इटहरीः लोभका कारण इटहरीमा विभिन्न व्यक्ति ठगीमा परिरहेका घटना बेलाबेलामा सार्वजनिक हुने गर्छन् । त्यत्ति हुँदाहुँदै पनि उपमहानगरवासी ठगिने क्रम भने कम भएको पाइँदैन । पछिल्लो समय इटहरीमा भएका त्यस्ता केही घटना यसप्रकार रहेका छन्ः

घटना नम्बर १ः तरहराका दीपक गजमेर सिंहदेवी ज्वेलर्स नामक पसल सञ्चालन गरी सुनचाँदीको कारोबार गर्दथे । तर उनको भित्री धन्दा भने अर्कै थियो । सुनचाँदी व्यवसायी सङ्घ तरहराका अध्यक्षसमेत रहेका गजमेरले सुन पसलको नाममा अवैधानिक रूपमा करोडौँ रकम सङ्कलन गर्ने गर्दथे ।

केही महिना अघि इटहरी तथा आसपासका क्षेत्रहरूमा अवैध रूपमा वित्तीय कारोबार गर्ने संस्थाका सञ्चालकहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेर मुद्दा चलाउन थालेपछि सर्वसाधारणले सचेत भएर गजमेरसँग ताकेता गर्न थालेका थिए । त्यही बेलादेखि उनको सुन पसल बन्द भएको थियो । २ सय ८० जना सर्वसाधारणको झण्डै १९ करोड रकम सङ्कलन गरेको स्थानीय प्रहरीले चाल पाएपछि गजमेर करोडौँ रकमसहित फरार भए ।

गजमेरले न्यूूनतम ३ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म रकम महङ्गो ब्याजको लोभमा सङ्कलन गर्दथे । धेरै ब्याज दिने प्रलोभनमा परेर रकम बचत गर्नेको सङ्ख्या धेरै थियो ।

घटना नम्बर २ः एपेक्स डेभलपमेन्ट बैङ्कको झण्डै २० करोडको ठगीबारे पनि इलाका प्रहरी कार्यालय इटहरीले मुद्दा चलाइरहेको छ । बिनाधितो ऋण प्रवाह गर्नेदेखि जग्गाको मूल्याङ्कन अत्यधिक राखेर बैंकलाई झण्डै २० करोड भन्दा माथिको नोक्सान गराएको घटनामा अहिले जिल्ला अदालत सुनसरीमा मुद्दा चलिरहेको छ ।
एपेक्स बैंक एनसीसी बैंकसँग मर्जरमा गएपछि केन्द्रीय स्तरबाटै घोटाला हुन थालेको एपेक्समा इटहरीबाट मात्रै २० करोड रुपैयाँभन्दा माथिको घोटाला भएको पत्ता लागेको थियो । राष्ट्र बैंकले पनि अनुसन्धान गरेको इटहरीको सो मुद्दा अहिले इलाका प्रहरीले हेर्दै आएको छ ।

घटना नम्बर ३ः अघिल्लो वर्ष इटहरीमा विभिन्न इन्भेष्टमेन्ट कम्पनीको ठगीको समाचार बाहिर आयो । सिआइबीले छापा मारेपछि धेरै इन्भेस्टमेन्ट कम्पनी बन्द नै भए ।
हालै मात्र जरनिन इन्भेष्टमेन्ट प्रालिले सर्वसाधारणबाट उठाएर करिब ५० लाख रुपैयाँ लिएर फरार भएको समाचार सार्वजनिक भएको छ । इटहरी–८ स्थित पश्चिम गैसार नजिक खोलिएको कार्यालयबाट ‘बिना धितो’ ऋण दिने भन्दै सर्वसाधारणबाट उठाएको रकम लिएर प्रालिका सञ्चालक अजय यादव र स्नेह यादव फरार भएका छन् ।
सेयरबापत भनी लिइएको रकमको ब्याज लिन सर्वसाधारण कार्यालयमा आउँदा ताला लगाएको देखेपछि सञ्चालकलाई फोन गर्दा फोन अफ भएपछि सबै ठगिएको थाहा भएको थियो । ७ जना कर्मचारी राखेर खोलिएको सो इन्भेष्टमेन्ट प्रा.लि दर्तासमेत नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटना नम्बर ४ः इटहरीको हाँसपोसामा रहेको ५० लाख मूल्य बराबरको जग्गा देखाई हुँदै नभएको जग्गा बेचेर ठगी गरेको मुद्दा पनि इलाका प्रहरी कार्यालयले चलाउँदै छ । अर्जुन राई नामक व्यक्तिले हाँसपोसाको आफ्नो नाममा नभएको जग्गा ओमप्रकाश राईलाई बेचेका थिए । घर बनाउन सुरसार गरेका ओमप्रकाशले जग्गा नै आफ्नो नभएको थाहा पाएपछि उनी प्रहरीसम्म जान बाध्य भए ।

महङ्गो ब्याजदरको लोभमा बिना आधार नै बचत गर्ने बानी अधिकांशको भएकाले ठगीको मुद्दा बढ्दै गएको प्रहरीको भनाइ छ । सञ्चालकको कानुनी आधारबिना नै पैसा लगानी गर्ने बानीले ठगीका घटना बढ्ने गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ बताउँछन् । ‘एउटा कागज बनाएर कारोबार गर्नाले पनि ५० प्रतिशत भन्दा बढी ठगीका मुद्दा नै आउँदैनन्,’ श्रेष्ठ भन्छन्, ‘बिना आधार लोभ र प्रलोभनमा पारी धेरै ब्याज पाउने आश गर्नाले ठगीका घटना बढ्दै गएका छन् ।’

अब भने ठगी तथा लेनदेनको मुद्दा कम हुँदै जाने पूर्व सांसद तथा अधिवक्ता रेवतीरमण भण्डारी बताउँछन् । ‘मुलुकी देवानी संहिताले सबै किसिमको लिखत प्रमाणित गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ’, भण्डारी भन्छन्, ‘स्थानीय तहबाट लिखत प्रमाणित गराउने व्यवस्था भएकाले झुटो लिखत बन्ने सम्भावना कम हुने हुनाले त्यस्ता ‘केस’ समेत घट्न सक्छन् ।’