इटहरीः  चिटिक्क परेको फर्मल सर्टका साथमा कपडाको पाइन्ट अनि स्पोर्टस जुत्ता । मिठो र मिजासिलो बोली, हेर्दा र सुन्दाभन्दा फरक पहिरनमा परिश्रम गरिरहने कमै भेटिन्छन् । तिनैमध्ये पर्छन् रामधुनी नगरपालिकाभित्र आल्मुनियमको व्यवसाय गरिरहेका एक युवक ।  काम व्यक्तिको पूजा हो । काम सानो वा ठूलो हुँदैन । त्यसैले पनि काममा फरक देख्दैनन् धनकुटा जिल्लाको चान्वामा जन्मेहुर्केका योगेन्द्र कुँवर । 

वैदेशिक रोजगारमा एक दशकभन्दा लामो समय बिताएका कँुवर वैदेशिक रोजगारबाट देखिने प्रगति नभएका कारण देशमै रोजगारी सृजना गर्ने काममा होमिएका रहेछन् । विदेशमा छँदा ३० तला सम्मको भवनमा क्रेन लगाएर काम गर्ने गर्थे उनी । अहिले स्वदेशमा काम गर्न क्रेन नै त लगाउनु पर्दैन तर काम पाउन भने निकै हम्मे पर्छ । व्यावसाय सुरु गर्न त्यत्ति सजिलो पनि त छैन नि । वैदेशिक रोजगारीबाट फर्केर आएपछि योगेन्द्रले पहिला इटहरी र इनरुवामा अर्कैको आल्मुनियम उद्योगमा काम गर्ने अवसर पाएछन् । विदेशमा काम गरेको अनुभवले निकै सिकायो उनलाई । त्यहाँमाथि मान्छेसँग कसरी बोल्ने, पैसा कसरी कमाउने , पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरा पनि सिकेका कारण आफ्नो व्यवसाय सुरु गर्न सहज भएको योगेन्द्र बताउँछन् । अर्काको खटन, त्यहाँमाथि विदेशी भाषा अनि अलग्गै परिवेश र सँस्कृति । विदेशमा कामगर्न भनेजस्तै सजिलो कहाँ छ र ? भन्नेहरुले त विदेश जान्छु अनि कमाउँछु भन्छन् । दुः ख त योगेन्द्रले पनि लाख गरेका रहेछन् खाडी मुलुकमा । पहिला सन् २००५मा कतार, त्यसपछि मलेसिया र पुनः कतार गरेर जम्मा जीवनका १२ वसन्त विदेशी भूमिमा सकाएका योगेन्द्र अहिले भने आफ्नै सानो कम्पनीका मालिक हुन् ।

अर्काको आल्मुनियम उद्योगमा काम गर्दागर्दै आफैँले केही सामान जोडिसकेका रहेछन् योगेन्द्रले । त्यही भएर पनि आफूसँग पर्याप्त पैसा नहुँदा पनि पसल खोल्न गाह्रो भएनछ योगेन्द्रलाई । सामान्य आल्मुनियमको काम गर्ने पसल खोल्न ड्रिल मेसिन, हिल्टि, आल्मुनियम काट्ने कटर, प्वाल बनाउने मेसिनलगायत खरिद गर्न मोटामोटी ५ लाख रुपैयाँको लगानी लाग्ने रहेछ । अर्काको काम गरिरहँदा आफ्नो उमेर बित्दा पनि आफ्नो भन्न नपाइने  हुनाले आफ्नै व्यावसाय गर्दा खुसी र सन्तुष्टि मिल्ने योगेन्द्रको बुझाइ छ । “सानै होस् तर जति हुन्छ त्यत्तिमा खुसी र सन्तुष्ट छु । ” योगेन्द्र भन्छन् । फेरि आफैँ व्यवसायी भएपछि आफ्नो मर्जिको पनि त भइयो नि । अर्काको खटनमा हिँड्न परेन । आफैँले काम गर्ने भएपछि ग्राहकलाई ग्यारेन्टि पनि त दिन सकियो नि । आफू दक्ष भएर अर्काको कम्पनीमा काम गर्दा योगेन्द्रले थुप्रै भोगेका छन् । भोगाइले मान्छेलाई बाँच्न सिकाउँछ भनेझैँ योगेन्द्रलाई पनि सिकाएको छ उनको भोगाइले । आफू दुःख गरेर काम गर्ने अनि मालिक भने बसिबसी कामदारकै सीपमा मोज गर्ने भएकाले सानै भएपनि आफ्नै गरौँ भनेर व्यावसाय सुरु गरेको योगेन्द्र बताउँछन् ।

yogendra kunwar1

४० वर्षे उमेरका योगेन्द्रले आफ्नो आल्मुनियमको झ्याल, ढोका साथै स्टिलको काम गर्ने व्यवसाय थालेको धेरै भएको छैन तर उनी पेसालाई धर्म सम्झिन्छन् । एक पटक उनकोमा आएको ग्राहकलाई फर्केर जान दिँदैनन् । सेवा गर्न पाए कम मार्जिनमै ग्राहकलाई सेवा दिने योगेन्द्रको भनाइ छ । फेरि अहिलेका व्यसायीले कामलाई सानो र ठूलो भनेर छुट्टाउने गर्छन् । सानोलाई काम नै गन्दैनन् । त्यसैले पनि सानो काम लगाउने ग्राहकले कामदार पाउन पनि ठूलो कष्ट झेल्नुपर्ने गरेको छ । योगेन्द्रको लागि त्यो कुरा लागु नहुने रहेछ । काम भनेको सानो ठूलो हँुदैन भन्छन् योगेन्द्र । रामधुनी नगरपालिकाको वडा नम्बर १ मा आफ्नो व्यवसाय गर्ने योगेन्द्र आफ्नो लागि सबै काम समान भएको प्रतिक्रिया दिन्छन् । त्यसैले पनि अहिलेसम्म आफ्नोमा आएको ग्राहकलाई नाई भन्नु नपरेको योगेन्द्रको भनाइ छ । ग्राहकको विश्वास पाएकै कारण उनले अहिलेसम्म काम खोज्दै हिँड्नुपरेको छैन ।

सेवालाई धर्म सम्झिने ग्राहकलाई नाई शब्द नलाउने योगन्द्रलाई व्यवसायमा होमिन निकै मेहनत गर्नुपर्यो । हुन त आफ्ना लागि गरेको मेहनतको फल पनि राम्रो आउँछ र आफ्नै हुन्छ । अरुलाई बाँड्नुपर्दैन । इमानदारिताको खडेरी परेको नेपाली व्यवसायको क्षेत्रमा यस्ता व्यक्तिको प्रवेशले पक्कै पनि व्यावसायिक इमानदारिता निकालोस् । ग्राहकलाई विश्वास गर्ने वातावरण व्यवसायीले बनाउन सके दुवै पक्ष सन्तुष्ट हुन्छन् । यस्तो सुरुवात गर्ने युवालाई सफलताको शुभकामना ।