इटहरी: धनकुटा नगरपालिकाले नेपालमै दोस्रो पटक धनकुटामा आगामी मङ्सिर ४ र ५ गते एभोकाडो महोत्सवको आयोजना गर्दैछ । अत्यन्तै पौष्टिक र अन्त्यन्तै स्वास्थ्यवद्र्धक फल एभोकाडोको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले बताएको छ । धनकुटामा ठूलो मात्रामा एभोकाडोको व्यावसायिक खेति बढिरहेकाले एभोकाडोको महोत्सव गर्न धनकुटा नगरपालिका आफैँ लागिपरेको छ । पहिलो महोत्सवमा आफैँ मुख्य भूमिकामा देखिएको नगरपालिकाले यसपालि भने एभोकाडो किसान समूहलाई मुख्य भूमिका दिएर आफू भने सह आयोजकको भूमिकामा देखिँदैछ ।

avocado-mhotsab-7

यस्तो छ धनकुटाको एभोकाडो कथा
सुन्तला, मुन्तला र जुनारको उत्पादनमा अग्रणी भूमिका निर्वाह गरिरहेको धनकुटामा त्यसको उत्पादनमा ह्रास आउन थालेपछि एभोकाडोको प्रवद्र्धनमा लागेको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग बताउँछन् । एभोकाडोको राजधानी भनेर नेपालभर परिचित धनकुटामा अहिले व्यावसायिक रुपमा एभोकाडोको खेति गर्ने किसानको लहर नै छ । “पछिल्लो समयमा धनकुटामा सुन्तलाका बोट मर्न थाले, सुन्तलाको व्यावसायिक उत्पादन घट्न थाल्यो । त्यही भएर केहि नयाँ गरौँ भन्ने हिसाबले एभोकाडोलाई विकल्पको रुपमा लिएर अगाडि बढ्यौँ ” धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ भन्छन् ।

धनकुटाको पहिचान र मुख्य व्यवसाय बनेको सुन्तलाकै व्यवसायमा समस्या भएपछि मेयर तामाङ धनकुटामा एभोकाडो र ड्रागन फलको खेतिलाई व्यावसायिक बनाउने योजनासहित अघि बढेका रहेछन् । धनकुटाको पाख्रिबासस्थित पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा रहेका एभोकाडोका बिरुवा सङ्कलन गरेर किसानहरूलाई त्यसको उत्पादनमा हौसाएको मेयर तामाङ्ग बताउँछन् । अहिले भने उनको सपना एभोकाडोले पूरा गर्न लाग्दैछ । हुनै लागेको दोस्रो एभोकाडो महोत्सवको बारेमा धनकुटा नगरपालिकाका पर्यटन विभागका विकास अधिकारीको सहयोगमा हामीले त्यहाँका मेयर चिन्तन तामाङ्गसँग कुरा गरेका छौँ । त्यही अन्तरवार्ताको सानो अंश यहाँ प्रस्तुत गरिएको छ ।

धनकुटामा एभोकाडोको इतिहास कस्तो छ ?
धनकुटामा एभोकाडो भित्राएको भनेको बृटिसहरुले हो । पछि केही स्थानीयले सोखको लागि एकादुई बिरुवा रोप्न थाले । पछि हामी जननिर्वाचित भएर आएपछि केहि नयाँ गरौँ भन्ने भयो । एभोकाडोको सम्भावना पनि अध्ययन गर्यौँ अनि पाख्रिबासमा रहेको कृषि केन्द्रबाट तिनै बिरुवा ल्याएर एभोकाडोको व्यावसायिक खेतितर्फ अगाडि बढ्यौँ ।

एभोकाडो महोत्सव नै गर्ने आइडियाचाँहि कसरी आयो त ?
व्यावसायिक खेति सुरु भएपछि उत्पादन बढ्न थाल्यो । उत्पादनलाई बजारीकरण गर्नका लागि किसानलाई सहयोग गर्न त्यसको प्रचारप्रसार गर्न महोत्सव गरौँे भन्ने भयो । त्यसो हुदाँ नयाँ पनि भयो । पहिलो महोत्सवको सफलतापछि अहिले दोस्रो महोत्सवको तयारी गरिरहेका छौँ ।

पहिलो एभोकाडो महोत्सवबाट कस्ता फाइदाहरु भए ?
हामीले आयोजना गरेको पहिलो एभोकाडो महोत्सवबाट महत्वपूर्ण फाइदाहरु भए । धनकुटाको एभोकाडो भनेर ब्राण्डकै रुपमा विश्वभर प्रचारप्रसार भयो । जसले गर्दा धनकुटा भन्नेबित्तिकै एभोकाडोको शहर भन्नेमा चिनियो । बजारीकरणको सम्भावनाहरु बढेर गए । पहिलो महोत्सवताका प्रतिकेजी एक सय ५० को हाराहारी रहेको एभोकाडोको मूल्य अहिले ४ सयदेखि ५ सय रुपैयाँ प्रतिकेजी पुगेको छ । किसान र उपभोक्ता दुवैमा यसको फाइदाको बारेमा जनचेतना छरिएको छ ।

पहिलो एभोकाडो पार्क निर्माण गर्नेदेखि लिएर धनकुटालाई एभोकाडोको राजधानी बनाउने सम्मका कामहरु गर्नुभयो, अहिले के गर्दै हुनुहुन्छ ?
पहिले एभोकाडोको उत्पादन र बजार बढाउने समस्या थियो । अहिले त्यो समस्या छैन । अब यसको समस्या बिरुवामा लाग्ने रोगहरु त्यसको समाधान, साथै एभोकाडोजन्य सबै अनुसन्धान गर्न एभोकाडो स्रोत केन्द्र र अनुसन्धान केन्द्र बनाउने काम हँुदैछ । एभोकाडोजन्य उत्पादनको लागि उद्योगहरु पनि बन्ने क्रममा छन् ।

एभोकाडोजन्य उत्पादनहरु भन्नाले के के बुझ्नुपर्यो ?
एभोकाडोबाट औषधिका साथै मेकअप, जुस, रक्सीका साथै क्रिम र सौन्दर्य प्रशाधनका सामानहरु बन्छन् । धनकुटामा त्यसको उत्पादन गर्नका लागि एभोकाडो प्रसोधन केन्द्रको स्थापनासँगै उद्योगहरु निमार्ण गर्ने काम भइरहेको छ ।

एभोकाडोको बजारीकरणका लागि अन्य सरकारी निकायहरुसँग पनि सम्वन्वय गरिरहनुभएको छ कि ?
हामीलाई एभोकाडोको बजारीकरणको समस्या अहिले छैन । मागअनुसार आपूर्ति गर्न सकिराखेका छैनाँै । त्यसैले सरकारी निकायसँग भन्दा पनि कृषि विज्ञहरुसँग यसमा लाग्ने रोगहरु तथा समाधानका उपायका साथै किसानहरुले भोगेका समस्याको बारेमा भने अन्तरक्रिया र छलफल गरिरहेका छौँ । आगामी महोत्सवमा पनि किसानहरुसँग अन्तक्रियाको कार्यक्रम छ ।

दोस्रो एभोकाडो महोत्सवको आकर्षण के के हो ?
हामीले दोस्रो एभोकाडो महोत्सवमा कृषि विज्ञ र किसानहरुसँग साथै सम्बद्ध सरकारी निकाय र अन्य पक्षसँग अन्तक्रियाका कार्यक्रम राखेका छौँ । यसका अलावा किसानहरुलाई केही अनुदान दिने कार्यक्रम पनि छ । त्यसका साथमा गोडमेल लगायतमा सहजीकरण गर्नका लागि केही कृषि उपकरण तथा प्रविधिको पनि हस्तान्तरण गर्ने कार्यक्रम राखेका छौँ । दोस्रो एभोकाडो महोत्सवले धनकुटाको एभोकाडोलाई देशविदेशसम्म प्रवद्र्धन गर्न सहयोग पुग्नुका साथै किसानहरुलाई समेत फाइदा पुग्ने हाम्रो अपेक्षा छ ।