विराटनगरः मोरङमा स्थानीय पूर्वाधार विकास साझेदारीका लागि सङ्घीय प्रतिनिधिसभाका सांसदमार्फत् ९८ वटा योजनामा २४ करोड रुपैयाँ बजेट खर्च हुने भएको छ ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदले भौतिक पूर्वाधार विकासमा सडकलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अधिकृत सरोजकुमार गौतमका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा सडक प्राथमिकतामा छन् ।
क्षेत्र नम्बर १ मा सबै स्थानीय तहमा बराबर रकम
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले ४ करोड रुपैयाँ सडक र भवन निर्माणका लागि छुट्याएका छन् । आफ्नो निर्वाचन क्षेत्रका ४ वटा स्थानीय तहलाई एक÷एक करोड रुपैयाँ बजेट बाँडिएको छ । जसअनुसार मिक्लाजुङ गाउँपालिकामा ५, केराबारी गाउँपालिकामा ५, उर्लाबारी नगरपालिकामा ५ र लेटाङ नगरपालिकामा ४ वटा योजना रहेका छन् ।
क्षेत्र नम्बर २ मा १० वटा योजना
क्षेत्र नम्बर २ का सांसद डा. मीनेन्द्र रिजालले १० वटा योजनामार्फत् बजेट विनियोजन गरेका छन् । रतुवामाइमा २, सुनवर्षीमा २, रङ्गेलीमा २, पथरीमा १ र कानेपोखरीमा ३ वटा योजनालाई बजेट छुट्याएका छन् ।
क्षेत्र नम्बर ३ का अधिकांश योजना सडक निर्माणमा
क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले २० वटा योजना छनोट गरेका छन् । पथरी नगरपालिकामा ३ वटा योजनामा १ करोड १० लाख, कानेपोखरीको गाउँपालिकाका ३ वटा योजनामा १ करोड, सुन्दरहरंैचा नगरपालिकाका ६ वटा योजनाका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । सांसद ढकालको क्षेत्रमा अधिकांश बजेट सडक निर्माणका लागि छन् ।
सुकुम्बासीका लागि आवासमा रकम विनियोजन
यसैगरी, क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले सुकुम्बासीको आवाससहित १९ वटा योजनामा बजेट विनियोजन गरेका छन् । यस निर्वाचन क्षेत्रमा सुकुम्बासीहरूको आवास निर्माणदेखि सडक र ज्येष्ठ नागरिक सामुुदायिक भवन निर्माणसम्मलाई बजेट छुट्याइएको छ ।
क्षेत्र नम्बर ५ मा १७ योजना
यसैगरी, सांसद शिवकुमार मण्डलको क्षेत्र नम्बर ५ मा १७ योजना छनोटमा परेका छन् । जसमा रङ्गेली नगरपालिकामा ४, जहदा गाउँपालिकामा १० र विराटनगर महानगरपालिकामा ३ वटा योजनाका लागि रकम विनियोजन गरिएको छ ।
पण्डितको क्षेत्रमा १८ योजना
त्यस्तै, लालबाबु पण्डितको निर्वाचन क्षेत्र नम्बर ६ मा १८ वटा योजनाका लागि बजेट छुट्याइएको छ । जसमध्ये बुढीगंगा गाउँपालिकामा ४, सुन्दरहरैंचा नगरपालिकामा ६ र विराटनगर महानगरपालिकामा ८ वटा योजनाका लागि बजेट छुट्याइएको छ ।
छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिका छन् ।