नयाँ दिल्लीः म्यानमारमा सेनाले कूमार्फत् सत्ता हत्याएपछि प्रहरीहरू नै शरण माग्दै छिमेकी देश पुगेको खुलेको छ ।

म्यानमारले भारतमा पुगेका ८ जना प्रहरीलाई पक्रेर फिर्ता पठाइदिन पत्र पठाएपछि उनीहरू शरण माग्दै आइपुगेको खुलेको हो । म्यानमारसँग सीमा जोडिएको उत्तरपूर्वी भारतीय राज्य मिजोरमको मिजो गाउँमा ११ प्रहरी र अन्य पाँच जना म्यानमारी नागरिकले शरण लिइरहेको द मिजोरम पोष्टले अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर आङ सान सूचीलगायत नेतालाई पक्राउ गरेर शासन हत्याएको थियो । त्यसयता म्यानमारमा दिनदिनैजसो सैनिक शासनविरूद्ध प्रदर्शनहरू भइरहेका छन् ।

पछिल्लो समय प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको दमन बढेको छ। अहिलेसम्म ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । सैनिक शासनको विरोधमा म्यानमारका सरकारी र निजी कम्पनीका कर्मचारीले काम गर्न छोडेका छन् । प्रहरी नै जागिर छोडेर भारतमा शरण माग्न आएको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । शनिबार पठाएको पत्रमा म्यानमारले दुई देशको मित्रता कायम राख्न भारतले ती प्रहरीलाई पक्राउ गरी फिर्ता पठाउनुपर्ने बताएको छ । मिजोरमका अधिकारीहरूले केन्द्रीय गृह मन्त्रालयको निर्देशनबमोजिम म्यानमारबाट आएका प्रहरीलाई के गर्ने भन्ने टुंगो लाग्ने बताएका छन् । -एजेन्सी