धरानः धनकुटाको साँगुरीगढी–४ फाक्सिबका सन्तबहादुर इवाहाङ धरान–१३ स्थित कृषि उपज बजारमा बुधबार बिहानै सयपत्री फूल बिक्री गर्नका लागि झरेका थिए ।
आफैँले उत्पादन गरेको फूल बिक्रीका लागि झरेका उनी फूलको भाउ नपाएपछि निराश देखिन्थे । यसै वर्षदेखि व्यावसायिक फूलखेती थालेका उनी फूलखेती शुरु गर्नुअघि तरकारी खेती गर्थे । ५–६ रोपनीमा खोर्सानी, फूलकोपी लगाउँथे । तर, खोर्सानीको बोट मर्दा घाटा खेप्नुपरेपछि उनी फूलखेतीमा आकर्षित भए । त्यति मात्र होइन रेडियो, टिभी, पत्रपत्रिकामा फूलबाट राम्रो आम्दानी भएको समाचार हेरेपछि उनी झनै फूलखेतीतर्फ प्रेरित भए ।
उनले सुरुवाती चरणमै सोचेजस्तो फूल उत्पादन गरे पनि मूल्य नपाउँदा उनको राम्रो आम्दानी गर्ने सपना फूलखेतीले पनि तुहाइदियो । ‘फूलबाट पनि आम्दानी गर्न सकिएन । यसपटक फूलको भाउ नै छैन,’ उनले भने, ‘तिहार पनि अलिक ढिलो भयो । मजस्तै, खेती गर्ने धेरै भए होला ।’ गत वर्ष मुठाको ५०–६० रुपैयाँसम्म बिक्री भएको सुनेका उनले यसपटक आफूले मुठाको १०–१५ रुपैयाँमा बिक्री गर्नुपरेको सुनाए ।
सन्तबहादुर जस्तै चिन्तित मुद्रामा देखिन्थे अर्का किसान साँगुरीगढी–८ केराबारीका बालकुमार राई । उनी केराबारीका पुराना फूल खेती गर्ने किसान हुन् । तर, यसपटक फूलको भाउ नपाउँदा उनी पनि निराश देखिन्थे ।
‘विगतका वर्षमा एउटा घरमा ८० देखि ९० हजारसम्म भित्र्याएका थियौँ । यसपटक १५–२० हजार भित्र्याउन मुस्किल पर्याे,’ उनले भने, ‘यसपालि फूलको भाउ पाइएन ।’ चाड अलिक अबेला भयो । फूल पनि अलिक धेरै फुल्यो ।’ केराबारीमा मात्र करिब ८ सय जनाले फूलखेती गर्ने गरेको उनी बताउँछन् । तर, खर्च पनि नउठ्ने उनी बताउँछन् । सन्तबहादुर र बालकुमारजस्तै अन्य किसानहरूको अवस्था पनि उस्तै देखिन्थ्यो ।
व्यवसायी पनि घाटामा
किसान मात्रै होइन फूल व्यवसायी पनि आफूहरू घाटामा गएको बताउँछन् । अघिल्लो साल राम्रो मूल्य पाएकाले किसानसँग महङ्गोमा खरिद गरिएको उनीहरू बताउँछन् । धरान–१५ का फूल व्यापारी टीकाराम श्रेष्ठ फूलको व्यापारबाट लगानी नै नउठ्ने बताउँछन् । गत वर्ष भन्दा चार गुणा सस्तो मूल्य भएको उनी बताउँछन् ।
‘पोहोर सालको जस्तो भाउ पाइन्छ भनेर लगानी गरियो । अब डुब्ने भइयो ।’ उनले भने, ‘किनाइ छ मुठाको ३० रुपैयाँ बेचाइ छ १० रुपैयाँ १५ रुपैयाँ अनि ।’ आधा पनि लगानी नउठ्ने उनी बताउँछन् । फूल खेतीमा धेरैको आकर्षण बढेकाले उत्पादन धेरै हँुदा मूल्य नपाएको उनी बताउँछन् । उभोक्ताहरूले भने विगतका वर्षहरूको भन्दा फूल धेरै सस्तो भएको प्रतिक्रिया दिए ।
पहिलेभन्दा फूल धेरै सस्तो पाएको धरान–१३ का तिलक योञ्जन बताउँछन् । ‘यसपाली धेरै फूलले घर सजाउन पाइयो । सस्तो पाइयो खुशी नै मान्नु पर्याे ।’ राज्यले बजारको व्यवस्था नगर्दा यस्तो समस्या भोगनु परेको किसानहरू बताउँछन् । यसरी लगानी डुब्दा किसानहरूमा निराशा छाउने उनीहरू बताउँछन् । फूलखेतीको उचित बजारीकरण सरकारले नै गर्नुपर्ने किसान तथा व्यापारीहरू बताउँछन् ।
बजारमा पहिलो पटक फूलको कारोबार कम मूल्यमा भएको धरानस्थित कृषि उपज बजार स्थलका बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार गत वर्ष ५० प्रतिशत फूल आन्तरिक (स्वदेशी) थियो भने बाँकी भारतबाट आयात गरिएको थियो । तर, यसपटक ९० प्रतिशत बजार आन्तरिक (स्वदेशी) उत्पादनले ढाकेको छ । यसपटक कृत्रिम फूल कृषि बजारमा नभित्रिएको समेत उनले बताए ।
आर्थिक वर्ष २०७४÷०७५ मा २ करोड २५ लाख रुपैयाँको फूलको कारोबार भएको कृषि बजारको तथ्याङ्कमा उल्लेख छ । त्यो भनेको २ सय २५ मेट्रिकटन हो । तर, यसवर्ष करिब ३ करोड रुपैयाँको कारोबार हुने कृषि बजारको अनुमान छ । जुन ५ सय मेट्रिकटन हो । कृषि बजारमा धनकुटा, तेह्रथुम, पाँचथर, मोरङ, उदयपुरलगायत जिल्लाहरूबाट फूल आउने गरेको कृषि बजारले जनाएको छ । बजार व्यवस्थापक भट्टराई भन्छन्, ‘सम्बन्धित निकायले किसानलाई क्यालेण्डरअनुसार फूल लगाउन सिकाए, फूलबाट आत्मनिर्भर मात्र होइन निर्यातसम्मको सम्भावना देखिन्छ ।’