इटहरी: चुनावताका आफ्नो पक्षमा भोट ल्याउन इटहरीको बाढीलाई व्यवस्थित बनाउने सपना देखाएर स्थानीय सरकारको नेतृत्व लिएका इटहरी उपमहानरपालिकाका मेयर र उपमेयरका कार्यकाल सकिने समयमा बेमौसमी बाढीले पाँच वर्षे विकासलाई छताछुल्ल पारिदिएको छ ।
बाढीले शहर र व्यापारव्यवसायसहित सबै इटहरीवासीलाई आक्रान्त पारिरहँदा मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम पहिलाकै चुनावी घोषणापत्र लिएर फेरि भोट माग्ने तरखरमा छन् । नयाँ संविधान जारी भएपछि निर्वाचित भएको पहिलो शक्तिशाली स्थानीय सरकारको नेतृत्व गर्न पाएका दुवै नेतासँग इटहरीले गरेको अपेक्षा धेरै सपना सपनामै सीमित हुने भएका छन् । चुनावी मैदानमा उत्रिएका बेला तमाम समस्याको समाधान सूर्य चिन्हमा मतदान भन्दै भोट मागेको नेकपा एमालेले चुनावी घोषणाको पहिलो नम्बरमै गरेको प्रतिबद्धता भने आयु सकिन लाग्दासम्म पूरा गरेको छैन । आफ्नो कार्यकाल सक्नै लाग्दा पनि बाढीको व्यवस्थापनमा देखिने खालको कुनै काम इटहरीको निर्वाचित सरकारले गरेको देखिँदैन । इटहरीलाई बारम्बार आउने बाढीले अत्याउने गरेको छ । हरेक वर्षामासमा इटहरीवासी अब कहाँबाट डुबाउने हो भन्दै त्राहित्राही जीवन बाँच्न बाध्य भएका छन् ।
त्यो बाढीलाई सुरक्षित तरिकाले कसरी नियन्त्रण गर्न सकिन्छ र सुरक्षित ढल निकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा सर्वपक्षीय छलफल मात्र पनि भएको पाइँदैन । पाँच वर्षे कार्यकालमा खोला र खोल्सामा भएका बस्तीको व्यवस्थापनमा पनि उपमहानगरपालिकाको नेतृत्व बारम्बार चुकेको देखिन्छ । कुनै बेला खोला र सरकारी बाटो मिच्नेका विरुद्धमा डोजर लिएर निस्केका इटहरीका मेयर चौधरीले प्रभावशाली व्यापारीको संरचनामा भने अहिलेसम्म हात हाल्न सकेका छैनन् । विभिन्न बहानामा आफ्ना विरोधीहरुको संरचनामा सरकारी जग्गा छुटाउन भन्दै डोजर लिएर हिँड्ने उपमहानगरपालिकाका मेयर चौधरीले ठूला व्यापारी र प्रभावशाली व्यक्तिहरुले मिचेको सरकारी जग्गामा भने अहिलेसम्म डोजर लिएर हिड्ने आँट गर्न सकेका छैनन् । बोलीमा बारम्बार चुकेका चौधरीले बारम्बार महिला कर्मचारी र महिला सेवाग्राहीलाई अपशव्द बोलेर चर्चामा आइरहे पनि विकासका सवालमा आफ्नो दुनो सोझ्याउन मात्र लागिपरेको प्रतिक्रिया बजारमा आइरहन्छ ।
स्थानीय सरकारले राजमार्गमा भएका कल्भर्टहरुलाई खोल्ने कुनै पहल गरेको देखिँदैन । त्यसो त आफ्नो चुनावी घोषणापत्रको पहिलो नम्बर नै इटहरी डुबान समस्याको समाधान र फोहोरमैलाको व्यवस्थापनको नारा लिएको नेपाल कम्युनिस्ट पार्टी एमालेकै मेयर र उपमेयर हाम्रो शहर इटहरीमा छन् । तर उनीहरुको पाँच वर्षे कार्यकाल सकिन लाग्दा पनि इटहरी डुवानको समस्या जहाँको त्यहीँ छ ।
ढल निकास र बाढी नियन्त्रणका कुरा त परै राखौँ, राजमार्गमा भएका कल्भर्टहरु बन्दको बन्दै छन् । त्यसलाई खोल्न अहिलेसम्म कुनै पहल भएको देखिँदैन । ठूलो प्रकृतिको पानी पर्नासाथ र बाढी बढ्नासाथ इटहरीको पूर्व पश्चिम राजमार्गभन्दा उत्तरतर्फको भूभाग (आइतबारे, जनता बस्ती ,पचरूखीदेखि बालग्रामसम्म) डुबान हुनुको मुख्य कारण राजमार्गमा भएका कल्भर्टहरू पुरेर अतिक्रमण गर्नु नै हो ।
नयाँ संरचना निर्माण तथा रोडको स्तरोन्नति गर्दा पुराना कल्भर्टलाई फालिने तथा व्यवस्थित नगर्ने परिपाटीले प्राकृतिक रुपमा बग्न ेगरेको पानी अव्यवस्थित भई बस्तीमा पस्ने गरेको छ । फलस्वरुप इटहरीका बासिन्दा र व्यवसायीले वर्षेनी डुबानको पीडा भोग्नु परिरहेको छ । त्यसो त प्रमुख प्रतिपक्षीको भूमिका खेलिरहेको नेपाली कांग्रेसले पनि चुनावी घोषणापत्रमा आफूहरुको प्राथमिकता इटहरीको बाढी नियन्त्रण रहेको बताएको थियो । आज ती प्राथमिकताहरु कता गए भन्ने कुरा कांग्रेसले बिर्सिसकेको जस्तो देखिन्छ ।
जबकि इटहरीमा कांग्रेस अझै पनि प्रतिपक्षकै भूमिकामा रहेको छ । इटहरीलाई बाढीबाट जोगाउनको लागि इटहरी चौकदेखि बालग्रामसम्म ३ किलोमिटरमा फैलिएको र मासिएका मुख्य खोल्नैपर्ने कल्भर्टरहरु छन् । त्यसप्रति स्थानीय सरकारको ध्यान गएको देखिँदैन । यसरी खोलिनैपर्ने कल्भर्टहरुमा पिसजोन स्कुल जाने बाटो छेउबाट बग्ने कल्भर्ट, पश्चिम म्याजिक स्टेन्ड नजिक रहेको नेपाल टेलिकम रोड जाने बाटोको कल्भर्ट, विकास हार्डवेयर अगाडिबाट बग्ने कल्भर्ट, रिजालटाँसी इन्डष्ट्रिजको मुख्य गेटनजिकै रहेको कल्भर्ट, जनता बस्ती जाने बाटोको छेउबाट बग्ने कल्भर्ट, महेन्द्र प्रेट्रोल पम्पको पूर्वी छेउबाट बग्ने कल्भर्ट खोल्न जरुरी भएको विज्ञहरुको भनाइ छ । त्यसैगरी निम्तो होटल अगाडिको कल्भर्ट, खाद्यगोदामनजिकै रहेको कल्भर्ट, डेढ घरिया कल्भर्ट, राजन अधिकारी मार्ग जाने बाटो छेउको कल्भर्ट पनि खोल्नैपर्ने कल्भर्टमा पर्छन् ।
यसैगरी, पचरुखी गाउँ जाने बाटोछेउमै रहेको कल्भर्ट, बराह हार्डवेयर अगाडिको कल्भर्टलाई सुचारु गर्न सके राजमार्गको सतहभन्दा तलै पानी बग्ने र बस्तीमा पानी नपस्ने विज्ञको भनाइ छ । राजमार्गको सतहमा पानी नआएपछि बस्ती र व्यवसायलाई असर गर्दैन । भाषण र घोषणामा सीमित रहेका स्थानीय नेताले विकासको यो मार्गलाई पछ्याउन सके इटहरीको सुन्दरता र सभ्य शहर निर्माणमा इटा थपिने पक्का छ । आफ्नो कार्यकाल सक्न केही महिना मात्र बाँकी रहेका बेला मेयर चौधरीले समेत विकासका यी सुत्रलाई केही मात्र भएपनि सुरुवात गरे इटहरीका जनतालाई राहत हुने थियो ।