वासिङ्टन डीसीः अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुगेका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गरेका छन् ।
सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न आह्वान गर्दै बाइडनले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि सबैसँग आग्रह गरेका छन् । आफूले प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउनेमा कुनै दुबिधा नरहेको भन्दै उनले जुन भोटले मुलुकको राष्ट्रपति चुनिन्छ त्यस्तो महत्वपूर्ण एक एक मत गणना गरिनुपर्नेप्रष्ट पारे । आफू र उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई गणना पूरा हुँदा आफूहरुको जीत हुनेमा पूर्ण विश्वास रहेको भन्दै उनले सम्पूर्ण नागरिकलाई शान्त रहन र चुनावको सबै प्रक्रिया पूरा हुन दिन आह्वान गरे ।
उता रिपबिल्कन पार्टीका उम्मेवार ट्रम्पले भने मतगणना जारी रहेका पेन्सिलभेनिया मिचिगन, जर्जिया, नेभेदालगायतका राज्यको मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । ट्रम्पको चुनावी अभियानका नेताले गणितमा आफूहरु पछि परेको भन्दै अब अरु बाटोका लागि भगवानसँग कामना गर्नुको विकल्प नरहेको बताएका छन् । तर डेमोक्र्याट चुनावी अभियानले ट्रम्पका मुद्दा बेतूकको रहेको भन्दै यो जनमतको घोर अपमान हुने बताएको छ । फक्स न्यूजका अनुसार मतगणनाको अन्तिमतिर पुग्दा बाइडेन जीत घोषणाका लागि ६ मतले पछाडी रहेका छन् र त्यो मत डेमोक्रेटहरुको परम्परागत राज्यका रुपमा चिनिएको नेभदाबाट मिल्ने अपेक्षा गरिएको छ ।
यद्यपि, त्यहाँ पनि मतको अन्तर भने निकै नै झिनो देखिएको छ । ट्रम्पले त बुधबार नै गणनाको प्रारम्भिक रुझानमै आफू विजयी भैसकेको घोषणा गरेका थिए । तर जसै मतगणना सकिँदै गयो बाइडेनले उछिन्दै गएपछि उनले मतगणनाविरुद्ध मुद्दा दायर गरेका हुन् । आफू पछि परेका नेभादा, विस्कन्सिन, जर्जिया, पेन्सिलभेनिया, मिचिगनलगायतका राज्यमा पुनःमतगणना गर्नुपर्ने ट्रम्पको माग छ । -एजेन्सी