इटहरी: समाज बालबालिकाको पक्षमा अहिलेसम्म पनि छैन । बालश्रम, बालविवाहजस्ता कुप्रथा अहिले पनि कायम नै छन् । भनेजसरी जुरुक्क उठाएर फाल्ने अवस्थामा छैनन समाजका चालचलन र व्यवहार । तर पहल र प्रयास भने नभएका होइनन् । आवाज उठाउन राष्ट्रिय अन्तराष्ट्रिय गैह्र सरकारी सँस्थाहरु पहिलदेखि नै लागिपरेका छन् बालअधिकारको वकालत गर्नका लागि । देशभरिमा जम्मा १० वटा स्थानीय तह बालमैत्री भएका छन् ।

प्रदेश १ मा २ वटा र सुनसरी जिल्लामा एउटा स्थानीय तह मात्र बालमैत्री स्थानीय तहको रुपमा घोषणा भएका छन् । त्यसैमध्ये पर्छ सुनसरीको रामधुनी नगरपालिका पनि । निकै ठूलो पहलमा आफूहरुले रामधुनी नगरपालिकालाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्न पाएको रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरी बताउँछिन् । बालमैत्री स्थानीय तह घोषित भएपछि नगरपालिकामा बालबालिकाका तर्फबाट सम्पर्क व्यक्तिको रुपमा लामो समयदेखि बालबालिकाको हितमा वकालत गर्दै आइरहेका अमन ढुङ्गेललाई राखिएको छ । नगरपालिकाको २०६८ को कार्यविधि अनुसार नै भा.सि. गाविस हुँदादेखि नै रामधुनीलाई बालमैत्री बनाउने पहल भएको अमन बताउँछन् । बालबालिकाहरुलाई प्राथमिकता दिएर समाजमा सम्मानका साथ बाँच्न पाउने अवस्था सिर्जना गर्नका लागि २०७१ सालतिर नमुना नगर बाल सञ्जालको स्थापना भएको रहेछ । कानूनको रक्षकका रुपमा नेपाल प्रहरीलाई सम्झिइने भएपनि अहिले आएर कतिपय ठाउँमा स्थानीय बाल क्लबहरुले समाजको विकृति र विसंगतिविरुद्ध बोल्न थालेदेखि प्रहरीबिनै थुप्रै समस्याहरुको समाधान गरिने गरेको अमनको बुझाइ छ । 

नगरमा खुलेका नगर बाल सञ्जाल, वडा बाल सञ्जाल हँुदै टोलटोलमा खुलेका टोल बाल सञ्जाल र हरेक विद्यालयमा खुलेका बाल सञ्जालहरुले स्थानीय तहमा हुने गरेका बालबालिकाविरोधी कृयाकलापलाई रोक्ने काम गरेको बाल क्लबमा आबद्ध बालबालिकाको बुझाइ छ । “बालबालिकालाई पढ्न, खान दिएर मात्र हुँदैन शुद्ध पिउने पानी पनि चाहिन्छ । खेलकुद पनि चाहिन्छ । हरेक भौतिक संरचनाहरु बालबालिकामैत्री हुनुपर्छ त्यो बालबालिकाको आवाज हो ” ढुङ्गेलले भने । बालबालिकाका क्षेत्रमा प्रायः सबै सकारात्मक पहलहरु भएता पनि बालविवाह रोक्न भने गाह्रो भएको अमनको बुझाइ छ । सानै उमेरमा प्रेममा फस्ने अनि आफूखुसी विवाह गर्ने समस्या अहिले देखिएको रहेछ । यसको न्यूनीकरणका लागि विद्यालयहरुले अध्ययनरत बालबालिकालाई बालविवाहको बारेमा जनचेतामूलक शिक्षा दिन सके मात्र त्यो सम्भव हुने अमनको बुझाइ छ । ग्रामिण समुदाय, विपन्न परिवार आदिका कारणले पनि बालबालिकाहरु थिचोमिचो सहन बाध्य रहेको बालबालिकाहरुको बुझाइ छ । रामधुनी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरेपछि अब त्यो अवस्थालाई कायम राखिरहनु भने चुनौति रहेको नमुना नगर बाल सञ्जालका अध्यक्ष सुगम झाले बताए । 

सबै वडा र जनप्रतिनिधिलाई बालबालिकाप्रति र जिम्मेवार बनाइराख्न वडाका सचिवहरुलाई पनि जिम्मेवारी तोकिएको र मेयरलाई नै बालमैत्री नगरको संयोजक बनाइएको रामधुनी नगरपालिकाका सम्पर्क व्यक्ति ढुङ्गेलले जानकारी दिए । नगरका सम्पूर्ण क्षेत्रमा बालबालिकामाथि हुने गरेका विभेदको अन्त्य गरी बालमैत्री समाज कायम राखिराख्न स्थानीय निर्वाचित सरकारको अहम भूमिका रहने बाल सञ्जालहरुको भनाइ छ । “अहिलेका जनप्रतिनिधिलाई बुझाउन ४ वर्ष लाग्यो । अब आउने जनप्रतिनिधिले बालबालिकाको संवेदना कति बुझ्छन् र उनीहरुलाई बुझाउन कति समय लाग्छ । ”बाल क्लब सञ्जाल सुनसरीका सचिवसमेत रहेका ढुङ्गेल सुनाउँछन् । यही वर्षको भदौ २९ गते रामधुनीलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको भएता पनि नगरको बजेट अड्किएका कारण कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न नसकिएको बताइएको छ ।

देशमा शिक्षा महङ्गो हुदै गएकाले पनि प्रत्येक वर्ष सञ्चालन गरिने भर्ना अभियानमा सोचेको सफलता हासिल गर्न नसकिएको नगर बाल सञ्जालका अध्यक्ष झा बताउँछन् । नगरमा रहेका बाल सञ्जालहरुले नगरपालिका भित्रका सबै बालबालिकाले शुद्ध खानेपानी, आयोडिनयुक्त नुन, सबै विद्यालयहरुमा खानेपानीको व्यवस्था, बालश्रममुक्त नगर लगायतका सूचकाङ्कहरु पूरा भए नभएको हेर्ने गरेका छन् । यी सबै सूचकाङ्हरु कायम गरिरहनुपर्ने मापदण्ड रहेको नमुना नगर बाल सञ्जालका सचिव छविरमण दाहाल बताउँछन् । बालमैत्री नगरलाई सँधैभरि बालबालिकामैत्री बनाइराख्न पञ्चवर्षीय रणनीतिक योजनाअनुसार काम हुने नमुना बाल सञ्जालको भनाइ छ । नमुना बाल सञ्जाल रामधुनीका अध्यक्ष सुगम झा आफ्नै कार्यकालमा नगर बालमैत्री घोषणा भएकोमा आफु खुसी छु भन्नेभन्दा पनि जिम्मेवारी थप भएको महसुस गर्छन् । बालमैत्री नगर घोषणा गर्नका लागि आफू मात्र नभएर सबै सदस्यको उत्तिकै योगदान रहेको झाको भनाइ छ ।

अघिल्लै कार्यकालमा बालमैत्री घोषणा हुन लागेको भएपनि विविध कारणले बालमैत्री नगरको घोषणामा ढिलाइ भएको झाको भनाई छ । पहिलाभन्दा अहिले समुदायले बालबालिकालाई हेर्ने दृष्टिकोण फरक रहेको तथा बालबालिका भनेर नजरअन्दाज नगर्ने गरेको अध्यक्ष झा बताउँछन् । बालबालिकाको हकहितका लागि बाल सञ्जालहरु सक्रिय भएर लागेको नवकोपिला बाल सञ्जाल रामधुनी ३ का अध्यक्ष नरेश कोइरालाको भनाइ छ ।