धनकुटाः धनकुटा जिल्लाको साँगुरिगढी गाउँपालिकास्थित कार्की छापनजिकै बाँसको बारले बारेको सानो छाप्रोमा चिया बेच्ने दिनेश लिम्बूको व्यवसायमा सामुदायिक वनले आँखा गाडेको छ । 

पहाडको बीचमा सुन्दर कटेरो बनाएर चिया बेचिरहेका दिनेशलाई कटेरो हटाउन भन्दै भेडेटार ४ ठेगाना लेखिएको पाथीभरा वन उपभोक्ता समूहले पत्र काटेको छ । साँगुरिगढी गाउँपालिकाको कार्की छाप बस्ने दिनेशले भेडेटारबाट करिब २ किलोमिटर उत्तर कोसी राजमार्गमै सानो छाप्रो बनाएर चिया पसल सञ्चालन गर्दै आएका छन् । पाथीभारा वन उपभोक्ता समूह भेडेटार ४ धनकुटा लेखिएको लेटरप्याडबाट पत्र काट्दै वन उपभोक्ता समूहले पत्र लेखेको ३ दिनभित्र टहरा हटाउन भनेको छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको हस्ताक्षरसहित काटिएको पत्र कार्तिक ११ गते काटिएको भएपनि मङ्सिर ५ गते आइतबार दिनेशलाई थमाइएको छ । सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजनाको परिच्छेद ६ को दफा ३१ मा सामुदायिक वनमा घर छाप्रो बनाउन नपाइने उल्लेख भएकाले वन ऐनअनुरुप सामुदायिक वनको अतिक्रमण गरे गराए पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने भन्दै ३ दिनभित्र नहटाए कानूनअनुसार कारबाही गरिने पत्रमा उल्लेख गरिएको छ ।

259303667_503924527257109_2545850314036475076_n

 भेडेटारभन्दा तल रहेको पहाडी इलाकामा बाँसको भाटाबाट बनाइएको कच्ची संचरनामा दिनेशले साथीसँग ऋण लिएर लगभग एक लाखको लगानीमा व्यवसाय सुरु गरेका259367491_1012372172673122_1867217732706152825_n रहेछन् । व्यवसाय सुरु गर्नुअघि पनि गाउँपालिकाका अध्यक्षसँग सल्लाह लिएरै आफूले काम थालेको भएपनि सामुदायिक वनले पत्र काटेर छाप्रो हटाउन भनेपछि चिन्ता बढेको दिनेशले सुनाए । भाषा परीक्षा पास गरेर कोरिया जाने तयारीमा रहेका दिनेशलाई कोरोना र यसका कारण भएको विश्वव्यापी लकडाउनले गर्दा समस्या पारेपछि विकल्पको रुपमा यस्तो व्यवसाय रोजेका थिए । ‘कोरिया ढिलो भएपछि खाडी मुलुक पनि जाने प्रयास गर्दै छु । फुर्सदको समयमा केही गरौँ भनेको, अहिले यस्तो पत्र आयो ।’ दिनेशले हामीलाई सुनाए । नमस्ते झरना, धनकुटा, भोजपुर लगायतका ठाउँमा जाने धार्मिक पर्यटकलाई टिपिकल अनौठो छाप्रोमा गुणस्तरीय सेवा दिइरहेका दिनेश आफूले चिया कफी बेच्न थालेपछि यो क्षेत्रको फोहोरलाई व्यवस्थापन गरेर सफा बनाएको बताए । 

258708413_4505400692862188_7817015882994004831_n

पहाडको बीचमा रहेको दिनेशको पसलमा चिया, कफी, हुक्काको साथमा भोकाएका ग्राहकका लागि चाउचाउ र अमलेटसम्म पाउने रहेछ । पानीको समस्या भएका कारण दिनेशले ग्राहकले खाएका प्लेटहरु सफा गर्न भने बेलुका घरै लाने गरेका छन् । बिहान ७ बजेदेखि सम्पूर्ण सामान लिएर आउने दिनेश बेलुका ६ः०० बजे आफूले ल्याएका सम्पूर्ण सामानसहित घर फर्किन्छन् । सम्पूर्ण सामानसहित बिहान घरबाट आउने दिनेश दिनभरिमा २ हजार रुपैयाँ सम्मको व्यापार हुने गरेको बताउँछन् । दिनदिनै मौसम परिवर्तनका कारण वातावरणमा नराम्रो प्रभाव परिरहेको बेला दिनेशले आफ्नो छाप्रोमा माटोको भाँडामा चिया बेच्ने गरेका छन् । आफूले खोज अनुसन्धान गरेर केही नयाँ गरौँ भन्ने सोचाइका साथ माटोको भाँडोमा चिया बेच्न थालेको दिनेश सुनाउँछन् । दिनेशले टेबलमा एउटा मार्कर राखेका छन् । त्यहाँ माटोको भाँडोमा चिया पिइसकेपछि ग्राहकले आफ्नो हस्ताक्षर गरेर माटोको भाँडोलाई त्यहिँ राखिएको लहरमा सजाउने गरेका छन् । 

259695704_879450389601751_5177363105686037747_n

आफूसँग धेरै भारतीय पर्यटकहरु आउने गरेको र चिया पिइसकेपछि राम्रो प्रतिक्रिया दिने गरेको यी युवाले सुनाए । भारतीयबाहेक अन्य पनि आफ्ना थुप्रै नेपाली नियमित ग्राहकहरु भएको उनको भनाइ छ । वैदेशिक रोजगारीको पहल गरिरहेका दिनेश आफूले कमाएको सानो अंशबाट जीवन सँगिनीलाई पढाइरहेको बताउँछन् । “वन जङ्गल मासेर कतिले पक्की भवन बनाएका छन्, तर एउटा बेरोजगार युवाले रोडको छेउमा गरेको सानो छाप्रोमा आँखा लगाए ।” दिनेशले न्याउरो हँुदै सुनाए । त्यसो त वन क्षेत्रमा तयार भएका बहुतले भवनहरु पहुँचको आधारमा नछोइने भएपनि सानाले बाटो छेउमा निर्माण गरेको कटेरोमा धेरैको आँखा लाग्ने गरेको दिनेशको भनाइ छ । हामीले यो स्टोरी तयार गर्दासम्म दिनेशले यो छाप्रो निर्माण गरेर चिया बेच्न थालेको २९ दिन मात्र भएको छ ।

258564405_1021868338375273_1502096731503387126_n

 

आफूले पहिले सल्लाह लिँदा गाउँपालिकाले पनि राम्रो छ गर्दै गर्नू भनेको भएपनि अहिले सामुदायिक वनले गरिखाने मेलो हटाउन लागेको दिनेश सुनाउँछन् । साँगुरिगढी गाउँपालिकाकी उपप्रमुख वीन्द्रा राईले आफूहरुले उक्त कटेरो देखेको भएपनि कसले किन बनाएको भन्ने जानकारी गाउँपालिकासम्म आइनपुगेको र सामुदायिक वनले पत्र काटेको बारेमा पनि आफूहरुलाई थाहा नभएको बताइन् । “उहाँलाई के कस्तो समस्या परेको हो उहाँ हामीसँग आउनुभएको छैन । यसबारेमा के रहेछ हामी बुझ्छौँ र सहजीकरण गर्छौँ ।” उपप्रमुख राईले भनिन् ।