इटहरीः कोरोना महामारीका बीच देशव्यापी रुपमा सेनिटाइजरको माग बढेसँगै बजारमा गुणस्तरहिन सेनिटाइजरको उत्पादन तथा बिक्री वितरण हुन थालेपछि यसको नियमनका लागि औषधि व्यवस्था विभागले सक्रियता देखाएको छ ।

विभागले गुणस्तरहिन सेनिटाइजर उत्पादन गरी उपभोक्ता ठगी गरेको आरोपमा २० ओटा सेनिटाइजर उत्पादक उद्योगलाई कारबाहीको प्रक्रियामा लगेको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए । अन्य कम्पनीका उत्पादनको पनि गुणस्तर मापन भइरहेको बताउँदै उनले कैफियत भेटिए कारबाही गरिने प्रष्ट पारे । २० ओटा कम्पनीविरुद्ध कारबाहीका लागि सूचना तथा प्रमाण संकलनलाई तिव्रता दिइएको उनको भनाइ छ ।

कस्मेटिक, साबुन तथा स्वास्थ्य सामग्रीका उत्पादकले समेत सेनिटाइजर उत्पादन गरेको पाइएपछि ६ महिनाभित्र मापदण्ड पालना गर्न सचेत गराइएकोमा कुनै पनि उत्पादकले गुणस्तरमा सुधार नगरेको महानिर्देशक ढकालको भनाइ छ । मापदण्डविपरीत इथानोल बाहेकका अन्य रसायनको मिसावट गरेको पाइएपछि विभाग कारबाहीमा उत्रिएको ढकालले बताए । विभागले ७० देखि ८० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजर उत्पादनको स्वीकृति दिएको बताउँदै उनले मापदण्डभित्र रहेर उत्पादन गर्नेलाई विभागले प्रोत्साहित गरेको उल्लेख गरे ।

गुणस्तरहिन सेनिटाइजरको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको सरकारले गत चैत ९ गतेदेखि असोज २२ गतेसम्म ४० ओटा नयाँ कम्पनीलाई सेनिटाइजर उत्पादनको अनुमति दिएको जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७र७८ को साउन र भदौमा २६ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको सेनिटाइजर र १४ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको छ ।

७ लाख १ हजार ३ सय ८१ किलो सेनिटाइजर र १ करोड ६१ लाख ६७ हजार ९ सय २४ केजी फेस मास्क तथा ८ करोड ५५ लाख ६९ हजार रुपैयाँ बराबरको २ लाख १६ हजार ८ सय ९२ किलो अन्य किसिमका डिसइन्फेक्टेड आयात गरिएको विभागले उल्लेख गरेको छ । सेनिटाइजर आयातबाट पाँच करोड ४४ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागले मास्क आयातबाट दुई करोड ७३ लाख एक हजार रुपैयाँ राजश्व असुल गरेको छ ।