इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयको भौतिक पूर्वाधार विकास तथा सेवा सुविधा विस्तारका लागि कोशी प्रदेश सरकारसँग बजेट माग गरेको छ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश भण्डारी र प्रधानाध्यापक सरनकुमार बस्नेतले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास  राज्यमन्त्री सपना परियार समक्ष ज्ञापनपत्र बुझाउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुविधा विस्तार गर्न माग गरेका हुन्।


लामो समयदेखि यस क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयमा हाल बालविकास कक्षादेखि कक्षा १२ सम्म २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयास गर्दै आए पनि आवश्यक भौतिक पूर्वाधार र आधुनिक सेवा सुविधाको अभावमा पठनपाठनमा चुनौती सामना गर्नुपरेको ज्ञापनपत्रमा उल्लेख छ।


गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको वर्तमान आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले भौतिक पूर्वाधार विकास र शैक्षिक सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।


विद्यालयले ज्ञापनपत्रमार्फत पाँचवटा मुख्य माग अघि सारेको छ।

rrrrrrr


१.नयाँ भवन निर्माणका लागि ६० लाख रुपैयाँ माग


विद्यार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै आधुनिक तथा भूकम्पप्रतिरोधी चारकोठे भवन निर्माणका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गर्न विद्यालयले माग गरेको छ।


२. सडक तथा पहुँचमार्ग स्तरोन्नति


विद्यालयको दक्षिणतर्फको मुख्य पहुँचमार्गमा कालोपत्रे तथा ढल निर्माण गर्न माग गरिएको छ। वर्षायाममा हुने डुबान र हिलोको समस्या समाधान गरी विद्यालय आवतजावत सहज बनाउनुपर्ने विद्यालयको माग छ।


३.डिजिटल तथा सूचना प्रविधि प्रयोगशाला स्थापना


प्रविधिमैत्री शिक्षा प्रदान गर्न आधुनिक कम्प्युटर ल्याब, स्मार्ट बोर्ड, उच्च गतिको इन्टरनेट तथा स्मार्ट कक्षाकोठा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न माग गरिएको छ।


४.खानेपानी तथा शौचालय व्यवस्थापन


विद्यार्थी तथा शिक्षकका लागि पर्याप्त र स्वच्छ खानेपानीको व्यवस्था गर्न फिल्टर तथा आरओ सिस्टम जडान गर्नुपर्ने विद्यालयले जनाएको छ। साथै छात्रछात्राका लागि अपाङ्गतामैत्री छुट्टाछुट्टै शौचालय निर्माण तथा मर्मतसम्भार गर्न २० लाख रुपैयाँ बजेट माग गरिएको छ।


५. खेलमैदान तथा घेराबार निर्माण


विद्यालयको सुरक्षा सुनिश्चित गर्न घेराबार तथा पर्खाल निर्माण गर्नुका साथै खेलमैदानको स्तरोन्नति र समतलीकरणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गर्न माग गरिएको छ।


विद्यालयले यी पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको जनाएको छ। माग सम्बोधन भएमा विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने तथा विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।