काठमाडौँः न्यूजिल्याण्डको उत्तरी टापुमा ७ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

शुक्रबार स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर दूरीमा रहेको जनाइएको छ । न्यूजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । र, समुद्री तटमा रहेका व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।

अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६ दशमलव ९ म्याग्निच्युड मापन गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइमा रहेको जनाएको छ । -एजेन्सी