इटहरीः २०७० सालमा नेपाली काङ्गे्रस परित्याग गरेका बाबुराजा ओझा पुन काङ्ग्रेसमै फर्किएका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर ४ का उमेद्वार बनेका ओझा काङ्ग्रेसमा फर्किएका हुन् ।

संविधान सभा चुनाव टिकटको लागि आफ्नो निर्वाचन क्षेत्रबाट आफू सर्वसम्मत सिफारिश भए पनि पार्टीले महेश आचार्यलाई टिकट दिएको भन्दै उनले पार्टी परित्याग गरेका थिए । काङ्गे्रस पार्टी त्यागेपछि उनले माओवादी केन्द्रबाट टिकट पाएका थिए । चुनावमा भने उनी महेश आचार्यसँग पराजित भएका थिए ।

जीपी कोइराला फाउण्डेशन प्रदेश नं १ ले आयोजना गरको एक कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री डा. सशाङ्क कोइराला र सुजाता कोइरालाले अबिर र मालाले ओझाको स्वागत गरेका हुन् । पछिल्लो समय उनी नेपाली काङ्ग्रेसको विभिन्न कार्यक्रममा सक्रिय रहँदै आएका थिए । उनको काङ्ग्रेस पुनरागमनको लागि विभिन्न कारणले काम गरेको बुझिन्छ, तीमध्ये केही कारण यस्ता छन्ः

१. काङ्ग्रेस नेताहरूको लबिङ
उनी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुमा नेपाली काङ्ग्रेसकै नेताको भूमिका महत्वपूर्ण देख्न सकिन्छ । प्रदेश नम्बर १ का नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की यसको मुख्य भूमिकामा छन् । ओझा र डा. कोइरालाबीचको संवादको सेतुको रूपमा उनले काम गरेको पाइन्छ ।

त्यस्तै, बीपी अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझा पनि त्यसको भागीदार हुन् । रञ्जनले आफ्नै निवासमै बोलाएर बारम्बार काङ्ग्रेस नेताहरूको छलफल गराएका थिए । औपचारिक तथा अनौपचारिक रूपमा रञ्जन ओझा र केदार कार्कीबीच भएका भेटघाटमा बाबुराजालाई काङ्ग्रेसमा फिर्ता बोलाउने तयारी भएको थियो । त्यसैको परिणामस्वरूप केन्द्रीय नेतृत्वसमक्ष उनको नाम पुग्यो । डा. शेखर कोइरालाको बाक्लिँदो जिल्ला भ्रमणले पनि उनको काङ्ग्रेस पुनरागमनमा टेवा पुगेको देखिन्छ ।

२. कार्यकर्ताको दबाब
ओझाले नेपाली काङ्ग्रेस परित्याग गरे पनि उनी पक्षधरका कार्यकर्ता काङ्ग्रेसमै बसेका थिए । १२ आँै महाधिवेशनबाट अत्यधिक बहुमतका साथ जिल्ला सचिवमा निर्वाचित भएका उनको पार्टीभित्र छुट्टै बोलाबाला थियो । पार्टी छाडे पनि काङ्ग्रेसभित्रको उनको लोकप्रियताले काङ्ग्रेसको आन्तरिक राजनीतिमा उनी सदैव हाबी भइरहे ।
भित्रबाट राजनीतिक सक्रियता देखाउन मन नपराउने ओझाको लागि बाहिर देखिने अवस्था थिएन । त्यसले कार्यकर्तामा र उनी आफैँलाई उकुसमुकुस बनायो । पछिल्लो समय काङ्ग्रेस प्रतिपक्षमा भएको र सङ्गठन सुदृढीकरण गर्नुपर्ने अवस्था रहेकाले कार्यकर्ताको स्तरबाट उनलाई बारम्बार काङ्ग्रेसमा फिर्ता आउन दबाव परेको थियो ।

३.माओवादीप्रतिको असन्तुष्टि
काङ्ग्रेस परित्याग गर्नेबित्तिकै माओवादी केन्द्रबाट टिकट पाएका उनका लागि काङ्ग्रेस छाड्नु फाइदाजनक देखियो । तर उनी समर्थित युवाको समूह नेपाली काङ्ग्रेसमै थियो । तत्कालीन माओवादीमा उनको पक्षमा कम कार्यकर्ता देखिए । निर्वाचनमा पराजित भएपछि माओवादी पार्टीले पनि उनको कुनै मतलब राखेन । जसले गर्दा उनमा माओवादी विरोधी भावना विकास भयो । माओवादीभित्रको असन्तुष्टि र काङ्ग्रेसभित्रको बढ्दो मागले एकै पटक काम गरेपछि उनी काङ्ग्रेसमा फिर्ता भएका हुन् ।

४. निर्वाचनको तयारी
नेपाली काङ्ग्रेसमा टिकट वितरण शैली गलत भएको भन्दै पार्टी परित्याग गरेका उनी आगामी निर्वाचको तयारीको लागि पनि काङ्ग्रेस फिर्ता भएको बुझिन्छ । आगामी प्रदेश सभा वा स्थानीय तहमा उम्मेद्वारी बन्न सक्नेले धेरैले आँकलन गरेका छन् । पार्टी परित्याग नगरेको खण्डमा विराटनगर महानगरको मेयरकै रूपमा उनको नाम सिफारीश हुने अवस्थामा उनी थिए । सक्रिय पदमा बसेर काम गर्न रुचाउने नेताको रूपमा परिचित ओझाको काङ्ग्रेस पुनरागमनलाई आगामी निर्वाचनको तयारीको रूपमा हेरिएको छ ।
पार्टी प्रवेश गरेलगत्तै उनले काङ्ग्रेसले मात्र देशको नेतृत्व गर्न सक्ने बताए । कोइरालाकै नेतृत्वमा पार्टी अगाडि बढ्न सक्ने र त्यसको लागि आफू जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको उनको भनाइ थियो ।