इटहरीः वारुणयन्त्र संवेदनशील क्षेत्र भए पनि प्रविधिको प्रयोग नहुँदा दमकल र पानी बोक्ने ट्याङ्करमा खासै फरक देखिन छाडेको छ । आम जनताले पनि दमकल भन्नेबित्तिकै पानी बोक्ने ट्याङ्करको रूपमा बुझ्न थालेका छन् । दमकलमा आगोसँग लड्न पानी मात्र होइन आवश्यक अन्य सुरक्षा पनि हुन आवश्यक मानिन्छ ।

आगोसँग जुध्न आवश्यक पर्ने सामान दमकलमा अनिवार्य हुनुपर्ने हो । अत्यावश्यक साधनजस्तै दमकलमा सबै किसिमका सेवा हुनु आवश्यक पनि छ । तर इटहरी लगायत दमकल भएका अधिकांश अन्य स्थानीय सरकारसँग दमकलका लागि आवश्यक साधन छैनन् ।

इटहरी चोकमा एक साता अघि लागेको आगलागी नियन्त्रणमा पनि दमकलकै उपकरणका कारण ढिलाइ भएको स्थानीय बताउँछन् । आगो लागेको ठाउँमा पानी फ्याँक्ने पाइप धेरै ठाउँ च्यातिएकाले पनि आगलागी नियन्त्रणमा असहजता थपियो ।

पूर्वका सबै दमकलमा छैन प्रविधि
दमकलको समस्या इटहरीको मात्रै होइन । पूर्वका अधिकांश दमकलको अवस्था एउटै छ ।

दमकल भएका स्थानीय तहमा सुरक्षा उपकरणको नाममा अझै पनि बेल्चा र हतौडा मात्रै छन् । सुरक्षासँग सम्बन्धित दमकलसँग फायर फाइटिङका उपकरण कुनै पनि दमकलमा छैनन् ।

‘सुरक्षाको कुरा त के गर्नु सर, एउटा पाएप पनि १०–१२ ठाउँमा च्यातिएको छ’, इटहरी का एक फायरमेनले भने, ‘पानी फ्याल्ने पाएप त राम्रो छैन कहाँबाट पाउनु अरु सुरक्षाको समान त ?’ उनका अनुसार आगलागीको खबर आउँदा दमकलमा ४ जना घटनास्थलतिर जान्छन् ।

उनी भन्छन्, ‘हामीसँग न राम्रो भर्याङ हुन्छ न त फोर्समा पानि फ्याल्ने मेसिन नै’, इनरुवाको दमकल शाखाका एक कर्मचारी भन्छन्, ‘हथौडा र बेल्चा चैँ अस्ति कुन संस्थाले दिएको हो थाहा भएन ।’

विपदमा औपचारिक संवाद कसैको छैन
वार्षिक एउटै स्थानीय तहमा करोडौं क्षति गर्ने गरेको आगलागी घटनाको विषयमा कुनै पनि आधिकारिक फोरममा नियन्त्रणको संवाद हुन सकेको छैन । सामान्य लगानीमा निकै ठूलो रकम जोगाउन सकिने विषयमा स्थानीय तहमा सम्बन्धितसँग अहिलेसम्म पनि संवाद भएका छैनन् । सामान्य उपभोक्ता समितिको गठनको विषयमा ठूलो संवाद हुने स्थानीय तहमा विपद प्रतिकार्यको विषयमा कुनै छलफल नै हुँदैनन् ।