यहाँ दुई पात्रको चर्चा हुनेछ । पहिलो कमल थापा र, दोस्रो रेखा थापा । कुरा सुरु गरौं, यी दुई पात्रसँग सम्बन्धित विषयवस्तुबाट । सन्दर्भ हो– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन । राप्रपाले नेपालमा तीस वर्षे लामो राजनीतिक इतिहास बोकेको छ । अलि कडा शब्दमा भन्नुपर्दा, ’धर्म’को नाममा राजनीति गर्दै आएको यस पार्टीको नेतृत्व चयनका लागि भोलि बिहान ७ बजेदेखि मतदान हुँदैछ । वर्तमान अध्यक्ष कमल थापा र युवा नेता राजेन्द्र लिङ्देनको प्यानलबीचमा हुन लागेको यस चुनावलाई नेपाली राजनीतिले तीखो नेत्रले नियालिरहेको पाइन्छ । 

अब मुख्य विषयवस्तुमा प्रवेश गरौं । हुन त चुनाव अघि आफ्नो प्रतिपक्षीलाई नानाथरी आरोप–प्रत्यारोप लगाएर आफ्नो छाप राम्रो बनाउन नौलो कुरा हैन । यद्यपि कुन हदसम्म गर्ने भन्ने मुख्य कुरा हो । रेखा थापा पछिल्लो केही समययता अभिनेत्री कम नेत्री ज्यादा भएकी छन् । अहिले त उनी राप्रपाको संघीय महामन्त्री पदको उमेदवार नै हुन् । राजेन्द्र लिङदेनको प्यानलबाट राप्रपाको महामन्त्री बन्ने चाहनासहित उनी अहिले चुनावी प्रचारमा व्यस्त छिन् । आफूलाई हिन्दूवादी प्रमाणित गर्न उनले चुनावी प्रचारमा त्रिशूल आकारको टिका लगाएको तस्वीरको प्रयोग गरेको देखिन्छ । रेखा राजनीतिक रूपमा कत्तिको अब्बल र क्षमतावान हुन् भन्ने कुरा विपक्षी प्यानलले गौण बनाइदिएको छ । गौण यस मानेमा कि कमल थापा प्यानलले यतिबेला रेखाले एक वर्षअगाडि बोलेको गणतन्त्रवादी अभिव्यक्तिलाई चुनावी मसला बनाइरहेका छन् ।

 उनी आबद्ध प्यानल अर्थात् लिङदेनको राजनीतिक नारा संवैधानिक राजतन्त्र र हिन्दू राज्य नै हो । अध्यक्षका अर्का उमेदवार कमल थापाले संवैधानिक राजतन्त्र र हिन्दूराज्य स्थापनाका लागि लिङ्देनले काम गर्न नसकेको दाबी गरिरहेका छन् । त्यसमाथि रेखाको त्यो अभिव्यक्तिले आगोमा घ्यु थपेको छ किनभने लिङ्देन प्यानलकी उम्मेदवार रेखा भने गणतन्त्रको पक्षमा उभिएको भन्ने खालको अभिव्यक्ति अहिले भाइरल भइरहेको छ । अझ भनौं, भाइरल बनाइराखिएको छ । अझ यसमा चाखलाग्दो कुरा के छ भने, रेखाले गणतन्त्रको पक्षमा दिएको अभिव्यक्तिलाई भाइरल बनाउन अध्यक्षका प्रत्यासी कमल थापासमेत सक्रिय देखिएका छन् । उनले रेखाको त्यो आधा क्लिप कट गरेर सामाजिक सञ्जालमा लेखेका छन्, ’हा हा नो कमेन्ट ।’

भिडियोको वास्तविकता के थियो ?
एपिवान टेलिभिजनको कार्यक्रम ग्ल्यामर गफमा धर्मसंकट ’सेगमेन्ट’मा अतिथिले दुई÷तीन विकल्पमध्ये एक रोज्नुपर्छ । यही क्रममा उनले कमल थापा कि विप्लव भनेर सोध्दा उनले उत्तर दिइनन् । प्रचण्ड कि विप्लव भनेर सोध्दा उनले विप्लवलाई छानेकी थिइन् । अर्को विकल्पमा कमल थापा र गगन थापाबीच एक रोज्न दिँदाचाहिँ कमल थापा रोजेकी थिइन् । धर्मसंकट सोध्दै जाँदा प्रस्तोताले सोधे ’राजतन्त्र कि गणतन्त्र ?’ उनले गणतन्त्र छानिन् । प्रस्तोताले फेरि राप्रपाको नेता भएर गणतन्त्र रोज्ने भनेर सोधे । उनले भनिन् ’मैले आम नागरिकको भाषा बोलेको हो । पार्टीको सिद्धान्त केहीलाई चित्त नबुझेको पनि हुनसक्छ ।’ बुझ्नैपर्ने कुरा के भने, उनले कार्यक्रममा आफू राप्रपाको नेताको रूपमा नबोली कलाकार रेखा थापाको रूपमा अन्तर्वार्ता दिन आएकाले गणतन्त्र रोजेको व्याख्या गरिन् ।

’ गणतन्त्रमा कुनै पनि बच्चा जन्मँदै गर्दा यो देशको कार्यवाहक हुने अधिकार लिएर जन्मन्छ । गणतन्त्रमा लागेको कुरा, वाक स्वतन्त्रता हुन्छ । मालिक बन्ने एक व्यवस्था हो गणतन्त्र । त्यसैले मलाई गणतन्त्र मन पर्छ ।’ प्रस्तोताले अर्को प्रश्न सोध्छन् ’हिन्दू राष्ट्र कि धर्म निरपेक्ष ?’ यसमा उनले पार्टीकै लाइनमा उभिएर हिन्दू धर्मको पक्षमा उभिइन् । हिन्दू राष्ट्र देशको पहिचान भएको र ओमकार परिवारका सदस्य धेरै भएकाले नेपाललाई विश्वमा हिन्दू राष्ट्र भनेर चिनाउँदा केही फरक नपर्ने तर्क गरिन् । उनले हिन्दु राष्ट्र बनाउँदा पनि केही फरक नपर्ने तर्क गरिन् । अहिले भाइरल भइरहेको भिडियो क्लिपमा उनले धर्मबारे बोलेको राखिएको छैन । उनले गणतन्त्रबारे बोलेको तर्क कमल थापाले आफ्नो फेसबुक र ट्विटरमा राखेका छन् । 

यसबाट अरुले के बुझ्नेछ, थाहा भएन । मैले बुझेको कुराचाहिँ के हो भने कमल थापाले राप्रपा अध्यक्षको स्वाद एक पटक हैन, पटकपटक लिइसकेका छन् । उनी फेरि अध्यक्ष भएर पार्टीभित्र सर्वसत्तावाद लाद्न खोजिरहेका छन् । यसको अर्को फेहरिस्तको रूपमा डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबरालाई लिन सकिन्छ । जो नयाँ नेतृत्वलाई पार्टीको भविष्य सुम्पिनुपर्छ भन्ने आधारसहित लिङ्देन प्यानललाई समर्थन गरेर हिँडेका छन् । फेरि रेखाकै कुरा जोडौं । रेखा चलचित्र अभिनेत्री हुन् । चलचित्रमार्फत् समाजका विभिन्न पात्रहरुको अभिनय गरेरै भएपनि थुप्रै थरीका व्यक्ति र प्रवृत्तिको बारेमा भोगेको उनको तर्क छ ।

उनले अक्सर भन्ने गरेकी छन्, ’फिल्ममा थुप्रैखाले जीवन बाच्न पाएँ, भुइँ मान्छेको जीवन परिवर्तनका लागि राजनीति गर्नुपर्ने रहेछ भनेर बुझेर राजनीतिमा आएकी हुँ । यस मानेमा पनि राजनीति त्यति नबुझेकी नेत्री हुन्, रेखा । तर कमल थापा राजनीतिका पुराना खेलाडी हुन् । उनी ’टेस्टेड’ नेता हुन् । ६ पटक मन्त्री भइसकेका छन् । तर उनको मन्त्री पदले पनि जनजिविकामा खासै प्रभाव नपरेको इतिहास छर्लङ्ग छ । अनि रेखा जत्तिको युवा नेतृत्वलाई एकपटक टेस्ट नगर्ने ? कि उनीजस्ता व्यक्तिलाई नेतृत्वमा आउन नदिन विभिन्न लाञ्छनाले हतोत्साहित गरिराख्ने ? कार्यकर्ताले गर्नु स्वाभाविक होला, कमल थापा जत्तिको दिग्गज राजनीतिज्ञले गर्न सुहाउला ? हो, त्यसैले रेखा थापाजस्तो युवा नेतृत्वलाई हतोत्साहित गर्ने कमल थापा प्रवृत्तिलाई बढार्नुपर्छ ।