इटहरीः बेलाबेला बाढी आएर ठूलो जनधनको क्षति गराउने ट्याङ्ग्रा खोलालाई इटहरी उपमहानगरपालिकाले व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउने तयारी शुरु गरेको छ । इटहरीको बीच भाग भएर बग्ने ट्याङ्ग्रा खोला अव्यवस्थित बन्दै गइरहेको र बर्खाको समयमा अनियन्त्रित हुँदै गइरहेको बेला इटहरी उपमहानगरपालिकाले पर्यटकीय क्षेत्र बनाउने योजना अगाडि सारेको हो ।

बर्खामा बाढीले बितण्डा मच्चाउने गरेको यो खोलालाई उपमहानगरले इटहरीको पर्यटकीय केन्द्र बनाउने उद्देश्य राखेको हो । जसका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।
‘डिपिआर निर्माण अन्तिम चरणमा छ’, उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले भने, ‘लागत कति लाग्ने हो भन्ने विषयमा परामर्शदातासँग छलफल भइरहेको छ । अहिले प्रारम्भिक चरणको प्रतिवेदन प्रस्तुत भएको छ ।

44824221_10214314607271813_5381090230814113792_n

उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन उपमहानगरपालिका र परामर्शदाता कम्पनी क्रिष्टल कन्सल्टेन्सी प्रालिबीच मोडेलको विषयमा करिडोरमाथि छलफलको तयारी अन्तिम चरणमा रहेको छ । लगानी कुन मोडलमा गर्ने र कसरी निर्माण गर्ने भन्ने विषयमा घनिभूत छलफल भइरहेको छ । डिपिआरको अन्तिम रूप भएपछि स्रोत जुटाउन शुरु गरिनेछ ।’

प्रारम्भिक प्रतिवेदनअनुसार खोलाको दुवैतर्फको भागमा बाटो हुनेछ । तत्कालको लागि मोटर गुडाउनेभन्दा पनि साइक्लिङ, मर्निङ वाक, जगिङ, गर्नको लागि प्रयोग गरिने छ । बाटो हुँदै जाँदा खोलाको आसपासमा भेटिने ऐलानी जग्गाहरूमा पिकनिक स्पट, फुड स्टलहरू बनाउने योजना उपमहानगरको छ ।

44975462_10214314606431792_3582799235138977792_n

‘लगानी कसले कसरी र कुन मोडेलमा गर्ने भन्ने विषय टुङ्गिइसकेको छैन’, इन्जिनियर दाहालले भने, ‘पिपिपि (सार्वजनिक, निजी, साझेदारी) परियोजना या निजी क्षेत्रलाई दिएर या अन्य कुनै तरिकाले बनाउने भन्ने छलफल हुन सक्छ ।’
फलामे पुलदेखि साथी पेट्रोल पम्पसम्मको करिब ३ किलोमिटरमा दुवै किनारमा बगैँचा निर्माण हुने र खोलाको आसपासको खाली ऐलानी इलाकामा विभिन्न महोत्सव गर्ने ठाउँको समेत निर्माण हुने बताइएको छ ।

45111561_10214314606791801_6686000792551292928_n

इटहरी उपमहानगरपालिकामा योसहित ७ ओटा डिपिआर बनाउने काम अन्तिम चरणमा पुगेको छ । डिपिआर बनाएपछि मात्र माथिल्लो सरकार र दाताहरूलाई सहयोगको प्रस्ताव राख्न सजिलो हुने हुँदा डिपिआर निर्माणको काममा नगरपालिका सक्रिय देखिएको छ ।
‘डिपिआर तयार भएपछि प्रोजेक्ट बैंकको रूपमा पनि रहने भयो र लगानी गर्नेलाई समेत सरल हुने हुन्छ’, दाहाल भन्छन्, ‘योसहित हामीसँग नगरपालिकाको प्रशासनिक भवन, आधुनिक हाटबजार, जनजाति सङ्ग्रहालय, रिङरोडलगायत अन्यको पनि डिपिआर तयार हुँदैछ ।’

45137767_10214314607151810_6732180727594483712_n