कच्चा तेल उत्पादनमा लगाइएको नियन्त्रण हटाउन भारतले गरेको अनुरोधलाई ओपेक मुलुकले बेवास्ता गरिदिएका छन् ।
ओपेक पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन हो । साउदी अरबले त भारतलाई अघिल्लो वर्ष मूल्य सस्तो हुँदा किनेको तेल प्रयोग गर्न जवाफ फर्काएको छ । साउदीका ऊर्जामन्त्री अब्दुलाजीज बिन सलमानले भारतलाई यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन्, ’अघिल्लो वर्ष अप्रिल, मे र जुनमा खरिद गरेको तेल स्टोरबाट निकालेर प्रयोग गर्दा हुन्छ ।’ भारत सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले ओपेक देशको बैठकपूर्व कच्चा तेलको मूल्यमा स्थिरता ल्याउन उत्पादन प्रतिबन्ध हटाउन आग्रह गरेका थिए ।
तेलको भाउ बढ्दा भारतीय अर्थव्यवस्था सुधार गर्नसमेत अप्ठेरो परेको प्रधानले बताएका थिए । समाचार एजेन्सी पीटीआइका अनुसार भारतले गत वर्षको अप्रिल र मे को बीचमा मात्रै १६ करोड ७१ लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो । यो तेल भारतले विभिन्न ३ स्थानमा भण्डारण गरेर राखेको छ। सेप्टेम्बरताका पेट्रोलमन्त्री प्रधानले त्यतिखेर प्रतिब्यारेल १९ डलरमा तेल किनेको जानकारी दिएका थिए । ओपेक मुलुकको संगठनमा साउदी अरब, युएई, इरान, इराक, कुवेत, लिबिया, भेनेजुएला, इक्वाटोरियल गुवाना, नाइजेरीया, अल्जेरीया, अंगोला, कंगो र गाबोन छन् । -एजेन्सी