काठमाडौंःमानवअधिकारवादी सुशील प्याकुरेलमाथि मानव अधिकार हननको गम्भीर आरोप लागेको छ । साउथ एसियन्स फर ह्युमन राइट्स ९एसएएचआर०को ब्युरो सदस्यका लागि प्याकुरेलको उमेदवारी परेपछि उनीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले प्याकुरेलकै नेतृत्वमा गम्भीर मानव अधिकार हननका काम भएको भन्दै उमेदवारी रोक्न उजुरी गरेका छन् ।

श्रीलंकामा केन्द्रीय कार्यालय रहेको एसएएचआरको सदस्यमा १६४ जना रहेका छन् । ती सदस्यले ब्युरो सदस्यका लागि अनलाइन मतदान गरिरहेका छन् । बुधबार दिउँसो १२ बजेसम्म अनलाइन मतदानको समय रहेको छ ।
प्याकुरेलको उमेदवारी दर्तापछि दाबी विरोधका क्रममा अधिवक्ता अर्यालले उजुरीमा चारवटा आरोप लगाएका छन् ।

पहिलो आरोप प्याकुरेलको अध्ययनको प्रमाणपत्र नक्कली भएको विषयमा छ । अर्यालका अनुसार प्याकुरेलले व्यापार प्रवद्र्धन केन्द्रको नासुमा जागिर खाँदा नक्कली सर्टिफिकेट पेस गरेको आरोप छ । उनको सर्टिफिकेट नक्कली भएपछि प्रवद्र्धन केन्द्रले उनलाई हटाएको थियो । यससम्बन्धी यसअघि पनि विभिन्न पत्रपत्रिकामा आएका समाचारलाई अर्यालले आधार मानेका छन् ।

दोस्रो आरोप छ– उनी गम्भीर मानव अधिकार हननमा सक्रिए भएका व्यक्ति हुन् ।

२०३६ सालको जनमत संग्रहका बेला नेपाली कांग्रेसका नेता गणेशमान सिंह, प्रदीपमान सिंह र ध्यानगोविन्द रन्जितलगायतका नेताहरू हेटौंडामा भएको सभालाई सम्बोधन गर्न गएका थिए । त्यसबेला माले निकट रहेका प्याकुरेल नेतृत्वको समूहले उक्त सभा सकिन लाग्दा बिथोलेको मात्र होइन सांघातिक हमला समेत गरेको थियो ।

फलामे रडलाई टुप्पोमा छाताको डण्डीजस्तै बाङगो बनाएर सभामा रहेका गणेमान सिंह, प्रदीपमान सिंह र ध्यानगोविन्द रञ्जितको लुगामा पछाडिबाट अल्झाएर मञ्चबाटै लडाइएको थियो । मञ्चबाट लडाएपछि उनीहरुको कपडा च्यातेर नाङ्गै बनाइएको रञ्जितको भनाइ छ । त्यहाँबाट उनीहरूलाई प्याकुरेलसहितको टोलीले लखेटेका थिए । नजिकै रहेको घरमा पसेपछि पनि घरबाट निकालेर आक्रमण गरेका थिए, तर अन्य सर्वसाधारण आएर मात्रै गणेशमान सिंहको ज्यान जोगिएको थियो ।

उक्त सभा बिथोल्ने प्रमुख नेतृत्वमा सुशील प्याकुरेल, बद्रीप्रसाद खतिवडालगायतका रहेका थिए । रञ्जितका अनुसार बहुदलको पक्षमा र जनमत संग्रहको पक्षमा प्रचार गरेका कारण उनीहरूमाथि आक्रमण भएको थियो । तेस्रो आरोप छ– नक्कली सर्टिफिकेटको विषय मानवअधिकार आयोगको सदस्य भएका बेला पनि विषय उठेपछि उनले पेस गर्न सकेनन् र अहिलेसम्म आफ्नो सर्टिफिकेट सक्कली भएको प्रमाण सार्वजनिक गर्न सकेका छैनन् ।र, चौथो आरोप छ–उनी नेकपाकै कार्यकर्ता हुन् ।

अर्यालले लगाएको आरोप गम्भीर भएको भए पनि अहिले तत्कालै छानबिन गर्न नसकिएको हुँदा यसलाई पछि छानबिन गर्नेगरी अहिले उमेदवारी खारेज गर्न नसकिने जवाफ एसएएचआरले दिएको छ ।

स्रोतका अनुसार प्याकुरेलले एसएएचआरको ब्यूरो सदस्यमा निर्वाचित भएपछि नेपालमा पनि उच्च तहमा नियुक्तिको लागि प्रयास गरेका छन् । उनी यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारमा करिब चारवर्ष रहेका थिए । प्याकुरेलले  आफू अहिले विराटनगरमा भएको र आरोपका बारेमा कुनै टिप्पणी गर्न नचाहेको बताए ।

उनले विदेशी साथीहरुले उमेदवारी दर्ता गरिएको, अनलाइन भोटिङ गरेको तर आफूविरुद्ध लागेको आरोपका विषयमा कुनै टिप्पणी गर्न नचाहेको बताए ।-बाह्रखरीबाट