इटहरीः कुनैबेला सोखले एक दुई बोट एभोकाडो रोप्ने धनकुटावासीहरु अहिले एभोकाडोको व्यावसायिक खेतिमा छन् ।

जिल्लाको मुख्य व्यापारको रुपमा चिनिएका नगदेबालीहरु सुन्तला, मुन्तलाले बिस्तारै नाफा दिने उत्पादन गर्न छोडेपछि नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्गले एभोकाडो खेति तर्फ नगरको ध्यान आकृष्ट गर्न सफल भएका रहेछन् । सुरुमा धनकुटा नगरपालिकाका नगरबासिलाई नगरपालिकाले एभोकाडोको सम्भावनाको बारेमा बताउँदै बिरुवा वितरण गरेपछि एभोकाडो खेतीमा त्यहाँका नागरिक होमिएको धनकुटा नगरपालिका एभोकाडो किसान समूहका खेमराज थापा बताउँछन् । कुनै बेला उसु खेलको राष्ट्रिय खेलाडी हुँदै भोलेन्टियर प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायकसम्म पुगेका थापा अहिले भने कृषि क्षेत्रमा लागेर एभोकाडोको खेति गरिरहेका छन् । २०५५ सालतिर खानको लागि २ वटा बिरुवा रोपेर एभोकाडोको खेति सुरु गरेका थापा २०६६ सालबाट भने व्यावसायिक खेतितर्फ लागेको बताउँछन् ।

54255821_2623444861060390_3298983028805599232_n

घ्यु फलको रुपमा चिनिएको एभोकाडोको सम्भावना देखिएपछि अहिले धनकुटामा एभोकाडो खेतिमा आकर्षण हुने किसानको निकै ठूलो भीड छ । एभोकाडोको खेति गर्ने किसानको यकिन संख्या कति छ भन्ने तथ्याङ्क नभएपनि २०० भन्दा बढी हुनसक्ने आँकलन रहेको थापाले सुनाए । तर ५ देखि ७ बोट एभोकाडो नहुने घर भने धनकुटा नगरपालिकामा नभएको धनकुटा नगरपालिका एभोकाडो किसान समूहका राजकुमार हेन्जन बताउँछन् । व्यावसायिक फलको खेति गर्ने किसानको संख्या निकै रहेको हेन्जनले हामीलाई बताए । खेति गर्ने किसानको संख्या धेरै भएकाले पनि उत्पादन दिने अवस्थामा धेरै बिरुवाहरु रहेको किसान खेमराज थापाले बताए । धनकुटा नगरपलिकाले एभोकाडो प्रवद्र्धनका लागि एभोकाडो महोत्सव सुरु गरी बिरुवा वितरण गरी एभोकाडो खेतितिर सहयोग गरेको कृषकहरुको भनाइ छ ।

पहिलो एभोकाडो महोत्सव भव्यताका साथ सम्पन्न गरेको धनकुटा नगरपालिकाले एभोकाडोको प्रतिमा सहितको एभोकाडो चौक स्थापना गरेको छ । धनकुटामा हाल पाइने एभोकाडोका प्रजातिहरु धेरै भएको कृषक समूहका राजकुमार हेन्जनको भनाइ छ । तर खेमराज थापा भने एभोकाडो अन्यन्त्र पाइने जातसँग खासै मेल खाने प्रजाति भने त्यत्ति नपाइने बताउँछन् “हामीसँग क्रस प्रजाति धेरै छ र यसको जाति पहिचानको अनुसन्धान हुन सकेको छैन ।” थापा भन्छन् । कृषक थापाका अनुसार धनकुटामा १२ भन्दा बढी जातका एभोकाडोको प्रजातिहरु छन् । अहिले धनकुटाका एभोकाडो किसानहरुले बोट सुक्ने, फल झर्ने, पातमा लाग्ने रोग, झुसिल किराले पात सबै खाइदिने, बाँदरले बोट भाँचिदिने, फल झारिदिनेजस्ता समस्याहरुसँग जुधिरहनुपरेको छ । यीबाहेक एभोकाडोको विज्ञ नहुँदा किसानले समाधान पाउन नसकेको राजकुमार बताउँछन् । 

1186255_347858405351474_1928741562_n

आगामी मङ्सिर ४ र ५ गते आयोजना हुने एभोकाडो महोत्सवको उद्देश्य धनकुटाको एभोकाडोलाई नेपालभरि र अन्य देशसम्मा पुर्याउनु र कृषक र व्यापारीको प्रत्यक्ष भेट गराई बिचौलिया हटाउनु नै रहेको खेमराजले हामीलाई सुनाए । धनकुटा नगरपालिकाले नेपालमै दोस्रो पटक धनकुटामा आगामी मङ्सिर ४ र ५ गते एभोकाडो महोत्सवको आयोजना गर्दैछ । अत्यन्तै पौष्टिक र अन्त्यन्तै स्वास्थ्यवद्र्धक फल एभोकाडोको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले बताएको छ । यो महोत्सवको सहआयोजक धनकुटा नगरपालिका भएता पनि आयोजक भने धनकुटा नगरपालिका एभोकाडो किसान समूह रहेको छ ।

यसपालिको महोत्सवमा ५० वटा स्टल रहने र त्यसमा एभोकाडोको प्रदर्शनी, विभिन्न प्रजातिका बिरुवाहरुको प्रदर्शनी र बिक्रीवितरण र यसमा देखिएका समस्याको समाधानका लागि अन्तरक्रियासमेत रहने आयोजक धनकुटा नगरपालिका एभोकाडो किसान समूहका राजकुमार हेन्जनले बताए । धनकुटा नगरपालिकाभरिका एभोकाडो किसानलाई एकै ठाउँमा ल्याउनेगरी यसै साल मात्र नगरपालिको एभोकाडो किसान समूह निर्माण भएको हेन्जन सुनाउँछन् । कुराकानी टुङ्गाउँदै कृषक खेमराज थापाले एभोकाडो खेति गर्न चाहने कृषकलाई गुणस्तरीय बिरुवा छानेर थोरै लगानीमा धेरै आम्दानी गर्न सल्लाह दिए ।

avocado-mhotsab-7