इटहरीः स्वादिष्ट जेरी पुरी र समोसा (सिंगडा) खान इटहरीमा स्थापित हिरा होटल नपुग्ने उपभोक्ता कमै होलान् । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म मात्र नभएर छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट यो होटलमा आई नास्ता खानेहरुको फेहरिस्त निकै लामो छ । ५० वर्षे व्यावसायिक यात्रा पार गरेको यस होटलमा जेरी पुरी र सिंगडा खानका लागि विभिन्न दलका वरिष्ठ नेताहरुसमेत आइसकेका छन् । लामो व्यावसायिक इतिहास बोकेको यो होटलले गत असारमा आफ्नो स्थापनाको ५० औँ वर्ष पार गरेको छ । इटहरीमा यो होटल स्थापना गर्ने सँस्थापक हिरा महतोको भने निधन भइसकेको छ । व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय उनको निधनपछि छोरा प्रकाश महतोले यतिबेला व्यवसायिक विरासत थामिरहेका छन् ।

होटल व्यवसायी संघ इटहरीका उपाध्यक्षसमेत रहेका प्रकाशले समेत आफ्नो व्यावसायिक श्रीवृद्धिसँगै सामाजिक सेवामा स्वर्गीय बुबाकै लय समातेका छन् । २०२८ सालमा उनका बुबा पहिलो पटक भारतबाट आएर सामान्य चिया पसलका रुपमा हिरा होटललाई सुरुवात गरेका थिए । यो होटल कोरोना महामारीले समस्यामा परेपनि हाल व्यवसाय सन्तोषजनक रुपमा चलिरहेको सञ्चालक प्रकाश बताउँछन् । आफ्ना बुबाको आशीर्वाद र उनीबाटै प्राप्त ज्ञानका आधारमा व्यवसाय चलाइरहेको उनको भनाइ छ । बुबाले व्यवसाय चलाउँदा आफूले ध्यान दिनु नपरेकोमा अब भने आफैँ व्यवसाय सञ्चालनका लागि खटिनु परेको प्रकाशले सुनाए । बिहान ३ः५८ मा ब्युँझने प्रकाश नित्यकर्मपछि सामान्य योगाभ्यास तथा पूजापाठ र पितृलाई जल अर्पण गरेर बिहान ५ः०० बजे होटल खोल्छन् । राति ८ः०० बजेसम्म उनी होटल सञ्चालनमै व्यस्त रहन्छन् । रातको १०ः०० बजेपछि मात्र उनले आराम गर्ने मौका पाउँछन् । आफ्ना बुबाले बताएको इतिहास सम्झँदै प्रकाशले २०२८ सालमा हालको आकेश कलेक्सन रहेको स्थानमा बाँसको खम्बा गाडेर टिनको छाना हाली चिया पसल सुरु गरिएको बयान गर्छन् । हाल प्रतिकप २० रुपैयाँ पर्ने चिया २०२८ सालमा प्रतिकप १० पैसामा बिक्री गरेको कुरा सम्झँदा प्रकाशलाई समयले अर्थतन्त्रमा व्यापक परिवर्तन गराएको आभास हुन्छ ।

hira mahato.

तत्कालीन समयमा चुच्चो मुख भएको एउटा ट्रकलाई माथिबाट काठ राखेर धरानदेखि विराटनगरसम्म यात्रु ओसारपसार हुने गरेको र सो बसलाई आराथुन बस नाम दिइएको तथ्य आफ्ना बुबाले आफूलाई बताएको पनि उनले सम्झिए । यस आधारमा तत्कालीन समयमा पनि इटहरीमा यातायातको सामान्य पहुँच भने पुगेको दृश्य देखिन्छ । २०२८ सालमा चिया मात्र बेच्न सुरु गरेकोमा २०३२ सालदेखि भने नास्ता र खानासमेत उपलब्ध गराउन थालेको प्रकाशले बताए । तत्कालीन समयमा ग्राहकका लागि पकाएको खाना स्यालले खाइदिने गरेको घटनाबाट इटहरीको प्रारम्भिक इतिहासमा मानिसको बसोबास कम रहेको छनक मिल्छ । हालको आकेश कलेक्सन रहेको स्थानमा सुरु भएको हिरा होटल २०३१ सालमा हालको ओखलढुङ्गा होटल रहेको स्थनमा सर्यो जसलाई त्यतिबेला भान्जाबाबुको घर भनिन्थ्यो । सो घरका घरधनी भान्जाबाबु श्रेष्ठ हाल अपाङ्ग महासंघमा आबद्ध रहेको पनि प्रकाशले स्मरण गरे ।

२०३१ सालदेखि २०४६ सालसम्म भान्जाबाबु श्रेष्ठकै घरबाट सञ्चालित हिरा होटल सोही वर्ष हाल हिरा होटल रहेको ठाउँमा पनि विस्तार भई दुवै ठाउँमा चल्यो । २०४७ सालदेखि ६ ओटा कोठा र एउटा साझा कोठासहित हाल हिरा होटल रहेकै ठाउँमा इटहरी गेस्ट हाउसका रुपमा सञ्चालनमा आयो । २०६८ सालमा इटहरी गेस्ट हाउसको नाम परिवर्तन गरी हिरा होटल एन्ड लज बनाइयो । २०२८ सालमा स्थापित हिरा होटलले लामो समयको संघर्षपछि २०७२ सालको भूकम्प र नाकाबन्दीको अन्तिम चरणमा शाखा विस्तारसमेत गर्न सफल भयो । हाल १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयनजिकै हिरा होटलको शाखा सञ्चालनमा रहेको छ भने सोही शाखाको पश्चिमपट्टि एक कठ्ठा जग्गामा तेस्रो शाखासमेत विस्तार गर्ने योजना रहेको प्रकाशले रहस्योद्घाटन गरे । सो शाखामा भने मौलिक परिकारहरु माटोको भाँडामा पकाएर पातमा पस्किने उनको योजना रहेको छ । हिरा होटलको ब्रान्ड समोसा, पुरी र मिठाइ रहेको बताउँदै उनले यसैलाई प्राथमिकताका साथ पस्किने उल्लेख गरे ।

prakash mahato2.

प्रकाशका भनाइमा आधुनिकताका नाममा जतिसुकै पिजा, बर्गर खाएपनि आफ्नो सँस्कारले दिएको भोजन नै मान्छेलाई प्यारो हुन्छ । हिरा होटलले नेपाली राजनीतिको नेतृत्व तहमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी नेता सीपी गजुरेल, अभिनेता भुवन केसीजस्ता चर्चित सेलिब्रेटिहरुलाई आफ्नो भान्साको खाना चखाइसकेको छ । डा.भट्टराई संकटकालीन अवस्थामै आफ्नो होटलमा आएको सञ्चालक प्रकाशले बताए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमको आठराईमा मनाइएको जन्मदिनका अवसरमा हिरा होटलबाट नै मिठाई तथा खाजाको डेलिभरी गरिएको समेत उनले जानकारी दिए । पछिल्लो समय इटहरी क्षेत्रमा खुलेका ठूलाठूला सपिङ मल र होटलहरुले पनि आफ्नो व्यवसायलाई कुनै असर नगरेको उनी बताउँछन् । उनका अनुसार हिरा होटलमा अहिले पनि धरान, इनरुवा लगायतका स्थानबाट ग्राहकहरु नियमित आइरहेका छन् । आफ्नो व्यवसाय यसअघि स्थायी लेखा नम्बर (प्यान) मा दर्ता रहेकोमा हाल मुल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गरेको उनी बताउँछन् ।

परिवारमा दुई छोरा र चार छोरी गरी ६ छोराछोरीमध्ये दिदीपछि दोस्रो स्थानमा रहेका प्रकाश आफ्ना बुबा हिरा महतालाई सबै चिजमा मिसिन सक्ने पानीका रुपमा सम्झन्छन् । बच्चादेखि बुढासम्म आफ्ना बुबाको साथी रहेको बताउँदै उनले आफ्ना पिताको नाम कहिल्यै मेटिन नदिने बताए । भारतीय नागरिक हुनुका बावजुद आफ्ना बुबाको नेपालप्रति बढी लगाव रहेको भन्दै उनले भारतको पुख्र्यौली घरमा हृदयाघात भएकोमा त्यहाँको अस्पतालमा भर्ना हुन नमानेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको र मृत्युपछि उनकै चाहनामा इटहरीस्थित गंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको सुनाउँदा प्रकाश भावविह्वल भएका थिए । आफ्ना बुबाको अवसानपछि देशका विभिन्न भागका सर्वसाधारण तथा सरकारका मन्त्रीहरुले समेत समवेदना प्रकट गरेको स्मरण गर्दै प्रकाशले यो नै आफ्ना बाबुप्रति समाजले देखाएको माया भएको बताए ।

12710801_951137148272984_5221819958657771022_o

व्यवसायका अलावा प्रकाश समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । कोरोना महामारीबाट पीडित नागरिकलाई निःशुल्क तयारी खाना तथा कच्चा खाद्यान्न सामग्रीका साथै ग्याससमेत उपलब्ध गराएर सहयोग गरेका प्रकाश आफूकहाँ आश लिएर आउने कसैलाई पनि निराश नपार्ने बताउँछन् । प्रकाश हालसालै होटल व्यवसायी संघ इटहरीको उपाध्यक्षका रुपमा निर्वाचितसमेत भएका छन् । उपाध्यक्षका रुपमा जिम्मेवारी पाएलगत्तै आफूले सम्पूर्ण होटल व्यवसायीका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउन पहल गरेको र सोही अनुरुप सरकारले खोपको व्यवस्था गरिदिएको उनले उल्लेख गरे । व्यवसायीले खुल्ला रुपमा व्यवसाय सञ्चालन गर्न पाउने वातावरण निर्माणका लागि आफू लागिपर्ने बताउँदै उनले कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गर्नसमेत आफूले भूमिका खेल्ने प्रष्ट पारे । कक्षा ८ देखि नै स्वतन्त्र राजनीतिमा लागेका प्रकाश आफ्ना बुबा र हजुरबुबाको पथ पछ्याउँदै हाल नेपाली कांग्रेससँग आबद्ध रहेका छन् । उनी इटहरी नगर कमिटि सदस्यका रुपमा सक्रिय छन् ।

भारतको वेस्टर्न इन्टरनेसनल युनिभर्सिटीबाट मार्केटिङ विषयमा एमबीए अध्ययन गरेका प्रकाशले भारतकै इन्धिरा गान्धी खुला विश्वविद्यालयबाट पनि फाइनान्स विषयमा एमबीए पूरा गरेका छन् । धर्ममा अगाध आस्था राख्ने प्रकाश प्रायः मन्दिर गइरहन्छन् । औपचारिक पोसाकमा सजिन मन पराउने प्रकाशलाई कुर्ता पैजामा पनि मनपर्छ । सादा जीवन यापन गर्ने उनी गुन्द्रुक, ढेडोजस्ता साधारण खाना खान रुचाउँछन् । फुर्सदको समयमा आयुर्वेदसम्बन्धी पुस्तक पढ्ने उनी पहाडी क्षेत्रमा घुम्न मन पराउँछन् । धनकुटाको भेडेटार तथा हिले उनको मनपर्ने पर्यटकीय गन्तव्य हो ।

227987561_306800414468346_7704418377245248075_n