इटहरीः नेपाल सरकारको हुलाक सेवाबाट चिठीपत्र आदानप्रदान गर्ने काममा कमी आएपछि सरकारी निर्देशनमा सुरु भएको हुलाक बचत बैंकमा कारोबार गर्न स्वीकृति पाएकामध्ये झण्डै आधाले कारोबार नै नगरेको पाइएको छ ।

हुलाक सेवा विभागद्वारा सञ्चालन गरिएका हुलाक बचत बैंकबाट निक्षेप संकलन गर्ने स्वीकृति पाएका कार्यालयको संख्या १ सय १७ रहे पनि गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६५ वटा हुलाक कार्यालयले मात्र निक्षेप संकलन गरेका छन् । निक्षेप संकलन गर्ने हुलाक कार्यालयको संख्या ६५ भएता पनि लगानी गर्ने कार्यालयको संख्या भने ५७ मात्र छ ।

निक्षेप संकलन गर्न स्वीकृति पाएका अन्य हुलाक कार्यालयले हुलाक बचत बैंकको कारोबार नै नगरेको पाइएको छ । २०७८ असार मसान्तमा ६५ वटा हुलाक कार्यालयले १ अर्ब ६५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् भने सोही अवधिमा हुलाक बचत बैंकहरुले ४७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । हुलाक बचत बैंकमा क्रमशः निक्षेपकर्ताको आकर्षण घट्दै गएको पाइएको छ । हामीलाई प्राप्त विवरणअनुसार २०७६ सालमा हुलाक बचत बैंकमा खाता खोल्नेको संख्या ६३ हजार ३ सय ९६ रहेकोमा २०७८ असार मसान्तमा त्यो खाताको संख्यामा ४ हजारको हाराहारीमा कमी आएको छ ।

गत असार मसान्तमा हुलाक बचत बैंकमा खाता खोल्नेको संख्या ५९ हजार ४ सय २८ मात्र छ । सो खाता संख्या गत वर्षको असार मसान्तमा ६२ हजार ४ सय ७५ थियो । नेपाल सरकार केन्द्रीय धनादेश कार्यालयको तथ्याङ्कअनुसार हुलाक बचत बैंकमा खाता बन्द गर्नेको सख्या एकै वर्षमा ३ हजारभन्दा बढी छ । खाताको संख्या घटेको भएता पनि लगानी रकममा भने निरन्तर वृद्धि भएको पाइएको छ । २०७६ असारमा ३७ करोड कर्जा लगानी गरेको हुलाक बचत बैंकले २ वर्षमा लगानीलाई १० करोडले बढाएको छ । गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा हुलाक बचत बैंकले ४७ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ ।