघि भनेजस्तै भागबण्डाकै हो । सुनसरीको हकमा हाल भएको अध्यक्ष नेतृत्वमा आयो भने सचिवमा पनि सोही पार्टी (पूर्व एमाले)को हुन सक्ने गरी मिल्न सक्छ । बाँकी नेताहरूलाई प्रदेशमा व्यवस्थापन गरिन्छ ।

bhim acharya (1)

नेताहरूका पछिल्ला अभिव्यक्तिले साँच्चै पार्टी एक नभइसकेको हो कि भन्ने लाग्दैन ?
यी सामान्य समस्या हुन् । यी समस्या नेकपामा मात्रै होइन अन्य पार्टीमा पनि छन् । यो ठूलो समस्या होइन । नेताहरूको आआफ्नो कार्यशैलीका कारण केही समस्या आएका होलान् जुन छलफलबाट टुङ्गो लगाउन सकिन्छ ।

केन्द्रीय सरकार पनि आलोचनाबाट चोखो हुन सकेको देखिँदैन नि ?
त्यो सत्य हो । जनताका अपेक्षा धेरै थिए । चुनावी घोषणापत्रमा धेरै कुरा लेखिएका थिए । तर सरकार भाषणमै मात्रै अल्झियो भन्ने जनतालाई भएको छ । त्यस कारण यो काम गर्ने अवधि हो । काम गरेर देखाउनुपर्छ ।

प्रदेश सरकारले गर्नुपर्ने तर गर्न नसकेका के काम छन् ?
धेरै छन् । प्रदेश सरकारले जनतालाई भरोसा दिन सक्नुपर्छ । हाम्रो शिक्षा प्रणाली पुरातनवादी भएकाले प्राविधिक शिक्षामा जोड दिएर रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्छ । कृषि र पर्यटनमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्छ । भारतीय प्रदेशसँगको समन्वयमा कृषिमा यान्त्रिकीकरण र पर्यटनमा लगानी भित्र्याउने काम गर्न सक्नुपर्छ ।