अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘जर्मन सेपर्ड’ प्रजातिको कुकुरले ह्वाइटहाउसका एक सुरक्षाकर्मीलाई टोकेपछि यसलाई बाहिर ल्याइएको छ ।
अमेरिकी मिडियाहरुका अनुसार उनका दुईवटै कुकुरलाई अहिले डेलावेरको घरमा पठाइएको छ । ‘मेजर’ नामक कुकुरले आक्रामक व्यवहार देखाउन थालेपछि त्यसलाई ह्वायटहाउसमा बस्न नदिइने निर्णय भएको हो । बाइडेनले तीन वर्षको सो कुकुरलाई २०१८ देखि पालेका थिए । मेजरले ह्वाइटहाउसका स्टाफ र सुरक्षाकर्मीलाई झम्टिने, भुक्ने अनि टोक्न आउने गरेको बताइएको छ ।
ती कुकुरहरुलाई बाइडेन राष्ट्रपति भएको चार दिनपछि ह्वाइटहाउसमा ल्याइएको थियो । हवाइटहाउसमा घरपालुवा कुकुरको धेरै लामो इतिहास छ । तर, १०० वर्षमा पहिलोपटक पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै कुकुर पालेका थिएनन् । -बीबीसीबाट