विराटनगरः स्थायी राजधानी कायम गराउन विराटनगरका उद्योगी–व्यवसायी यतिखेर राजनीतिक दलका नेताभन्दा पनि बढी राजनीतिमा सक्रिय देखिन थालेका छन् । प्रदेश संसदले राजधानी सार्न सक्ने सम्भावना बढेसँगै विराटनगरका उद्योगी–व्यापारी भने आफ्नो दैनिकीलाई पन्छाएर यसैको पछि लागेका हुन् ।
अझै यतिसम्म पनि देखिएको छ कि राजनीतिक पार्टीका नेतालाई नै उद्योगी–व्यापारीले चलाएजस्तो लाग्छ ।
उद्योगीको आग्रहमा भेला हुँदै सांसद
दिउँसो, साँझ र राती नभनी मोरङमा राजनीतिक दलका नेता तथा कतिपय सांसद उद्योगी–व्यवसायीको आग्रहमा भेला हुने गरेका छन् । राजनीतिक दलका नेताले समेत राजधानीलाई राजनीतिक प्रतिष्ठाभन्दा बढी औद्योगिक–व्यापारिक प्रतिष्ठासँग गाँसिएर अर्थोपार्जनको रूपमा हेरेपछि–उद्योगी–व्यापारी अगाडि र राजनीतिक दलका नेता पछाडिजस्तो देखिएका छन् ।
अहिलेसम्म नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालादेखि नेकपाका नेता लालबाबु पण्डितसम्म उद्योग–व्यवसायीको आग्रहमा राखिएको बैठकमा बसिसकेका छन् । नेकपाका नेता शिवकुमार मण्डल, केन्द्रीय सदस्यसहित काङ्ग्रेसका अन्य नेता समेत उद्योगी–व्यवसायीका पछि दौडिएको देखिन्छ ।
नेताले अर्थाेपार्जनका रूपमा हेर्दै
राजधानी राजनीतिक तवरले टुङ्ग्याउने विषय भए पनि यसलाई अर्थोपार्जनका रूपमा नेता तथा प्रदेश सांसदले समेत हेरेका कारण ठूलै विवादजस्तो देखिन थालेको हो ।
विराटनगरका उद्योगी तथा व्यवसायीले प्रदेश राजधानी कायम गर्दा अर्थतन्त्रको अवस्था र दीर्घकालीन रूपमा पर्ने नकारात्मक आर्थिक प्रभाव बारे अध्ययन गरेर मात्रै कायम गरिनुपर्ने धारणासहित लबिङ गर्दै आएका छन् । विकास बजेटमा कटौती हुने गरी संरचना निर्माण गर्नुपर्ने अवस्थाले समग्र अर्थतन्त्र र दिगो विकासलाई प्रभाव पार्ने भन्दै निर्माण भएका संरचनाको उपयोगितालाई ध्यानमा राख्न प्रदेश सरकारसँग उनीहरूको माग छ ।
प्रदेश १ सरकारले नयाँ संरचना निर्माण गर्नुपर्ने गरी प्रशासनिक संयन्त्र विकेन्द्रित गर्दै राजधानी तोक्न छलफल चलाइरहेको बेला उद्योगी–व्यवसायीले भएका संरचनाको उपयोगले मात्रै समग्र विकासमा सहयोग पुग्ने औँल्याएका छन् ।
नयाँ स्थानको राजधानी प्रस्ताव गलतः
उद्योगी प्रदेश राजधानी बारे विभिन्न कोणबाट शुरु भएका बहस र छलफलमा विराटनगर, इटहरी वा मोरङको गोठगाउँलाई सम्भावित क्षेत्र मानिँदै आएको छ ।
अस्थायी राजधानी विराटनगरमा कायम भएसँगै सरकारको संरचना निर्माण तथा पुननिर्माणको काम भइसकेको अवस्थामा नयाँ स्थानमा राजधानी सार्ने बहस गलत हुने उद्योगी–व्यवसायीको भनाइ छ । उद्योगी–व्यवसायीको साझा संस्था मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै उत्पादन र श्रम, उत्पादन र व्यापार, छिमेकी मुलुकसँगको सम्बन्ध, व्यापार र राजस्वसहित निर्माण भइरहेको पूर्वाधारलाई मध्यनजर गरेर राजधानी तोक्नका लागि माग गरिएको छ ।
उद्योगी–व्यवसायीले मुलुकमै दोस्रो ठूलो स्वास्थ्य हब, क्षेत्रीय विमानस्थल, खुला र चौडा सडक, विशेष आर्थिक क्षेत्रको स्थापना, एकीकृत भन्सार जाँच केन्द्र, रेल–वे, भारत र चीन जोड्ने व्यापारिक मार्ग, भारत–नेपाल र बङ्गलादेशसँगको रेल–वे सम्भावना भएको विराटनगरलाई राजधानी बनाउनुपर्ने शर्तको रूपमा अगाडि सारेका छन् । यसैगरी आधुनिक ट्रान्सपोर्ट र सुख्खा बन्दरगाह, भारत, बङ्गलादेश र भुटानसँगको सोझो व्यापारिक सम्बन्ध रहेको दाबी राजधानीका लागि प्रस्तुत गरेका छन् ।