इटहरीः आज घटस्थापनाको अवसरमा रिलिज भएको छक्कापञ्जा–३ चलचित्र देशभर प्रदर्शन भयो । ट्रेलर रिलिज भएको दिन असोज ६ गते नै १२ घण्टामा तीन लाख भ्युज पाएको थियो यो फिल्मले । यसले पनि सफलताको सङ्केत गरेको हो ।
छक्कापञ्जा तीन हेर्दा टे«लरको लोकप्रियता हुनुमा चर्चित अनुहार मुख्य कारण हुन् । त्यसमा नेपाल आइडलजस्तो देशकै लोकप्रिय रियालिटी शोको भाग १७ को गाला राउण्डमा चलचित्रको विज्ञापन हुने पनि प्रथम चरणका दर्शक आएका होलान् । देशका चलेका कमेडी शोहरुमा समेत चलचित्रको प्रवद्र्धन गरिएकाले थप दर्शक तानिएका हुन सक्छन् । प्रियङ्का कार्की र नीर शाह जस्ता स्टार अनुहारले केही दर्शक तानेका हुन सक्छन् । दीपकराज गिरी, दीपाश्री निरौला, माग्ने बुढा, किरण केसी, विल्सनविक्रम राई, बुद्धि तामाङजस्ता कलाकारले फिल्ममा दर्शकहरु लोभ्याएकै हुन् ।
स्टार अनुहार, आकर्षक टे«लर र लोकप्रिय गीत मात्रैले चलचित्रको ओभरअल रेटिङ भने हुँदैन । चलचित्र राम्रो बन्नलाई राम्रो कथा मात्रैले पुग्दैन । कथालाई राम्रोसँग देखाउनु पर्छ । यो चलचित्रमा यो कुराको धेरै राम्रो प्रस्तुति छ ।
कथाः भताभुङ्ग विद्यालयको लथालिङ्ग व्यवस्थापन
कुनै एक सरकारी विद्यालयमा राजनीतिकरण हुँदाको बिजोग र त्यो बिजोग अन्त्य गरेर सफलतामा लान गरिएको शक्ति सङ्घर्ष नै छक्कापञ्जा–३ को मूल कथा हो । खानीडाँडा माध्यमिक विद्यालयको प्रधानाध्यापकको भूमिकामा छन् शिवहरि पौडेल । भूमिका प्रधानाध्यापकको भए पनि उनी आजित हुन्छन् । स्थानीय काजी सा’ब (नीर शाह) र बाङ्देल (शिरीष बाङ्देल)को राजनीतिक शक्ति सङ्घर्षमा विद्यालय लथालिङ्ग हुन्छ । नेपाली शिक्षकको भूमिकामा छन् जितु नेपाल तर काम गर्छन दलालको । गणित शिक्षकको भूमिकामा छन् बुद्धि तामाङ तर खेल्छन् जुवा । पालेको भूमिकामा भएका माग्ने बुढा घण्टी बजाउनभन्दा सहनाइ बजाउन कुद्छन् ।
यत्तिसम्म कि गाउँमा हुने भोज भतेरसम्म विद्यालय परिसरमा भएर पढाइ डामाडोल हुन्छ । पछिल्ला एसईई परीक्षामा लगातार निल हुन्छ खानीडाँडा स्कुलको नतिजा । यो सबै हुनुमा फोहोरी राजनीति, कमजोर प्रधानाध्यापक र स्थानीय निजी स्कुलको खुरापात मुख्य कारक छन् । यो लथालिङ्ग विद्यालयलाई काठमाडांैमा पढेर उतै एक टेलिभिजनमा अङ्ग्रेजी समाचार वाचन गर्ने प्रधानाध्यापककी छोरीको भूमिकामा रहेकी दीपिका प्रसाईंले लाइनमा ल्याउँछिन् । लथालिङ्ग विद्यालयलाई लाइनमा ल्याउन र सबै विद्यार्थी एसईईमा पास हुने नतिजा ल्याउनेसम्मको सङ्घर्ष र राजनीतिको कथा हो छक्कापञ्जा तीन ।
आमिर खान शैलीको राम्रो नेपाली चलचित्र
चलचित्र छक्का पञ्जा तीनले बोकेको विषय र देखाएको प्रस्तुति अन्य २ सिरिजभन्दा अर्गानिक छन् । हाँस्न मात्रै नभएर समाजमा भएको एक झाँगिदो सामुदायिक विद्यालयको बेथितिलाई बलियो गरी प्रस्तुत गरिएको छ । एक सामान्य राजनीतिज्ञको स्वार्थको अड्डा विद्यालय बन्दा मन्त्रालयसम्म परेको गाँठो चलचित्रले देखाउँछ । त्यही गाँठोले सामान्य गरिबका छोराछोरीमा पर्ने शैक्षिकदेखि मनोवैज्ञानिक असर सम्मका कुरा छन् चलचित्रमा ।
कक्षा ८ मात्रै पढेका राजनीतिज्ञ दीपकराज गिरीले नकरात्मकदेखि सकरात्मक पात्रको पाटो राम्रो छ । नवनायिका प्रसाईंको अभिनय राम्रो छ । दार्जिलिङबाट अङ्ग्रेजी पढाउन बोलाइएका शिक्षकको भूमिकामा भएका विल्सनविक्रम राईको अभिनय आकर्षक र मौलिक छ । छोटो भूमिकामा टेलिभिजन पत्रकारको रूपमा अभिनय गरेकी प्रियङ्का कार्कीको प्रस्तुति गज्जब छ । शिरिष बाङ्देल र लक्ष्मी गिरीको चरित्र अभिनयमा आफ्नोपन छ ।
आमिर खानले जस्तै कुनै एक गम्भीर विषयवस्तुको गम्भीर उठान गर्न यो चलचित्र सफल छ । पत्रकारको भूमिकामा रहेकी नवनायिका प्रसाईंको पत्रकारितामा केही खोट देखिनुबाहेक सबै कुरामा चलचित्र बेजोड छ ।
सबै परिवारले हेर्न मिल्ने कथावस्तुमा बनेको छ छक्कापञ्जा तीन । बलियो कथामा आकर्षक प्रस्तुति छ । कथाको ओजन, अभिनयको स्तर र मनोरञ्जनसँगै म्यासेजको कोणबाट हेर्दा यो चलचित्र छक्कापञ्जा चलचित्रका अगाडिका २ शृङ्खलाभन्दा धेरै राम्रो छ । दशैभरिको चलचित्र बजार छक्कापञ्जाले पिट्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ । दीपक र दीपाको यो चलचित्र धेरै राम्रो कारोबार गर्ने चलचित्रको लिस्टमा पर्ने निश्चितजस्तै छ ।