इटहरीःआज बडादसैंको चौथो दिन । कुष्माण्डा माताको पूजा आराधना गरी मनाइँदैछ । सृष्टिविहीन अवस्थामा यी देवीको मन्द मुस्कानद्धारा ब्रम्हाण्डको उत्पत्ति भएको हुनाले यिनलाई कुष्माण्डा भन्ने गरिएको धार्मिक विश्वास छ ।

दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । आज सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, देशैभरका विभिन्न शक्तिपीठहरुमा आन्तरिक रुपमा कुष्माण्डा देवीको पूजा गरिँदै छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सरकारले धार्मिकस्थलको सञ्चालनमा रोक लगाएका कारण दर्शनार्थीहरु भने मन्दिर पुग्न नसकेका हुन् ।