इटहरीः एसोसियसन फर कन्जरभेटिभ टुरिजमको आयोजनामा आउने मङ्सिर २४, २५ र २६ गते सुन्तला महोत्सव हुने भएको छ । भारतको कलकत्तामा आयोजना हुने महोत्सवको पार्टनर कन्ट्रिको रुपमा नेपाल रहेको छ भने पार्टनर प्रदेशमा भारतको अरुणाचल प्रदेश रहेको छ । सन् २०१४ बाट सुरु भएको सुन्तला महोत्सवले ग्रामिण पर्यटनको प्रवद्र्धनमा ठूलो सहयोग मिलेको आयोजक सँस्था एसोसियसन फर कन्जरभेटिभ टुरिजमका राज बसु बताउँछन् । मेचीनगर नगरपालिकाको काकडभिट्टामा आयोजना भएको एक कार्यक्रममा नेपालको तर्फबाट सुन्तला महोत्सवको सुरुवात देखिकै हस्ति रहेका अर्जुन कार्कीसँगै भेटिएका बसुसँग हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ सोही कुराकानीको सारांशः
हुनै लागेको सुन्तला महोत्सवको बारेमा बताइदिनुहोस् न ।
एसोसियसन फर कन्जरभेटिभ टुरिजमको आयोजनामा सन् २०१४ बाट सुन्तला महोत्सव आयोजना हुँदै आएको छ । हामीले यो चौथो सँस्करण आयोजना गर्दैछौँ । यो कलकत्तामा उत्तर बङ्गाल, सिक्किम, नेपाल, भुटान अरुणाचल साथै उत्तर हिमालयको सबै पर्यटनका सरकोकारवालाका साथै होमस्टेका सञ्चालकहरुको सहभागितामा हुने भव्य महोत्सव हो ।

सुन्तलासँगै महोत्सवमा अरु के के हुन्छ ?
सबै सहभागी देशहरबाट त्यहाँ उत्पादन हुने अदुवा, अलैँची, अचारका साथै ह्याण्डिक्राफ्ट का सामानहरु प्रदर्शनीका लागि ल्याइन्छ । कलकत्तामा हुने भएकाले कल्चर हाइलाइट हुने र त्यहाँका मान्छेहरु कसरी बस्छन् भन्ने कुरालाई नजिकबाट नियाल्न सकिने हुनाले भोलि त्यो ठाउँका पर्यटकलाई नेपालमा ल्याउँदा कसरी स्वागतसत्कार गर्ने भन्ने कुरा पनि सिकिन्छ ।

यसपालिको महोत्सवको प्रमुख आकर्षण के हो ?

महोत्सवको माध्यमबाट हामी पूर्वी हिमालको सम्पूर्ण सरोकारवालाको सञ्जाल पनि निर्माण गरिरहेका छौँ । नेपालका महावाणिज्य दुत आउनुहुनेछ । यसपालिको महोत्सवमा हामीले भाइचुङ्ग भुटियालाई विशेष पाहुनाको रुपमा बोलाएका छौँ । खेलकुद क्षेत्रमा चिनिएको व्यत्तित्वलाई आयोजकको तर्फबाट एम्बास्डर बनाएर निम्ता गरेका छौँ । यसले पनि यो महोत्सवलाई महत्वपूर्ण बनाएको छ ।

सुन्तला महोत्सव भन्नुभएको छ यसमा पर्यटन प्रवद्र्धन कसरी हुन्छ ?
सुन्तलाचाँहि सबैतिर हुने भएकाले सबैको साझा सञ्जाल निर्माण गर्ने माध्यम हो । सुन्तला प्रत्येक ठाउँमा हुने र ग्रामिण पर्यटनलाई चिनाउने माध्यम हो । त्यसैले पनि सुन्तलालाई एउटा फेस बनाएर ग्रामिण पर्यटनको विकास गर्न हामीले सुन्तला महोत्सवको आयोजना गरिरहेका छौँ । दीगो पर्यटनमा हामीले पश्चिमी सँस्कृतिलाई नअङ्गालिकन हाम्रै एसियाली सँस्कृतिलाई विकास गर्न पनि यो महोत्सव महत्वपूर्ण छ ।

यसपालिको महोत्सवमा कुन कुन देशको सहभागिता रहन्छ ?
नेपाल, भारत , भुटान, म्यानमार र बङ्गलादेश एसोसियसनका सदस्या राष्ट्र हुन् । सबै देशको सहभागिता रहनुपर्ने भएपनि कोभिडका कारण भएको लकडाउनले भुटानको बोर्डर अझैसम्म पनि बन्द नै छ । बङ्गलादेशबाट ठूलो समुह आउने कुरा भएको छ । अघिल्लो महोत्सवमा लाखभन्दा ठूलो सहभागिता रहेको थियो यसपालि पनि जहाँसम्म ठूलो संख्याले महोत्सवको अवलोकन गर्नेछ र यसले ग्रामिण पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

यो महोत्सव हरेक वर्ष गर्ने हो कि कसरी गर्दै हुनुहुन्छ ?
हामीले हरेक दुई वर्षमा गर्दे आइरहेका छौँ । एउटा महोत्सव आयोजना भएपछि त्यसलाई प्रयोग गर्न एक वर्ष लाग्छ अनि अर्को वर्ष त्यसको रिजल्ट देखिन्छ । यसले गर्दा हरेक वर्ष समग्र पर्यटनको गतिविधि बढेर जान्छ । हामीलाई एक अर्काको ड्रेस, आदतहरु थाहा हुँदैन । त्यहाँ पुगेपछि थाहा हुन्छ । हाम्रो सँस्कृतिमा धेरै फरक छैन । थोरै मात्र फरक छ । त्यो पनि त्यहाँ पुगेपछि थाहा हु्न्छ । त्यसैले पनि महोत्वसव महत्वपूर्ण मानिँदै आएको छ ।

सुन्तला महोत्सव सुरु भएदेखि यसले हाम्रो पर्यटनमा के प्रभाव पारेको छ ?
पहिला कलकत्ताको पर्यटक आयो भने काठमाडौँ, पोखरा , चितवन मात्र पुग्थे । अरु गन्तव्य थाहा थिएन । बागडुग्रा, सिलिगुरी पुग्दा दार्जिलिङ पुग्न पनि ३ घण्टा, यता इलाम, पुग्न पनि ३ घण्टा लाग्छ । गन्तव्यमा त्यति फरक छैन । दुई वटा देश भएकाले मान्छेमा एक प्रकारको डर थियो । नेपालको पर्यटनमा त्यो डर हामीले तोड्न सकेका छौँ महोत्वसवपछि । अर्को कुरा, जबसम्म पूर्वी नेपालको पर्यटन विकास हुँदैन, तबसम्म हाम्रो पर्यटनको पनि विकास हुँदैन।

त्यसो भएकाले सिक्किम, उत्तर बङ्गाल हुँदै पूर्वी नेपाल छिर्ने पर्यटकको गाडीका लागि शुन्य भन्सारमा घुमाउनको लागि हामीले नेपालको प्रदेश १ का मुख्यमन्त्रीसम्म अनुरोध पनि गर्यौँ । टिकटचाँहि काट्नुपर्छ तर बिनाभन्सार आउन दिऔँ । त्यसो भयो भने कनेक्टिभिटि पनि हुन्छ भनेर । अर्को कुरा चाँहि पर्यटकको लागि सर्किट बनाउँदा काठमाडौँ पोखरा, चितवनसँग नबनाई, सिक्किम, गान्तोक, दार्जिलिङसँग बनाउनुपर्छ त्यसो भयो भने छिटो प्रवद्र्धन हुन्छ ।