-नवशीला

छोरोको बिहेमा बाटौला संगी सय पाथी कसार,
आज जाऊ हिँड धान रोप्नलाई छोप्नुछ असार ।
१.
हलीले बोक्यो हलो र जुवा खेताला धानको बीउ
असारको मेलो हिलो र खेलो भिजायो सबै जिउ।
२.
गोठ गाँउले काका आए है आए हल गोरु नारेर,
जोत्ने भए आज त्यो गैरी खेतलाई सिनित्तै पारेर ।
३.
जोत्नलाई गार्हो असाध्य सार्हो दुख दियो लुँडीले,
नसके भरे धर दिन्न हरे घर गए बुढीले ।
४.
छालाको हल्लुंँड जुवामा हलो बाँध्ने हो कसेर,
तीन हलको मेलो रोप्ने हो आज जाने हो सकेर ।
५.
गैरी खेत रोप्यौ टारी खेत रोप्यौ बाँकी छ पैँयुटार,
मैझारो गरि आउनु है ठूली भेटौँला आइतबार ।
६.
एक राते दही अनधी चिउरा असारको खाजामा,
साँइली र माइली त नाच्न पो थाले बेठीको बाजामा ।
७.
असारको मासमा फाली है लाग्यो झाले र मालेलाई,
रोप्नुछ खेत ल्याइदेउ है गोरु पर्म भो भैरे दाई ।
८.
करमको हरिस हानेर मरिस दलदले हिलोले,
असारको मासमा दिएन उठन खुट्टाको पिलोले ।
९.
भल बगी आयो गुमाने दाजु त्यो पानी कटाइदेउ,
दबदबे हिलो चल्छ है मेलो लौ छिटो घटाइदेउ ।
१०.
दुई पाथी बीउ रोप्नलाई आज छ ठिक्क पारेको,
के लाई हो अल्छि ए खेलेझैँ बल्छि खै मेलो सारेको ?
११.
समाई अनौ मैले के भनौँ जाऔँ हिँड रानी खेत,
असार मास तास खेली बस्छौ खुल्दैन तिम्रो चेत ।
१२.
सम्याउला खेतको खोल्सा र खोल्सी दाँते र पटाले,
दुखायो पेट चाम्रेको खाजा र तरकारी गट्टाले ।
१३.
सखुवाको हलो चाँदीको फाली करुवा छ सुनैको,
असारका गीत लाएर प्रित गुन तिरौ गुनैको ।
१४.
मैजारो गरियो है यसपालि रोपाई हाक्पारे गाएर,
हली र बाउसे रोपाहार मिली दही चिउरा खाएर ।
१५.

 

आज असार पन्ध्र राष्ट्रिय धान दिवसको सबैलाई शुभकामना ।।
केही चलनचल्तिका शब्दहरुको अर्थः
हल्लुँड = हरिस र जुवालाई अड्याउन छालालाई बटारेर बनाइएको डोरी ।
हरिस = हलो र जुवा्लाई जोड्ने बीचको लामो काठ ।
लुँडी = हलो जोत्दा हलोमा अड्किने झारपात सहितको वस्तु ।
फाली = हलोको बीच भागमा खेत जोत्न सजिलो बनाउने फलामको औजार ।
करुवा = फालीलाई हलोमा अड्काउन प्रयोग गरिने यु आकारको किला ।
करम = तराईतिर पाइने पहेंलो रंङको काठ ।
अनौ = हलीले हलो जोत्दा समाउनका लागी हलोको पछाडी ठोकिएको काठ ।

बेलबारी –२, लालभित्ति, मोरङ
हाल गोदावारी ललितपुर
(१५ असार २०७८)