आजभोलि धेरैको चाहाना हुन्छ एउटा सानो घर, चट्ट मिलेको सानो परिवार, अनि आफ्नै व्यापार ।

जागिर खानेभन्दा आफ्नै केही गर्न चाहने आकांक्षा धेरैको पाइने गरेको छ । जागिर जति गरेपनि अर्काको गर्नुपर्छ । व्यापार सानै भएपनि आफ्नो हो, त्यहाँ अर्काको नियन्त्रण हँुदैन । जागिर ठूलै किन नहोस् अर्काको हो ।  त्यहाँ तपाईँ नियन्त्रित भएर काम गर्नुपर्छ । त्यसैले पनि व्यापार रोज्ने भीड निकै ठूलो छ आजको युवा पुस्तामा । अब व्यापारका कुरामा लागौँ । व्यापार भनेको के हो त ? वस्तु तथा सेवाको किनबेच मात्र व्यापारको परिचय नहोला । व्यापारको परिचय पनि फराकिलो छ । त्यो पनि तपाईँमै भर पर्छ । आफ्नो सानो खुद्रा पसल पनि व्यापार हो र खुद्रा पसलबाट बढाएर बनाइएको विशाल सपिङ्गमल पनि व्यापार नै हो । एउटा सानो सेवा दिने ग्रिल उद्योग,फर्निचर उद्योग, सुनका गहना बनाउने कालिगढ सेवा आदि पनि व्यापार नै हुन । सबैभन्दा पहिले व्यापार गर्छु भन्ने व्यक्ति तथा सँस्थाले आफ्नो व्यापारलाई कसरी चलाउने र कहाँसम्म लाने भन्ने कुराको योजना बनाउनुपर्छ । योजनालाई अध्ययन गर्नुपछ । कुन समयमा कुन कदम चाल्ने ? व्यापार बढेको बेला के गर्ने अनि अचानक व्यापार घट्न थाल्यो भने के गर्ने ? यी सबै कुराको मास्टर प्लान बनाएर अघि बढ्दा राम्रो हुन्छ । 

अहिले हाम्रो बजारमा थुप्रै व्यापारीहरु छन् जो ग्राहकको सेवामा त्यसरी खटेका छैनन,् जसरी खटिनुपर्ने हो । व्यापारमा ग्राहक भगवानसरह मानिन्छन् र मानिनु पनि पर्छ । जब तपाईँ एउटा ग्राहकलाई आफ्नो सामान बजारमा अन्य व्यापारीले भन्दा चर्को मूल्यमा बेच्नुभयो भने खुसी हुनुहुन्छ, तपाईँ त्यत्तिकैमा खुसि नहुनुभए हुन्छ । किनकि समय पहिलाको जस्तो छैन । एउटा असन्तुष्ट ग्राहकले तपार्इँलाई एकै दिनमा शून्यमा लाने क्षमता राख्छ । ग्राहकहरु पनि पहिलाका जस्ता छैैनन् । सामाजिक सन्जालले मात्र पनि तपाईँको व्यापारलाई एकैदिनमा कहाँबाट कहाँ पुर्याउन सक्छ । तर तपाईँले बेच्नुभएको सामानमा कस्तो सुविधा दिनुभयो ? बिक्रीपछि ग्राहकको ध्यानलाई तपार्इँतिरै तानिरहन कस्तो कदम चाल्नुभयो ? सेवा, तथा सुविधा दिइसकेपछि ग्राहकलाई तपाईँको सेवा कस्तो लाग्यो भनेर सोध्नुभयो कि भएन ? यी सबै कुरा आजको व्यापारमा मुख्य भूमिका निर्वाह गर्छन् । तपाईँले एउटा सन्तुष्ट ग्राहकलाई राम्रो सेवा दिनुभयो भने उसको माध्यमबाट तपार्इँले अन्य सय जनालाई सेवा दिने मौका पाउनुहुन्छ । सन्तुष्ट ग्राहकले तपाईँको व्यापारको विज्ञापन आफैँ गर्छ, तपाईले मिडियामा विज्ञापन गर्ने खर्च जोगाउन सक्नुहुन्छ । असन्तुष्ट ग्राहकले पनि त्यसरी नै तपाईको विज्ञापन गर्छ । तर त्यो तपाईँलाई नकारात्मक साबित भइदिन्छ । उसले आफ्ना चिनजानका सबैलाई तपाईँले गरेको सेवा राम्रो नभएको कुरा सुनाउन बाँकी राख्दैन । त्यत्ति भएपछि उसले जजसलाई सुनायो, तीनीहरुले तपार्इँसँग सेवा लिन चाहाँदैनन् । मनको बह शान्त पार्न असन्तुष्ट ग्राहकले सामाजिक सन्जालको पनि प्रयोग गर्न सक्छ । सामाजिक सञ्जाल यत्ति शक्तिशाली हुन्छ कि नकारात्मक कुरालाई भाइरल बनाउन समय लाग्दैन । अब व्यापारमा टिकिरहन के गर्ने त ? सबैभन्दा पहिला तपाईँको बजारीकरणको शैलीलाई राम्रो बनाउनुहोस ताकि धेरैभन्दा धेरै ग्राहकहरु तपाईँको व्यापारमा आकर्षित भएर आउन् । त्यसपछि तपाईँले आफूसँग आएका ग्राहक सकेसम्म रित्तोहात नफर्किने गरी आफूमा आकर्षित गर्न सक्नुपर्छ ।

सेवा यस्तो दिनुहोस् कि ग्राहकले अर्को पटक तपाईँलाई सम्झियोस् । तपाईँको कम्पनी तथा व्यापारिक फर्मबाट ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यदि तपाईले बेचेको सामान गह्रौँ छ भने होम डेलिभरीको विकल्प दिनुहोस्, होम डेलिभरीमा तपाईँ केही थप चार्ज लिन पनि सक्नुहुन्छ सकेसम्म फ्रि होम डेलिभरी गरिदिनुहोस् । तपाईँको सेवाले ग्राहकलाई ‘इमोसनल्लि टच’ भयो भने त्यो ग्राहक तपाईँलाई छोडेर अन्त जाँदैन । ग्राहकको टेलिफोन नम्बर, इमेल अथवा सामाजिक सञ्जालको एकाउण्ट सुरक्षित गर्नुहोस् ता कि तपाईँ जुनकुनै बेला आफूसँग भएको नयाँ प्रोडक्टका बारेमा उक्त ग्राहकलाई जानकारी दिन सक्नुहुन्छ । यदि उक्त ग्राहक तपाईँको दोस्रो पटक सेवा लिन आयो भने उसलाई छुट्टै किसिमको विशेष स्वागत गर्नुहोस् । अघिल्लो पटक दिएको सेवा तथा सर्भिस तथा सामान कस्तो छ कस्तो भयो ? ग्राहकबाट ‘फिडब्याक’ लिने प्रयास गर्नुहोस । यदि ग्राहक अघिल्लो पटकको सेवामा त्यत्ति सन्तुष्ट छैन भने तपाईँ के गर्न सक्नुहुन्छ आफूसँग भएको विकल्प दिनुहोस् । कतिपय अवस्थामा चार्ज सामेल भएपनि ग्राहक सन्तुष्ट भयो भने उसले थोरबहुत पैसालाई महत्व दिँदैन किनकि ग्राहकलाई सेवा चाहिएको हुन्छ । बजार र बजारको भाउ बुझिरहनुहोस् । बजारमा सामानको भाउ उत्तरचढाव भइरहन्छ । माग बढेको बेला आफ्नो सामान तथा सेवाको मूल्य उच्च नगर्नुहोस् ।

बजारमा सँधै पैसावाला ग्राहक मात्र हुँदैनन् । मध्यमस्तरका ग्राहकहरु सीमित स्रोत र साधनमा काम गर्नुपर्ने बाध्यतामा हुन्छन् । तिनीहरुको लागि पनि तपाईँको व्यापारको ढोका खुल्ला हुनुपर्छ । यदि तपाईँको व्यापारको टार्गेट उच्च वर्ग मात्र हो भने तपाईँ बजारबाट कुनैपनि बेला निराश हुनुपर्ने अवस्था आउन सक्छ । त्यसैले आफूसँग आउने सबै प्रकारका ग्राहकलाई सेवा दिन सके कहिल्यै खाली बस्नुपर्दैन । ग्राहकसँग विश्वास लिन सक्नु पनि व्यापारमा ठुलो चुनौति हो । कुनैबेला ग्राहक तपाईँकोमा आउँछन् त्यत्ति नै बेला तपाईँले ग्राहकलाई सबै कुरा दिन सक्नुहुन्न भने समय दिनुहोस् । ग्राहककोमा आफैँ पनि जान सक्नुहुन्छ । तर ढाँट्नु भनेको बेइमानी हो । त्यो ग्राहक तपार्इँकोमा कहिल्यै नआउने मात्र होइन आउन लागेका अरुलाई पनि तपाईँ प्रतिको अविश्वास देखाएर आउन दिँदैन । एउटा ग्राहकलाई धोका दिनु भनेको तपाईँले आफैँलाई धोका दिनु हो । विश्वास जित्ने अर्को अवसर भनेको सेवामुखी काममा हुन्छ । यदि तपाईँ सेवामुखी काम गर्नुहुन्छ भने कामलाई समयमा सक्नुहोस् । कामलाई समयमा सक्नु र गुणस्तरसमेत दिन सक्नुभयो भने त्यो ग्राहक मात्र नभएर त्यसको वरपर भएका छरछिमेकीहरु समेत तपाईँको कामका प्रशंसक बन्नेछन् । भोलि उनीहरुलाई त्यस्तै काम गर्नुपर्यो भने उनीहरुको पहिलो कन्ट्राक्ट तपाईँले नै पाउनुहुनेछ । त्यसो भयो भने तपाईँको व्यापार रफ्तारमा बढ्न सक्छ । सानातिना कमजोरी नगर्नुहोस् अनि ग्राहकलाई अन्डरमाइन्ड पनि गर्नुहुँदैन । त्यो ग्राहकको क्षमता कहाँ कति छ भन्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ ।