बेलबारीः योगराज कार्की सुन्दरहरैंचा–८ सलकपुरमा आएर बसेको ५० वर्षभन्दा बढी भइसक्यो । उनले छठ पर्व हेर्दै आएको पनि ३० वर्षभन्दा बढी भइसकेको छ ।

२० वर्ष अघिदेखि यो पर्व मनाउन थालेका कार्कीले भने, ‘पहिले मधेसी मूलका मानिसले मात्रै मनाएको चाड अहिले पहाडी मूलका मानिसले पनि मनाउन थाले ।’ सूर्यको पूजा हुने भएकाले सबैले चाड मनाउन थालेको उनी बताउँछन् ।

‘पहिलापहिला २÷४ जना भेला भएर मनाउने गरेका थियौँ, अहिले बजारजस्तै भएर मनाउने गरेका छौँ’ उजारु राजवंशीले भने, ‘छठ पर्वले सबैलाई समान पारेको छ । तर, छठका लागि भनेर महँगा गहरगहना, लुगा र खानेकुराहरू किन्ने विकृत संस्कार पनि भित्रिन थालेको छ ।’ पहिले आफँैले उत्पादन गरेका तथा बनाएका मिठाइ र मिष्ठान्न ल्याएर चढाउने गरे पनि अहिले भने बजारका उत्पादन ल्याएर चढाउन थालेको उनले बताए ।

यस्तै, ग्रामथान–४ का थरेन्द्र रिजालले मधेसी र थारु समुदायको चाड मात्रै नभएर सबैको चाडका रूपमा यो पर्व विकास भएकाले संविधानमा उल्लेख भएको धर्म निरपेक्षताले सार्थकता पाउन थालेको उनले बताए ।

सूर्य सबैका देउता हुन् भनेर ७ औं पटक छठको व्रत बसेको सलकपुरको भुल्केधारा जलाधार क्षेत्रमा आएकी इन्दिरा कार्कीले बताइन् । मनोकांक्षा पूरा होस् भनेर पूजा गर्न आएको पूजा जैसवालले बताइन् ।

मिश्रित बसोबास रहेको सलकपुरमा छठलाई विशेष महत्वको पर्वका रूपमा लिइन्छ । वर्षाैंदेखि छठ मनाइरहेकाहरू यो पर्वलाई भातृत्व विकास र आपसी सम्बन्ध सुदृढ पार्ने उपयुक्त अवसरको रूपमा लिएको बताउँछन् । विभिन्न धर्मलाई छठले एकताको सूत्रमा बाँध्ने व्रतालुको भनाइ छ ।

cheyat 2 cheyat 3 cheyat 7 cheyat 6 cheyat 4