इटहरीः सुनसरी र मोरङको सीमा जोड्ने बुढी खोलामा व्यवस्थित घाट बन्न थालेको धेरै भएको छैन । त्यही स्थानमा आफ्नो घाट सिँगार्न व्यस्त थिए इटहरीका सागर बानियाँ ।

उनले यो पर्व मनाउन थालेको १० वर्ष भएको छ । मुसलमान समुुदायले समेत यो पर्वमा सहभागिता जनाउन थालेको देखेपछि उनको छठप्रति प्रेम बढेको थियो । परिवारका सदस्यलाई सँगै लिएर आउने र आफू पनि सहभागी हुने उद्देश्यले उनी बुुढी खोला किनारामा घाट सिँगारिरहेका थिए ।

उनको विचारमा यो पर्व तराई÷मधेसका समुुदाय बीचमात्र रहेन । यसले सबै समुुदायका सांस्कृतिक महत्व बोकेका व्यक्तिबीच विशेष महत्व पाएको छ । ‘विभिन्न धर्मको अलगअलग तर्क रहे पनि यो छठले सबैलाई एकै ठाउँमा ल्याउन सफल भएको छ,’ उनी भन्छन्, ‘विभिन्न धर्मवालम्बीहरू एक हुनुपर्छ भनेर यसले सन्देश पनि दिएको छ ।’

इटहरीकै बद्रीप्रसाद विमलीको पनि छठ साइनो नयाँ भने होइन । वषौँदेखि मनाउँदै आएको छठलाइ व्यवस्थित बुढी गंगाघाटमा मनाउन पाएकोम उनी हर्षित देखिन्थे । प्रदेश पोर्टलसँग कुरा गर्दै विमलीले भने, ‘यहाँ बसोबास गर्ने विभिन्न समुुदायका व्यक्ति छठ मनाउन एउटै घाटमा भेला हुने गर्छन् । अन्य शहरमा झैँ इटहरीमा पनि छठको उत्साह रहेको छ ।’

घाटलाई व्यवस्थित बनाइरहेका उनले छठको अवसरमा लिएको व्रतले आफूलाई फलिफाप भएको बताए ।

त्यस्तै, इटहरीका जीवन घिमिरे छठलाई नेपालको राजनीतिसँग तुलना गर्छन् । छठ पर्वमा यसरी विभिन्न समुुदाय, धर्म संस्कृतिका व्यक्तिहरू मज्जासँग मिलेर पर्व मनाइरहँदा देशका नेता भने मिल्न नसक्नुु दुखद रहेको उनी बताउँछन् ।
घिमिरे भन्छन्, ‘इटहरीको छठले देशभर यो सन्देश दिएको छ कि सबै समुदायका मान्छे मिलेर बसेका छन् ।’

उनले नेपालीका प्रमुख चाडपर्व सीमित व्यक्ति र समुुदायबीच मात्र रहननसक्नुले आपसी मित्रताको धागो बलियोसँग कसिएको सन्देश दिएको बताए । ‘हामीलाई चाहेर पनि कसैले छुुटाउन सक्दैन,’ उनले भने, ‘हामी भित्री आत्मादेखि नै एक अर्काप्रति एकाकार भई सम्मान भाव जागृत गराएर बसेका छौँ ।’

मिश्रित बसोबास रहेको इटहरीमा छठलाई विशेषमहत्वको पर्वका रूपमा लिइन्छ । वर्षौंदेखि छठ मनाइरहेकाहरू यो पर्वलाई भातृत्व विकास र आपसी सम्बन्ध सुदृढ पार्ने उपयुक्त अवसरको रूपमा लिएको बताउँछन् ।

Itahari chhat  (22) pradesh portal

अलगअलग समुुदायका व्यक्ति एकै ठाउँ भेला भएर आपसमा खुशी साट्दा सम्बन्ध प्रगाढ हुने विश्वास सबैको छ । बहुजाति, वेशभुषा र संस्कृति भएको हाम्रो देशमा यस्ता पर्वले अझै सामाजिक सद्भाव फैलिने धेरैको विश्वास रहेको छ ।

बुढी खोला छठ मनाउने ठूलो घाटमध्येको एक हो । यहाँ व्यवस्थित घाट बनाएर छठ पूजा हुन थालेको केही वर्ष मात्र भएको छ । यही व्यवस्थित घाटमा मधेसी मूलका, पहाडी मूलका अनि सबै समुुदायका तीर्थालुु भक्तजन एकै थलोमा छठी माता र सूर्यको पूजा आराधना गर्ने गर्छन् ।