धनकुटाः एभोकाडोको राजधानीको रुपमा चिनिएको धनकुटामा एभोकाडोको खेति गरिरहेका किसानहरु एभोकाडोको बिरुवामा लाग्ने विभिन्न रोगका कारण चिन्तित बनेका छन् ।
पहिलेको बिरुवाले फल दिइरहेपनि अहिले व्यावसायिक रुपमा लगाइएका एभोकाडोको बिरुवामा किरा लाग्ने, बोट सुक्ने साथै फल पाक्न नपाउँदै धेरै झरेर नाश हुने गरेको एभोकाडोलाई व्यावसायिक बनाइरहेका धनकुटाका किसानले बताएका छन् । ध्नकुटा नगरपालिका एभोकाडो किसान समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा आइतबार धनकुटास्थित चिप एण्ड बेष्ट होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश किसानले आफूहरु किरा र अन्य एभोकाडोका रोगले चिन्तित बनेको बताए । अन्तरक्रियामा बोल्दै कृषक राधा राईले बिरुवा उत्पादन गरेर फल फलाउँदा पनि कुन जातको फल फल्यो भन्ने कुराको जानकारी हुन नसकेको बताइन् । कृषकहरुले एभोकाडोको सही मूल्य नपाएको राइले गुनासो गरिन । अन्तरक्रियामा सहभागी हुँदै धनकुटा नगरपालिका वडा नम्बर ६ का किसान ज्योतिराम पोख्रेलले धनकुटा नगरपालिकाले कृषकलाई एभोकाडोको विषयमा उत्साह दिएर काम गरेको र उत्सवको रुपमा महत्व दिएर एभोकाडो महोत्सव आयोजना गरेको भन्दै खुसी व्यक्त गरे ।

259605760_432876374961699_8593119414024053604_n

एभोकाडोको मूल्यमा एकरुपता ल्याउनुपर्ने आवश्यकता औल्याउँदै कृषक पोख्रेलले अहिलेको अवस्थामै एभोकाडोको माग धान्न गाह्रो भइरहेको बताए । किसानहरुले एभोकाडोलाई काँचैमा टिप्ने गरेकाले एभोकाडोको वास्तविक स्वाद कस्तो हो भन्ने जानकारी नभएको बताए । एभोकाडोको विज्ञ नभएको अवस्थामा विरुवामा समस्या थपिँदै गएकाले अब समस्याको समाधानमा नगए अबको १० वर्षमा धनकुटामा एभोकाडोको नाम नै नरहने पोख्रेलको भनाइ थियो । कार्यक्रममा सहभागी हुन इलामबाट आएका कृषक कृष्ण पोख्रेलले महोत्सवमा किसानले धेरै जातका एभोकाडो नल्याएको बताए । निजामति सेवाबाट सेवानिवृत्त भएका पोख्रेलले इलामको सूर्योदय नगरपालिकामा आफूले ४०० बोट एभोकाडो लगाएको सुनाए । बोटमा धुलिया लाग्ने, बोट मर्दै जाने, पात सुक्नेजस्ता समस्या आफूले भाग्दै गएकाले यसको समाधानमा अहिलेदेखि नै लाग्नुपर्ने पोख्रेलको भनाइ थियो ।
अन्तरक्रियामा होटल सञ्चालक तथा कषक दिनेश श्रेष्ठले एक हजार ३९ वटा एभोकाडोको बिरुवा रोपेको बताए ।

259866228_327122088819367_6636481731448528444_n

उनले आफुले २०७२ सालबाट एभोकाडोलाई व्यावसायिक रुपमा खेति गरिरहेको सुनाए । उता, काठमाडौँमा एभोकाडोबारे जानकारी लिएर १५० बोट एभोकाडो लगाएर धनकुटा हानिएका प्रवीण गुरागार्इँले समूहमै आबद्ध भएर १५ रोपनी जग्गा लिएर एभोकाडोको खेति गरिरहेको सुनाए । १ हजारभन्दा बढी बिरुपा रोपेको बताउने गुरागार्इँले जारा एग्रो नामक कम्पनीमार्फत् एभोकाडोको मार्केटिङ्ग गरिरहेको बताए । धनकुटाको एभोकाडोलाई विदेशमा निर्यात गर्नको लागि गुणस्तर, प्रमाणीकरण र अनुसन्धान केन्द्रको आवश्यकता रहेको औल्याउँदै युवा व्यवसायी गुरागार्इँले धनकुटामा कृषकले इकर्मसको प्रयोगबाट सिधै ग्राहकलाई एभोकाडोको बिक्री गर्न सक्ने भएकाले बिचौलियालाई ‘बाइबाई’ गर्ने दिन आएको बताए । उता, युथ इनोभेसन ल्याबका प्रमुख कार्यकारी अधिकृत प्रदीप खतिवडाले एभोकाडोलाई निश्चित ठाउँमा मात्र व्यावसायिक खेति गर्न किसानलाई सुझाव दिए । 

258783442_4608925252478629_6926354665639564481_n

एभोकाडो महोत्सवको दोस्रो दिन आयोजना गरिएको अन्तरक्रियामा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले अहिलेसम्म धनकुटा नगरपालिकाले एभोकाडोको विषयमा ७० लाखभन्दा बढी रकम खर्च गरेको र एभोकाडोबाट धनकुटाले २०७५ सालदेखि अहिलेसम्म ३२ करोड २६ लाख रुपैयाँ कमाइसकेको विवरण सार्वजनिक गरेका थिए । अन्तक्रियामा एभोकाडोमा देखिएको समस्याको समाधानको लागि धनकुटा नगरपालिकाका कृषि विकास अधिकृत भक्तमान राई र कृषि अनुसन्धान केन्द्र धनकुटाका प्रमुख डा.गोविन्द तिम्सिनाले आफ्नो सुझाव प्रस्तुत गरेका थिए । धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले एभोकाडोको बिरुवालाई बाँदरले आक्रमण गरेर किसानलाई चिन्तित बनाएको भन्दै त्यसको समाधानका लागि नीतिगत व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरे । कृषि अभियन्ता जीवन राईले बाँदरको समस्यालाई समाधान गर्न नीतिगत व्यवस्था गरेर बाँदर मार्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए । अन्तरक्रियामा उठेका सवालको सम्बोधन गर्दै धनकुटा नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेतले धनकुटाले पहिल्यैबाट गर्नुपर्ने एभोकाडोसम्बन्धी काम ढिलो सुरु गरेको बताइन् ।

258767412_598437371399939_363296209675504816_n

विपक्षीहरुले आफूहरुले एभोकाडोको खेतिलाई सम्बोधन गर्दा विरोधको भाषा प्रयोग गरेको भन्दै आज आफूहरुले राम्रो काम गरेको महसुस भएको उनले बताइन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले आफूहरुले विज्ञ उत्पादन गर्ने कामलाई महत्वका साथ हेरेको बताए । समस्यारहित कुनै पेसा नभएको बताउँदै मेयर तामाङ्गले समस्याको समाधान गर्दै लानुपर्ने आजको आवश्यकता भएको आँैल्याएका थिए । धनकुटाका किसानलाई सम्बोधन गर्दै मेयर तामाङ्गले धनकुटाको एभोकाडो नबिक्ने चिन्ता नलिन भन्दै बरु उत्पादन बढाउन र गुणस्तर कायम राख्न अनुरोध गरे । अबको १० वर्षमा नेपाल दक्षिण एसियाकै धेरै एभोकाडो उत्पादन गर्ने देश बन्ने बताउँदै मेयर तामाङ्गले कार्बन बेचेर पैसा भित्राउने दिन टाढा नभएको उद्घोष गरे । अब धनकुटामा सम्पूर्ण होटलहरुमा एभोकाडोको रेसिपी राख्न पहल गर्ने बताउँदै तामाङ्गले एभोकाडोसम्बन्धी रिसर्च सेन्टरसमेत बनिरहेकाले चिन्ता नलिन कृषकहरुलाई भनेका थिए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले कार्यक्रमको विषयमाथि प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रमलाई डम्बर रोगुले सञ्चालन गरेका थिए ।