इटहरीः इटहरीको नाट्य क्षेत्रमा सक्रिय संस्था कलालयले पछिल्ला वर्षहरूमा नाटक मञ्चन गर्न तायारिची भवन रोज्न थालेको छ ।
इटहरी र सुन्दरहरंैचा जोड्ने बुढी खोलाको पुलदेखि पश्चिमतर्फ रहेको छ यो भवन । बुढी खोला किनारमा बनेको शान्त क्षेत्रको तायारिची भवन नाटकसँगै चलचित्र प्रदर्शनको रोजाइमा पनि पर्दै गएको छ । केही समय अगाडि एउटा चलचित्र उत्सव यहीँ भएको थियो । अरु सामान्य सभा सम्मेलनहरू त यहाँ प्रायः भइरहन्छन् ।

खोला किनारको शान्त ठाउँ । १५ कट्ठा हाराहारीको खुला क्षेत्र । हरियालीले घेरेको आकर्षक क्षेत्र । धारा, चौतारादेखि विभिन्न कलात्मक मूर्तिहरू छन् यो भवन परिसरमा । त्यही कारण धेरै कार्यक्रमहरूको रोजाइमा तायारिची परेको नाट्य निर्देशक तथा कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती बताउँछन् । उनी भन्छन्, ‘कला क्षेत्रको लागि आवश्यक सुन्दर, शान्त र एकान्त ठाउँ त्यही लाग्छ इटहरीमा ।’

कला, संस्कृतिदेखि खेलकुदसम्मको प्याकेज
२०५८ मा चर्चामा आएर २०६७ बाट बनाउन शुरु भएको तायारिची भवन किराती कला र संस्कृतिको केन्द्र बनाउने गरी निर्माण भएको थियो । १५ तलाको इन्जिनियरिङ इस्टिमेट र डिजाइनका साथ बनेको यो भवनको हाल तेस्रो तला बन्ने क्रममा छ । भुइँ तलामा ५ सय सिट क्षमताको सभाहल छ । व्यवस्थित कुर्सी र लाइटको व्यवस्था छ ।

पहिलो तलामा तालीम केन्द्र, किरात राई यायोक्खाको महिला समिति, मुख्य समिति र सांस्कृतिक सामग्रीहरू सङ्कलन गरिएको कोठा छ । तेस्रो तलामा गेष्ट हाउस बनाउने गरी काम भइरहेको छ । हालसम्म १ करोड ५३ लाख बराबारको रकम खर्च भइसकेको छ ।

५० हजारदेखि ४ लाख रुपैयाँसम्म व्यक्तिगत रूपमा दाताले दिएका छन् । दाता र स्थानीय सरकारबाट गरी २ चरणमा १० लाख सहयोग आएको भवन निर्माण समितिका संयोजक रामप्रसाद राई बताउँछन् । ६९ वर्षीय राईका अनुसार साकेला नाच्ने स्थल खोज्दाखोज्दै यो स्थायी संरचनासम्म आइपुगिएको हो ।
अहिले यो क्षेत्रमा ब्याडमिन्टनदेखि आर्चरी (धनुषवाण) सम्मका खेल हुन्छन् । इटहरी शहरको कोलाहलबाट मुक्त हुन चाहने यतै आउन थालेका छन् । कला, संस्कृति, खेलकुद र घुमफिर स्थल सबै क्षेत्रमा तायारिची भवनले आफ्नो परिचय स्थापित गरिरहेको छ ।

कर्णबहादुर राईको अगुवाइमा भएको भवन निर्माण क्रमले अझै निरन्तरता पाइरहेको रामप्रसाद राई बताउँछन् । उनी भन्छन्, ‘हाम्रो पालोमा तीन तलासम्म बन्ला बाँकी तला नयाँ पुस्ताले ।’

क्यान्टिन र कभर्ड हल बन्दै
साकेला नाच्ने स्थलदेखि कला, खेलकुद र सभाको लागि लोकप्रिय बनेको तायारिची परिसरमा चाँडै क्यान्टिन बन्ने भएको छ । क्यान्टिनसँगै खेलकुदको लागि कभर्ड हल बनाउने तयारी भएको संयोजक राई बताउँछन् । ठूलो क्षेत्र भएकाले खेलकुदलाई व्यवस्थित गर्न र आगन्तुकहरूलाई भोकै नपठाउन क्यान्टिन र कभर्ड हल थप्ने योजना बनेको राईले बताए । उनले भने, ‘यो सबै काम सरकारी बजेटमा नभएर सामुदायिक चन्दाबाट हुने भएकाले पैसा सङ्कलन नहुन्जेल निर्माणले तीव्रता नलिएको हो ।’

tayachari bhawan (3) copy tayachari bhawan (6) copy tayachari bhawan (4) copy tayachari bhawan (5) copy tayachari bhawan (7) copy tayachari bhawan (12) copy tayachari bhawan (8) copy tayachari bhawan (13) copy tayachari bhawan (11) copy tayachari bhawan (10) copy tayachari bhawan (9) copy tayachari bhawan pradesh portal 1 1