इटहरी/ साँझ ८ बजे नै बन्द हुने इटहरीमा रात्रिबजार लगाउन स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । रात्रिबजारको व्यवस्थापनको लागि इटहरीले आगामी आर्थिक वर्षमा ४० लाख रुपैयाँसमेत विनियोजन गरेको छ । आइतबार इटहरी उपमहानगरले ल्याएको बजेट तथा कार्यक्रममा रात्रिबजारको कुरा आएपछि व्यवसायीहरू खुसी भएका छन् । इटहरीका विभिन्न व्यवसायीले रात्रिबजार इटहरीको आवश्यकता भएको भन्दै यसको तत्काल उचित स्थानमा कार्यान्वयन गर्न माग गरेका छन् ।
इटहरी बजारको धरान लाइनस्थित आइतबारे रोडदेखि टेलिकम लाइनसम्म रात्रिबजार लगाउने प्रस्ताव आएको उपममेयर लक्ष्मी गौतम बताउँछिन् । उक्त क्षेत्र सुरक्षा र बजारको सुगमता दुवै कोणमा राम्रो भएको भनेर धेरै प्रस्ताव आएको उनले बताइन् ।
पूर्वपश्चिम र उत्तरदक्षिण राजमार्गको चौरस्ता इटहरीमा रात्रिबजारको माग लामो समयदेखि भए पनि सञ्चालन भएको थिएन । उद्योग वाणिज्य संघ इटहरीले पनि रात्रिबजार लगाउने विषयमा छलफल अगाडि बढाएको थियो । तर, प्रहरीको ‘असहयोग’को कारण कार्यक्रम सफल नभएको उवासंघका नेताहरूले बताउँदै आएका छन् ।
हाल अधिकारसम्पन्न स्थानीय तह आएपछि रात्रिबजार लगाउने विषयमा नीति र बजेट नै आएकाले व्यवसायीहरू उत्साहित भएका हुन् । इटहरी उपमहानगरले चासो दिएर समन्वय गरेको अवस्थामा रात्रिबजारको राम्रो भविष्य रहेको धेरै व्यवसायीको भनाइ छ ।
‘रात्रिबजार भए व्यवसाय उठ्छ’
इटहरीमा रात्रिबजार बनेको अवस्थामा यहाँको व्यापारिक चहलपहलमा वृद्धि हुने व्यवसायी तथा गीतकार भाइसन बर्देवा बताउँछन् । इटहरी प्रदेश १ कै केन्द्रमा रहेको उपमहानगर भएकाले कुनै खास क्षेत्रमा रात्रिबजार लगाएको अवस्थामा सञ्चालन हुने उनी बताउँछन् ।
इटहरीका चर्चित पर्यटन व्यवसायी रविन गौतम इटहरीमा न्युरोडको जस्तो रात्रिकालीन बजार आवश्यक भएको बताउँछन् । सामान्य घरेलु किनमेलदेखि दैनिक अत्यावश्यक सामग्रीहरू समेटेर रात्रिबजार लगाएमा सफल हुने गौतम बताउँछन् । भन्छन्, ‘एउटा पूर्ण शहर हुन रात्रिबजार आवश्यक छ र इटहरीमा यसको व्यापक माग पनि छ ।’
उद्योग वाणिज्य संघ इटहरीकी नेतृ रन्जु सिग्देल इटहरीमा रात्रिबजार भएमा सबैलाई सहज हुने बताउँछिन् । बेलुकासम्म पसल सञ्चालन गर्नेलाई पनि रात्रिबजार भएको अवस्थामा किनमेल गर्न र टहलिन सहज हुने सिग्देलको तर्क छ । उनी भन्छिन्, ‘मैले पनि पसल बन्द गरेर घरायसी सामान किन्न र केटाकेटीलाई नास्ता खुवाउन खोज्दा बजार बन्द भइसकेको हुन्छ । रात्रिबजार बन्यो भने यो कुरा सहज हुन्थ्यो ।’
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली राजधानी जाने र आउने तथा अन्य रुटका गाडी रातिसम्म सञ्चालन हुनाले रात्रिबजार आवश्यक देखिएको बताउँछन् । भन्छन्, ‘इटहरीको सुगमता र आवश्यकताको कारणले यहाँ रात्रिबजार सञ्चालनको अत्यावश्यकता छ ।’
पराजुलीको जस्तै तर्क छ उद्योग वाणिज्य संघ इटहरीका नेता दिवस पोखरेलको । पोखरेल इटहरीमा निरन्तर बिजुली हुँदा र विभिन्न व्यापारिक स्टलहरू राखिएको अवस्थामा रात्रिबजार चल्ने बताउँछन् ।
ड्राइभिङ स्कुल सञ्चालक बाबुराम प्रधान इटहरीमा रात्रिकालीन बजार राम्रो लोकेसनमा लगाएको अवस्थामा चल्ने बताउँछन् । सहरको माग भएकाले पनि रात्रिबजार चलाउन स्थनीय सरकारले पहल गर्नु र बजेट नै विनियोजन गर्नुले राम्रो संकेत दिएको प्रधानको तर्क छ ।
प्रहरी बाधक बन्नु हुँदैन ः व्यवसायी
स्थानीय सरकारले रात्रिबजारको लागि नीति बनाएर बजेट नै विनियोजन गरे पनि कार्यान्वयन हुनेमा भने व्यापारी विश्वस्त छैनन् । उवासंघ इटहरीका पोखरेल भन्छन्, ‘इटहरी खुला दिसामुक्त तथा प्लास्टिक झोलामुक्त भनिए पनि र सडकमा सवारीबाट फोहोर फाल्न नहुने नियम बनाए पनि लागू भएन ।’ आफूहरूले पटकपटक रात्रिबजारको कुरा उठाए पनि कार्यान्वयनमा समस्या भएको पोखरेलको भनाइ छ ।
इटहरीमा बजार कतिबेला खोल्ने र बन्द गर्ने भन्नेमा प्रहरीले अफूखुशी नियम बनाउने भएकाले समस्या हुने पोखरेल बताउँछन् । उनी भन्छन्, ‘डिएसपी विनोद शर्माले २४ घन्टै बजार खुलाए पनि सुरक्षा दिन सक्छु भनेका थिए । बजार पनि खुलेको थियो । तर, उनीपछि त्यो अवस्था रहेन ।’ शर्मापछि आएका इटहरीका प्रहरी प्रमुखले सुरक्षा दिन असमर्थता देखाएकाले रात्रिबजार सञ्चालनमा शंका रहेको पोखरेल बताउँछन् ।
रात्रिबजार भनेपछि बजार क्षेत्रमा हरपल बिजुलीको व्यवस्था हुनुपर्ने पोखरेल बताउँछन् । भन्छन्, ‘रात्रिबजार भन्नासाथ हामी अँध्यारो सम्झन्छौँ । तर, लाइन गए पनि निरन्तर राम्रो लाइट भएको अवस्थामा बजार सहज सञ्चालन हुनेछ ।’
व्यवसायी प्रधान पनि उचित सुरक्षाको प्रत्याभूति नभएमा रात्रिबजार नै अपराधको अखडा हुन सक्ने बताउँछन् । इलाका प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले समन्वय गरेर सुरक्षा दिएको अवस्थामा इटहरीको रात्रिबजार धेरै सहज र सुरक्षित हुने प्रधान बताउँछन् ।
उवासंघ नेतृ सिग्देल मदिरा बिक्री नगर्ने, सिसि टिभीबाट पर्याप्त निगरानी हुने र निरन्तर सुरक्षा प्रहरीले दिएको अवस्थामा रात्रिबजार चल्ने बताउँछिन् । तर, विभिन्न बहानामा असुरक्षाको कारण देखाएर रात्रिबजार सञ्चालनमा अवरोध हुन नहुने सिग्देलको भनाइ छ ।
होटल व्यवसायी संघका पराजुली पनि इटहरीमा ठुलै आतंककारी वा अन्य कुनै सुरक्षा थ्रेट नभएको भन्दै रात्रिबजार लगाउन प्रहरीले सहयोग गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘हरेक क्षेत्रमा समस्या छ र समाधान पनि छ । इटहरीमा रात्रिबजार लगाउन स्थानीय सरकार, सर्वसाधारण र व्यापारीहरू तयार छन्, प्रहरी पनि तयार हुनुपर्छ ।’
इटहरीमै हुने विभिन्न महोत्सव तथा रात्रीकालीन खेल प्रतियोगितामा कुनै सुरक्षा थे्रट नभएको उदाहरण दिँदै पराजुली इटहरीमा रात्रिबजार लगाउन कुनै समस्या नहुने बताउँछन् । इटहरी सबैभन्दा सुरक्षित भएको तर्क दिँदै पराजुली भन्छन्, ‘चोकमा इलाका प्रहरी छ, पश्चिममा प्रदेशको सशस्त्र प्रहरीको मुख्यालय छ र उत्तरमा प्रदेशको आर्मीको मुख्य कार्यालय छ । अनि इटहरी कसरी असुरक्षित छ ?’