दुहबीः पछिल्लो समय धेरै जातिको सांस्कृतिक चाड, रीतिरिवाज तथा मौलिक परम्परा लोप हुँदै जान थालेको छ ।

अन्य जातिको झैं थारु जातिको पनि मौलिक संस्कृति लोप हुँदै जान थालेको छ । ‘हाम्रा पालामा बिहानबिहानै पराति गाउने चलन थियो । तर अहिलेका पुस्ता बिहानबिहानै र्याप र पप गीत गाउँदै उठ्छन््,’ थारु संस्कृतिविद् भुलाइ चौधरी भन्छन्, ‘आमाबुवा आफ्ना सन्तानहरूलाई आफ्नो मातृभाषा थारु हो भनेर भन्न पनि लजाउँछन् ।’

उनका अनुसार नयाँ पुस्तामा थारु भाषा, नाच र पहिचानका बारेमा घरमा या विद्यालयमा नसिकाइँदा थारु संस्कृति लोप हुन लागेको हो । ‘न कुनै स्कुलमा यसको बारेमा पढाइन्छ न घरमै सिकाइन्छ । त्यसकारण यो त्यत्तिकै बिस्तारै मिश्रित भइरहेको छ । थारु संस्कृति हराइरहेकोजस्तो लाग्छ ।’

यसैगरी थारु समुदायमा प्रचलित निर्गुण गीत, धामी गीत, घरेलु जडिबुटीको प्रयोग लोप हुने अवस्थामा छ । हरिनाम, लछमीडाढी, ठारिबरद, बजरमुठिया, गोठाले (कोजाग्रत)मा गाइने लक्ष्मीस्तुति लोपोन्मुख छ ।

यसका साथै चाँचर, वीरहैन, कहबी, फोकरा, पिहानी र लोककथाले भरिएको थारु भाषा साहित्य अहिले दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ । थारु भाषा साहित्य अलिखित रूपमा समृद्ध भएकाले यसको संरक्षण र विकासको प्रयास विगत केही दशकदेखि थारु कल्याणकारिणी सभाले गरिरहेको छ ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार मिलिराम चौधरीले संस्कृति संरक्षणसँगै सामाजिक विकृतिलाई निर्मूल पार्न र थारु समुदायको हक, अधिकार प्राप्तिका लागि थारुहरूलाई सङ्गठित पार्न दुहबीमा पहिलो पटक बृहत थारु गोठाले महोत्सव गर्न लागिएको बताउँछन् ।

रेडियो नेपालले आफ्नो क्षेत्रीय प्रशारणमा थारु भाषामा कार्यक्रम चलायो तर त्यसको समयअवधि थोरै भएको थारु संस्कृतिका अध्येता बताउँछन् । हाल सप्तकोशी, पपुलर, रामधुनी, झुम्का, कोचिला एफएमबाट थारु भाषाका केही कार्यक्रमहरू नियमित प्रशारण भइरहे पनि राज्यको प्राथमिकतामा पर्न नसकेको थारु संस्कृतिको जगेर्नामा लागेकाहरू बताउँछन् ।