बेलबारीः अनाथ र असहायहरूको अभिभावक बनेको सहारा भवन आर्थिक अभावमा जीर्ण बनेको छ । विभिन्न देशका नगारिकहरूको सहयोगमा २०५५ भदौ ३ गतेदेखि सञ्चालनमा आएको सहारा भवन अहिले जीर्ण अवस्थामा रहेको छ ।
पूर्व सांसद हर्कमान तमाङले आफ्नो गाउँको विकास गर्न भनी सहारा भवन बनाएका थिए । आफ्नाे बल छउञ्जेल र आफ्नो कुरा लागू भएसम्म लागि परेर सो भवन बनाएको उनी बताउँछन् । देशमा १० वर्षे आन्दोलन भएको समयमा सञ्चालनमा आएको सहारा भवन आर्थिक अभावमा अहिले आफैं बेसहारा भवन भएको छ ।
२ पटकसम्म सांसद भइसकेका तामाङ आफू पदमा रहेका बेला हारगुहार गरेर चलाएको संस्था अहिले धरापमा पर्दा दुःख लागेको बताउँछन् । ‘त्यो भवन बन्दादेखि अहिलेसम्म विरोध गर्नेमात्रै धेरै छन्’, उनले भने, ‘तर त्यसको संरक्षण गर्नुपर्छ भनेर कोही पनि आएनन् ।’
१ बिघा ९ कठ्ठा जमिनसमेत रहेको सहारा भवनमा बस्ने बालबालिका १० वर्षे आन्दोलनको समयमा तत्कालीन आन्दोलनरत पक्ष र सरकार पक्षको चेपुवामा परेपछि भवन छोडेर हिँडेका थिए । ‘केही वर्षसम्म सोचेभन्दा राम्ररी चलेको थियो’, तामाङले भने, ‘चन्दा आतङ्क बढेपछि धराप बन्दै गयो ।’ अहिले सो भवनमा कबिर माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकासहित अन्य २८ परिवार बसोबास गरिरहेका छन् ।
हेर्दा चिटिक्क देखिने भवन अहिले बस्नसमेत असुरक्षितजस्तो देखिन थालेको छ । पटक पटक आएको भूकम्पका कारण सो भवनमा बस्नसमेत जोखिमपूर्ण देखिएको भवन व्यवस्थापन समितिका अध्यक्ष शिव बरालले बताए । ‘अहिले ती भवनहरूमा बस्ने समेत सुरक्षित छैनन्’, अध्यक्ष बरालले भने, ‘कति बेला भत्कन्छन् भन्ने डर लाग्ने गरेको छ ।’ राति बाटामा ट्याक्टर कुद्दासमेत त्यसको कम्पनले सहारामा बस्नेलाई केही भइहाल्यो कि भन्ने डर लाग्ने गरेको उनी बताउँछन् ।
सहारामा उद्योगको तयारी
जीर्ण भएका भवनहरूको व्यवस्थापन गर्न तथा सहारामा बस्नेहरूलाई सहज रूपमा जीवीकोपार्जन गर्नका लागि केही उद्योगहरूको स्थापना गरिने भएको छ । अब केही महिनाभित्रमै ती उद्योग सञ्चालनमा आउने जनाइएको छ । ‘केही भवनहरू भत्काउनुपर्ने अवस्थामा रहेका छन्’, अध्यक्ष बरालले भने, ‘केहीलाई संरक्षण गर्दा हुन्छ भन्ने लागेको छ । गार्मेन्ट उद्योग, कृषि तथा पशुसम्बन्धी उद्योगलगायतका अन्य केही साना व्यवसायिक काम गर्न लागिएको सहाराले जनाएको छ । सो भवनमा बस्ने नेत्रहीन बालबालिकाहरूका लागि विद्यालय नजिकै बस्ने व्यवस्था गरिएको समेत अध्यक्ष बरालले बताए ।