इटहरीः नेपाली आधुनिक पत्रकारिताका संस्थापक तथा चलचित्र पत्रकारिताका प्रणेता स्व. पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ ।

श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

profile pictire

 पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब एक सय देश घुमिसकेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा पुस्तकमार्पmत चिन्ता प्रकट गरेका छन् । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेटेका छन् । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुगेका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उनको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।

कुल ३४८ पृष्ठको मोटो गाता (हार्ड कभर)मा प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकको मूल्य रु. १,२५० राखिएको छ भने पेपर ब्याकको पुस्तक रु. ७०० मा प्राप्त गर्न सकिन्छ ।