सङ्खुवासभाः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ । सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्याललयका शिक्षक  राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। 


मादकपदार्थ सेवन गरेर जीवनज्योति माविका शिक्षक राईमाथि खुकुरी प्रहार भएको प्रहरी निरीक्षक लामिछानेले बताए । खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शिक्षकमाथि मादकपदार्थ सेवन गरेका  सुरेन्द्र राई र एक नाबालक (अमिर राई) ले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताए । 


गम्भीर घाइते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि  विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी निरीक्षक लामिछानेले बताए । 


घटनालगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकमा खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।  रासस