बराहक्षेत्रः गत वर्ष सुनसरीको बराहक्षेत्र र भोक्राहामा आगलागीका ठूला घटना भए । बराहक्षेत्र–१० इक्राइ भन्ने ठाउँमा मात्र ७० घर जलेर खरानी भए । यहाँ करोडौंको सामान छिनभरमै जलेर खाग भयो । बराहक्षेत्रमा मात्र होइन भोक्राहामा पनि १७ घर र घरमा भएका केही सामान निकाल्न नपाउँदै सबै जलेर खरानी भयो । छेउछाउमा दमकल नहुँदा करोडौंको क्षति भयो ।
गत वर्ष नै कोशी गाउँपालिका– ६ श्रीपुरमा पनि आगलागी भयो । थ्रेसरबाट शुरु भएको आगलागीमा परी १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भए ।
आफ्नो गाउँपालिकामा दमकल नभएपछि आगो नियन्त्रणका लागि इनरुवा नगरपालिकाको दमकल बोलाइयो तर इनरुवाको दमकलले आगो ननिभाएपछि भारतबाटै दमकल मगाउन बाध्य हुनुपर्याे ।
एउटा स्थानीय सरकारले नै दमकलको व्यवस्थापन गर्नुपर्नेमा भारतबाट दमकल बोलाउनुपर्ने बाध्यता रहेको छ । यति ठूलो आगलागी भएका स्थानीय सरकारमा त्यति बेला त दमकल थिएनन् नै १ वर्ष बित्न लाग्दा पनि दमकल खरिद अझै हुन सकेको छैन ।
बराहक्षेत्र र भोक्राहामा मात्र होइन सुनसरीका अझै १२ मध्ये ९ वटा स्थानीय सरकारसँग दमकल छैन । तर रोचक पक्ष के छ भने सबै नगरका प्रमुख र उपप्रमुखलाई महङ्गो गाडी सुविधा भने छ । तर लाख लगानी गरेर करोड बचाउन भने कुनै पनि स्थानीय सरकारले चासो दिएका छैनन् ।
गाउँपालिका र नगरपालिकाहरूलाई अहिले स्थानीय सरकारको रूपमा संविधानले व्याख्या गरेको छ । राज्यको एउटा तल्लो संयन्त्रबाट सरकार भएपछि सरकारका प्रमुख प्रतिनिधिहरूले सबै सुविधाको उपभोग पनि गर्दै आएका छन् ।
सुविधाको उपभोग अत्यधिक गरेको आरोप लाग्ने गरेका जनप्रतिनिधिहरूलाई जनताप्रति पूरा गर्नुपर्ने आधारभूत जिम्मेवारी पनि पूरा गर्न अग्रसर नभएको आरोप लाग्दै आएको छ ।
तर सुविधाको उपभोग गर्दै महङ्गामहङ्गा गाडी चढ्दै आएका जनप्रतिनिधिहरू आफ्नो क्षेत्रमा हुने बिपतलाई न्यूनीकरण गर्न भने लागिपरेको देखिँदैन । यसको ज्वलन्त उदाहरण सुनसरीका स्थानीय सरकार नै बनेका छन् ।
सुनसरीमा हालसम्म भएका आगलागीका घटना हेर्दा दमकल ढिलो आउने गर्दा बढी क्षति हुने गरेको स्थानीय बताउँछन् । ‘५ घर परको पडोसिको घरमा आगो सल्किसकेको थियो सर्दैसर्दै हाम्रो घर पनि आगोले खायो,’ ६ महिना अगाडिको कहालीलाग्दो आगलागी सम्झिँदै बराहक्षेत्र–११ इक्राइकी मुसरद अन्सारी भन्छिन्, ‘पानी फ्याँक्ने गाडी आएको भए मेरो घर त बच्थ्यो तर के गर्नु घर खाग भएपछि मात्र आयो ।’
अन्सारीको मात्र होइन सुनसरीको धेरै ठाउँमा दमकल नहुनाले पनि आगलागीका घटनामा धेरै क्षति हुने गरेको प्रहरीको भनाइ छ ।
‘आगलागीबाट बढी क्षति हुनुमा स्थानीय तहमा दमकल नहुनु नै हो,’ नाम नखुलाउने भन्दै सुनसरीमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘मेयर सा’बहरू महङ्गामहङ्गा गाडी चढ्नुहुन्छ गाउँमा दमकल र एम्बुलेन्स भने राख्न कन्जुस्याइँ गर्नुहुन्छ ।’
हालसम्म सुनसरीका १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगर तथा इनरुवा नगरपालिकासँग मात्र दमकल छ । अन्य स्थानीय तहमा दमकल नहुँदा आगलागीमा ठूलो क्षति हुने गरेको छ । भएका नगरपालिकामा पनि कतिपय बिग्रेका अवस्थामा छन् । वरिपरिका अन्य स्थानीय तहमा आगलागीका घटना हुँदा इनरुवा, इटहरी र धरानका दमकलहरूले नै सेवा दिँदै आएका छन् ।
बराहक्षेत्रले ट्याक्टर र ट्याङ्करले आगो निभाउने
५० लाखको गाडी किन्ने नगरपालिकाले दमकल खरिद तथा सञ्चालन गर्न महङ्गो भएको भन्दै ट्याक्टर र ट्याङ्कर खरिद गर्ने निर्णय गरेको छ । भर्खरै बसेको कार्यपालिका बैठकले दमकल खरिद गर्न सकिने भए तापनि जनशक्तिको व्ययभार सम्हाल्न नसक्ने भन्दै ट्याङ्कर खरिद गर्ने निर्णय गरेको हो ।
साबिक गाविसहरू बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर, मधुवन क्षेत्रमा पानी भरेर ट्याङ्कर राख्ने र पानी तान्ने र फाल्ने दुई मेसिन जडान गरी दमकलको विकल्पका रूपमा ट्याक्टरमा जोडेर प्रयोग गरिने बताइएको छ ।
जनप्रतिनिधिहरू भन्छन् दमकलको जिम्मा प्रदेशले नै लियोस्
स्रोतमा हक जमाउने स्थानीय सरकारका प्रतिनिधिहरू भने स्थानीय तहहरूले दमकल चलाउन स्रोतले नधान्ने भन्दै दमकलको जिम्मा प्रदेश सरकारले लिन आग्रह गरेका छन् । ‘एउटा दमकल सञ्चालन गर्न ८ देखि १० जना कर्मचारी आवश्यक पर्छ’, बुधबार प्रदेश समन्वय परिषद्को बैठकमा नगरपालिकाको तर्फबाट इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले भनिन्, ‘यो दमकल चलाउन नगरपालिकाले सक्दैन । त्यसैले प्रदेशकै स्रोतबाट दमकलको सञ्चालन हुनुपर्दछ ।’
याे समाचार असाेज २३ गते प्रकाशित भएकाे थियाे । – सम्पादक