इटहरीः सुनसरीको इटहरीका दुई युवाहरु वैदेशिक रोजगारीका नाममा मेनपावर एजेन्टबाट ठगिएका छन् ।
ठगीमा पर्नेहरुमा देवराज अधिकारी र अनिल योञ्जन रहेका छन् । उनीहरुसँगै मोरङको उर्लाबारीका ज्ञानेन्द्र तामाङ र मोरङकै पथरीशनिश्चरे ९ का पदमसिंह तामाङसमेत ठग एजेन्टको जालमा परेका हुन् । उनीहरुबाट चितवनको जगापुर बस्ने सन्तलामा घिसिङले पोल्याण्ड र पोर्चुगल पठाइदिने आश्वासन दिई जनही चार लाख २० हजार रुपैयाँ असुली गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । घिसिङले प्रतिबद्धता अनुसार विदेश नपठाएर आलटाल गर्न थालेपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा घिसिङविरुद्ध उजुरी दिएका हुन् । विभागमा यस प्रकारका उजुरीको आइरो लाग्न थालेको छ । पाँचथरको बुद्धशान्ति गाउँपालिका २ का रुद्र घिमिरे पनि यस्तै ठगीको सिकार भएका छन् । उनलाई झापाका डम्बर चौधरीले सिंगापुर पठाउने आश्वासन दिई ६ लाख रुपैयाँ असुल गरी मलेसिया पुर्याएपछि त्यहाँबाट फर्किएका घिमिरे पनि चौधरीविरुद्ध ठगी मुद्दा लिएर वैदेशिक रोजगार विभागको शरणमा परेका छन् । वैदेशिक रोजगारका नाममा मौलाएको ठगी धन्धाका यी केही प्रतिनिधि घटना मात्र हुन् ।
विभागमा गत साउनदेखि पुससम्म मात्र वैदेशिक रोजगार ठगीसम्बन्धी एक सय ६१ ओटा मुद्दा दर्ता हुन आएका छन् । ती मुद्दामा पीडितले १५ करोड ३३ लाख ७५ हजार ८१ रुपैयाँ बिगो दाबी गरेका छन् । कुल पीडितमध्ये ५८ जनाको मुद्दा अदालतमा विचाराधीन रहेको छ । उनीहरुको जम्मा बिगो रकम १० करोड ५४ लाख २९ हजार पाँच सय रहेको छ । साउनदेखि माघ मसान्तसम्ममा विभागमा परेका उजुरीको संख्या २२४ रहेको छ । जसको कुल बिगो दाबी १९ करोड ६९ लाख ९५ हजार रुपैयाँ रहेको देखिन्छ । सोमध्ये ११ करोड ४८ लाख ६९ हजार ५ सय बिगो असुलीका लागि अदालतमा दायर भएको मुद्दा विचाराधीन रहेको विभागको तथ्याङ्क छ । वैदेशिक रोजगारका नाममा ठगी धन्धा मौलाएपछि सोको नियन्त्रणका लागि वैदेशिक रोजगार विभागले मेनपावर एजेन्सीको नियमनसमेत सुरु गरेको छ, जसअन्तर्गत मंसिरदेखि हालसम्म ३३ ओटा मेनपावर अनुगमनमा परेका छन् । अनुगमन गरिएकामध्ये सात ओटा मेनपावरलाई जरिवाना गरेको विभागले १३ ओटाको कारोबार रोक्का गरेको छ ।
सोही अवधिमा चार ओटा म्यानपावरको यसअघि रोक्का रहेको कारोबार फुकुवा गरिएको छ । कुनै कैफियत फेला नपरेका मेनपावरको संख्या भने ६ मात्र रहेको छ । यसैबीच, अनियमितता नियन्त्रणका लागि वैदेशिक रोजगार विभागले मेनपावरमा गरिरहेको छापामारी नियन्त्रण गर्न विभागीय मन्त्रीले नै दबाब दिन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले व्यवसायीको प्रभावमा परी आफूलाई सोधेर मात्र छापामारी गर्न निर्देशन दिएको विभागका कर्मचारीको भनाइ छ । वैदेशिक रोजगारमा मानिस पठाउने मेनपावर व्यवसायीले पनि छापामारीप्रति असन्तुष्टि जनाउँदै छापामारी गर्नुअघि आफूहरुलाई सोध्नुपर्ने माग गर्दै आएकोमा मन्त्रीकै तर्फबाट व्यवसायीकै बोलीमा लोली मिलाउँदै अस्वभाविक निर्देशन जारी भएको हो ।