खाँदबारीः सङ्खुवासभा र भोजपुरको सीमाबाट बग्ने अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सङ्खुवासभाको हेलुवाबेंसी र भोजपुरको बुम्लिङटार जोड्ने गरी पक्की पुल नहुँदा समस्या भएको हो ।
उक्त स्थानमा झोलुङ्गे पुलको सहायतामा मानिसहरू आवतजावत गर्छन् ।
तर सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका सामानहरू भरिया र खच्चडको सहायतामा तार्नुको विकल्प छैन ।
ढुवानी गरिएका सामान पुल वारीपारी गर्न भरियाहरूलाई महङ्गो मूल्य चुकाउनुपरेको त छ नै मनपरी भाडाले ढाड सेकेको बुम्लिङटारका होटल व्यवसायी तारा थापा बताउँछिन् । उनी भन्छिन्, ‘पक्की पुल हुने हो भने आँगनमा सामान आइपुग्ने थियो तर पुल तार्न मात्र खाँदबारीदेखि हेलुवाबेसीसम्मको भाडाको डबल भाडा तिर्नुपर्ने बाध्यता छ ।’ उनले थपिन्, ‘त्यो पनि कहिलेकाहीँ भरिया नपाइने र खच्चड समेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको छ ।’
झोलुङ्गे पुलको वारी तथा पारी सडक भने जोडिएको छ । खाँदबारीबाट हेलुवाबेंसीसम्म नियमित गाडी सञ्चालनमा छ भने बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ । तर पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिँडेका यात्रुहरूले झोलुङ्गे पुल तरेर बुम्लिङटारबाट अर्को गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ । कहिलेकाहीँ हेलुवाबेंसी पुगेका यात्रु बुम्लिङटारमा गाडी नपाउँदा अलपत्र पर्छन् भने कहिले भोजपुरबाट आएकाहरू हेलुवाबेंसीमा गाडी नहुँदा अलपत्र पर्छन् ।
त्यसो त सङ्खुवासभाकै सिलिचोङ गाउँपालिकाका सर्वसाधारणहरू पनि सोही पुलबाट हिँड्नु पर्छ । अरुण पारिका गाविस भनेर चिनिने साबिकका बाला, सिसुवाखोला, ताम्कु, माङ्तेवा र याफुका सर्वसाधारणहरू सदरमुकाम खाँदबारीबाट फर्कँदा भोजपुर हुँदै फर्कनुपर्छ । सिलिचोङमा सडक सञ्जाल जोडिए पनि पक्की पुल नहुँदाको समस्या उस्तै नै छ ।
अध्ययनको क्रममा खाँदबारी बस्दै आएका सिलिचोङ गाउँपालिकाका विद्यार्थीहरू घर अउँदाजाँदा हेलुवाबेंसीमा अलपत्र परेको बताउँछन् । खाँदबारीबाट ३ सय ५० रुपैयाँ भाडा तिरेर हेलुवाबेंसी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउँदा हेलुवाबेंसीमा नै बस्नुपर्ने उनीहरू बताउँछन् ।
सर्वसाधारणको समस्यालाई ध्यानमा राखी नदीमा पक्की पुल निर्माणको योजना हालसम्म ल्याइएको छैन । पुल बनाउने कुरामा योजना नै नहुँदा अस्थायी विकल्पको रूपमा फेरि सञ्चालनमा ल्याउने प्रक्रिया पनि टरेको छ । केही समयअघि मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको फेरी ल्याउन सडक विभागले स्वीकृति पनि दिएको थियो ।
डिभिजन सडक कार्यालय तुम्लिङटारको मातहतमा रहने गरी सडक विभागले स्वीकृति दिएको भए पनि विविध कारणले हाल त्यो सञ्चालनमा आउन नसकेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुुलुङले बताए । उनले भने, ‘सडक विभाग र डिभिजन सडक कार्यालयमा सम्पूणर््ा प्रक्रिया हामीले पूरा गरेका थियौँ । तर मकालुु गाउँपालिकाले त्यो फेरी नदिएका कारण हामीले ल्याउन सकेनौँ । फ्याक्सिन्दा दोभानमा भने पक्की पुल सञ्चालनमा रहेको छ । हाल त्यो फेरी त्यसै थन्किएर बसेको छ ।