इटहरीः नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणले अझैसम्म पूर्णता पाउन सकेको छैन । एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकीकरण प्रक्रिया भने अझै अलमलमै देखिएको छ ।

प्रदेश र जिल्ला तहको एकीकरण प्रक्रिया जारी रहेको भनिए पनि प्रभावकारी रूपमा काम हुन भने सकेको देखिँदैन । नेता भीम आचार्यको नेतृत्वमा गठित कार्यदलले प्रदेश नं १ को एकीकरण प्रक्रिया टुङ्ग्याउने जिम्मा पाएको थियो । जुन अझैसम्म हुन सकेको छैन ।

पूर्व माओवादी केन्द्रका नेता डम्बर सुवेदीका अनुसार १४ मध्ये ९ जिल्ला पूर्व एमालेले र ५ वटा जिल्ला माओवादी केन्द्रले पाउनुपर्ने अडान पूर्व एमालेले राखेको छ । पूर्व माओवादी केन्द्रले भने ८ र ६ वटा जिल्लामा सहमति गर्न सकिने बताउँदै आएको छ । जुन भागबण्डा मिलाउने जिम्मेवारी प्रदेश कार्यदलको रहेको छ । उता प्रदेश कमिटीमा पूर्व एमालेले १ सय ७ र पूर्व माकेले ८५ सदस्य पाउने भागबण्डा मिलिसकेको सुवेदीले बताए ।

जिल्ला तहमा नेतृत्व छनोट हुन नसक्दा क्षेत्र, नगर र वडा स्तरका कमिटी बन्न ढिलाइ भइरहेको छ । पार्टी एकीकरण घोषणा भएको लामो समय बितिसक्दा समेत स्थानीय स्तरमा पार्टी एकीकरणको औपचारिक अभ्यास शुरु भएको पाइँदैन । जसका कारण पार्टीलाई ठूलो हानि भइरहेको नेकपाका नेता रेवतीरमण भण्डारीको भनाइ छ । ठूला नेताहरूले समय व्यवस्थापन गर्न नसक्दा एकीकरण अभियानले मूर्त रूप लिन नसकेको उनले बताए ।

भण्डारीका अनुसार प्रदेश इन्चार्ज भीम आचार्यको नेतृत्व क्षमताको कमीले समेत प्रदेशभित्रको पार्टी एकतामा समस्या परिरहेको छ ।

‘पार्टी एकीकरण हुन नसक्दा स्थानीय तह र पार्टीबीचको अन्तरसम्बन्ध स्पष्ट हुन सकेन,’ भण्डारीले भने, ‘पार्टीको गतिशीलता र कार्यकर्ताको ऊर्जा हराउँदै गइरहेको छ । जुनकुनै गतिशील पार्टीको लागि दुर्भाग्यको कुरा हो ।’

उता प्रदेश इन्चार्ज आचार्य पनि पार्टी एकीकरणमा ढिलाइ भइरहेको स्वीकार्छन् । पार्टी अध्यक्षको स्वास्थ्य स्थिति र भ्रमणका कारण केही प्राविधिक विषय मिलाउन नसकिएको उनले बताए । भागबण्डामा समस्या देखिएपछि अझैसम्म एकीकरण प्रक्रिया अगाडि बढ्न नसकेको आचार्यको भनाइ छ ।

‘जसको कारण अझैसम्म जिल्ला र स्थानीय स्तरमा कतै पनि कमिटी गठन हुन सकेको छैन,’ उनले भने, ‘जिल्लास्थित कार्यदलले नामवलीसहितको सुझाव प्रदेश कार्यदलमा सिफारिश गरिसकेको छ । तर दुई पार्टी बीचमा एकीकरण गर्नुपर्ने हुँदा भागबण्डा मिलाउनै पर्छ ।’

सुनसरीको हकमा हालका अध्यक्ष नेतृत्वमा आए भने सचिवमा पनि सोही पार्टीको हुन सक्ने गरी मिल्न सक्छ । बाँकी नेताहरूलाई प्रदेशमा व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो ।

दशैँ र तिहारको बीचसम्ममा हरेक स्थानीय तहमा पार्टी एकता हुने बताउँदै आएका आचार्यले अझै केही समय लाग्न सक्ने बताउन थालेका छन् । दुई ठूला पार्टीबीचको एकता हुनाले धेरै कुरा ध्यान दिएर गर्नुपर्ने भएकाले ढिला भइरहेको उनको तर्क छ ।
आचार्यले एकीकरण गर्न ढिलो हुने बताइरहँदा स्थानीय युवा नेता भने निराश देखिन्छन् । अनेरास्ववियु सुनसरीका अध्यक्ष जीबी गजल पार्टी एकता अन्योलतातर्फ उन्मुख भएको बताउँछन् । हरेक स्थानीय तह र भातृ सङ्गठन एकीकरण हुन नसक्दा समस्या परिरहेको उनको भनाइ छ ।