झापाः नेपालमा पर्यटकीय चहलपहल शुरु भए पनि पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या खासै उकालो लाग्न सकेको छैन ।
पर्यटन व्यवसायीका अनुसार अहिले पर्यटकहरू नेपाल घुम्न आउने मुख्य सिजन हो । तर, पैदलमार्ग भएर काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या निकै कम छ । पर्यटकको सङ्ख्या कम भए पनि राजस्वमा भने उल्लेख्य वृद्धि भएको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०१८ को जनवरीदेखि अक्टोबर महिनासम्म यो नाका भएर विभिन्न देशका ५ हजार ४ सय ४ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । सो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७ सय ३८ जनाले कम हो । सन् २०१७ को जनवरीदेखि अक्टोबर महिनासम्म यो नाका भएर ६ हजार १ सय ४२ जना विदेशी नेपाल प्रवेश गरेको तथ्याङ्क कार्यालयसँग छ ।
सन् २०१७ को अक्टोबर महिनामा ५ हजार ४ सय १० जना तथा सन् २०१८ को अक्टोबर महिनामा ५ हजार १ सय २६ जना आन्तरिक तथा बाह्य पर्यटक यो नाका भएर बाहिरिएका छन् ।
शुरुशुरुमा नेपाल प्रवेश गर्ने पर्यटकहरूले सोझै दूतावासबाट भिसा लिने गरेका भए पनि पछिल्लो समय सम्बन्धित कार्यालयबाटै लिने गरेका कारण कार्यालयको राजस्व असुलीमा भने निकै प्रगति भएको छ । कार्यालयले दिएको जानकारीअनुसार अध्यागमनले ३ प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरेबापत युएसए २५ डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एक सय डलर लिने गरेको जनाएको छ ।
कार्यालय प्रमुख पवनकुमार गुप्ताका अनुसार कार्यालयले नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमतिपत्र (भिसा) जारी गरेबापत चालु आर्थिक वर्षको असोजसम्ममा १९ लाख ७९ हजार ४ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा ६ लाख ११ हजार १ सय ७१ रुपैयाँले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷०७५ को सोही अवधिमा कार्यालयले १३ लाख ६८ हजार २ सय ९९ रुपैयाँ सङ्कलन गरेको थियो ।
थोरै समय नेपालमै बिताउने भए पनि विदेशीले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकामनालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाली ट्राभल व्यवसायीको भनाइ छ । डेनमार्क, चीन, फ्रान्स, बेलायत, दक्षिण कोरिया, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्टे«लिया, जापान, नेदरल्याण्ड, श्रीलङ्का, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, बेल्जियमलगायतका मुलुकबाट नेपालमा पर्यटक आउने गर्दछन् ।
अध्यागमन कार्यालयसँग सन् २०१७ मा ११ हजार ४ सय ९७ र सन् २०१६ मा १० हजार ६ सय २ जना बाह्य पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क छ । २०१७ मा १० हजार ३ सय ३६ तथा २०१६ मा ९ हजार ८ सय ४२ पर्यटक बाहिरिएका थिए ।
अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्यामरुन, सोमालिया, प्यालेस्टाइन, स्वीट्जरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको कार्यालयले जनाएको छ ।